सिंहदरबारभित्र ‘यौन हिंसा’को लफडा, राज्यमन्त्री भन्छिन्- महिला पनि मर्यादामा बस्नुपर्छ

सिंहदरबारभित्र ‘यौन हिंसा’को लफडा, राज्यमन्त्री भन्छिन्- महिला पनि मर्यादामा बस्नुपर्छ

काठमडऔ, माघ १ ।  सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा राज्यमन्त्री धनमाया बिक खनालको सुरक्षार्थ खटिएकी एक महिला प्रहरीले आफू यौन हिंसामा परेको बताएकी छिन् । राज्यमन्त्री बिकले भने ती महिला प्रहरी पुरुषहरुसँगै तास खेलेर बस्ने गरेको बताएकी छिन् ।

प्रशंग हो, शिक्षा राज्यमन्त्री बिकको सुरक्षामा खटिएका दुईमध्ये एक महिला प्रहरी सरिताकाे (नाम परिवर्तन) । सरिताले राज्यमन्त्री बिकका एकजना सहयोगीले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी छिन् ।

मन्त्रीको सुरक्षार्थ खटिएकी ती महिला प्रहरीले मन्त्री बिकका सहयोगी धनकुटा निवासी किरण राईले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी हुन् ।

मन्त्रालय स्रोतका अनुसार किरण राई मन्त्रीका स्वकीय सचिव वा त्यस्तो कुनै जिम्मेवारीमा नभए पनि बारम्बार मन्त्रालयमा जाने गरेका थिए । उनी मन्त्रीका भाइको साथीका नाताले सिंहदरबार जाने गरेका थिए ।

राज्यमन्त्रीको कार्यकक्ष भन्दा माथिल्लो तल्लामा मन्त्रीका सुरक्षाकर्मीहरू बस्ने कोठा थियो । मन्त्री बिक कार्यालयमा काम गरिरहेका बेला मन्त्रीका दुईजना सुरक्षा गार्डहरु त्यहाँ आराम गर्ने गरेका थिए । दुबै महिला सुरक्षाकर्मीहरू हुन् ।

मन्त्रालयमा कामविनै आइरहने किरण राई र मन्त्रीकाे सुरक्षामा खटिने महिला प्रहरीवीच चिनजान र बोलचाल हुन थाल्यो । राज्यमन्त्री बिकको चारमहिने कार्यकालमा ती पुरूषाजन र प्रहरीवीच बाक्लै हिमचिम हुन थाल्यो । यसक्रममा किरणले एक महिला प्रहरीलाई जिस्काउन थाले, जुन मन्त्रालयका अन्य कर्मचारीलाई समेत पच्ने खालकाे थिएन ।

यसैसाता राज्यमन्त्री बिक लमजुङ गइन् । उनी फर्केर सिंहदरबार आएपछि केही कर्मचारीले राज्यमन्त्रीलाई ती दुईजनाको आपसी हिमचिम पाच्य नभएको जानकारी गराए । त्यसलगत्तै राज्यमन्त्री धनमायाले दुबैलाई आफ्नो च्याम्बरमा बोलाइन् ।

मन्त्रालयभित्र यस्तो व्यवहार शोभनीय नहुने भन्दै राज्यमन्त्री बिकले दुबैलाई सम्झाइन् । उनले राईलाई अबदेखि महिलाहरुलाई जिस्काउने कार्य बन्द गर्न र महिलामाथि सम्मानजनक व्यवहार गर्न भनिन् ।

त्यसै क्रममा महिला प्रहरीले आफू महिला भएको हुनाले राईलाई फसाइदिन सक्ने चेतावनी दिइन् । राज्यमन्त्री बिकले आफू पनि महिला नै भएको हुनाले रीस उठेको छ भन्दैमा त्यस्तो बदनियत राख्न नहुने र महिलाले पनि आफू मर्यादामा बस्नुपर्ने भन्दै ती महिला प्रहरीलाई सम्झाइन् ।

मन्त्रालय स्रोतका अनुसार राज्यमन्त्रीले दुबैलाई एकै ठाउँमा राखेर सम्झाएपछि उनीहरु दुईजना वीच कुरा मिल्नुको साटो झनै तनाव र झगडा बढ्यो । त्यसपछि ती महिला प्रहरीले आफूमाथि यौन हिंसा भएको आरोप लगाउँदै मिडियामा जाने बताइन् । र, उनी मन्त्रीको सुरक्षामा समेत खट्न छाडिन् ।

राज्यमन्त्रीको सचिवालयका एक कर्मचारीले बताएअनुसार यो काण्डमा राज्यमन्त्री धनमायाको खासै दोष देखिँदैन । तर, उनको आफन्त बनेर सिंहदरबारमा आइरहने किरण राईको हरकत चाँहि सही थिएन । यद्यपि उसले यौनहिंसा गरे नगरेको आफूहरुलाई थाहा नभएको तर दुबैजना आपसका जिस्कने गरेको देखेर मन्त्रीलाई रिपोर्ट गरेको कर्मचारीहरु बताउँछन् ।

स्रोतले अनलाइनखबरसँग भन्यो, ‘मन्त्रीज्यूको एउटा चाहिँ गल्ती के देखियो भने जिल्लाबासी वा भाइको नाताले सिंहदरबारमा कामविनै छिर्ने किरणजस्ता व्यक्तिहरुलाई बेलैमा उनले सिंहदरबार प्रवेशमा रोक लगाउनुपथ्र्यो ।’

Dhanmaya BK

के भन्छिन् राज्यमन्त्री ?

यसबारे जिज्ञासा राख्दा राज्यमन्त्री बिकले मन्त्रालयमा को-को मानिसहरु आउँछन्, आफूले सबैलाई रोक्न नसक्ने बताइन् । मन्त्रीको सुरक्षामा प्रहरी कार्यालयबाट खटिएका प्रहरीले पनि अनुशासनमा बस्नुपर्ने उनले बताइन् ।

उनले भनिन्- ‘मेरो सुरक्षामा खटिएकी प्रहरी माथ्लो तलामा तिनै केटाहरुसँग तास खेलेर बस्ने गरेको सुनें, ऊ मेरो सुरक्षाका लागि आएकी हो कि तास खेल्न ?’

मिलुञ्जेलसम्म केटाहरुसित जिस्केर हिँड्ने अनि रीस उठ्नासाथ पुरुषमाथि यौन हिंसाको आरोप लगाउने चलन ठीक नभएको राज्यमन्त्री बिकले बताइन् ।

उनले अनलाइनखबरसँग भनिन्-  मैले ती प्रहरीलार्इ ‘तिमीमाथि यौन हिंसा भएको हो ? भनेर सोधें, उनले त्यस्तो त हैन भनिन्, मिडियाबाट फोन आउँदा पनि मैले उनैलाई फोन दिएँ, उनले यौन हिंसा भएको हैन भनिन् ।’
ती महिला प्रहरीकाे हरकतबारे अाफूले प्रहरी हेडक्वार्टरमा समेत जानकारी दिइसकेकाे राज्यमन्त्री बिकले अनलाइनखबरलार्इ बताइन् ।

प्रतिक्रिया