१३ जिल्ला अस्पतालमा विशेषज्ञसहितको आकस्मिक शल्यक्रिया सुरु

१३ जिल्ला अस्पतालमा विशेषज्ञसहितको आकस्मिक शल्यक्रिया सुरु

१ फागुन, काठमाडौं । स्वास्थ्य मन्त्रालयको योजना अनुरुप आजदेखि देशका विभिन्न १३ जिल्लाका सरकारी अस्पतालहरुमा विशेषज्ञ चिकित्सकसहितको आकस्मिक शल्यक्रिया सेवा सुरु भएको छ ।

स्वास्थ्य मन्त्रालयले विशेषज्ञ तथा आकस्मिक शल्यक्रिया सेवा उपलब्ध नभएका ३० जिल्ला अस्पतालहरुमा यो सेवा सञ्चालन गर्ने योजना अनुसार पहिलो चरणमा १३ जिल्ला अस्पातलहरुमा सेवा सञ्चालन गर्न लागेको हो । बाँकी जिल्ला अस्पतालहरुमा केही हप्तापछि सुरु गरिने स्वास्थ्य मन्त्री गगनकुमार थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले जानकारी दिए ।स्वास्थ्य मन्त्रालयले देशभरका सबै जिल्ला अस्पतालहरुमा विशेषज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा सञ्चालन गर्ने निर्णय अनुसार आजदेखि १३ जिल्ला अस्पतालहरुमा यो सेवा सुरु भएको हो ।

आजदेखि आकस्मिक शल्यक्रिया सेवा सुरु भएका जिल्ला अस्पतालहरुमा सर्लाही, धादिङ्ग, रोल्पा, गोरखा, नवलपरासी, अर्घाखाची, उदयपुर, धनकुटा, सप्तरीको राजविराज, कञ्चनपुरको महेन्द्रनगर, दाङ्गको तुल्सीपुर, नुवाकोटको त्रिशुली र बाग्लुङ्गको वुर्तिवाङ्ग रहेका छन् ।

स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्य प्रतिष्ठानहरु तथा मेडिकल कलेजहरुसँगको सहकार्यमा यो सेवा सुरु गर्ने गरी केहीदिन अघि मन्त्रीस्तरीय निर्णय गरेका थिए ।

मन्त्रालयको निर्णय अनुसार अबदेखि ती अस्पतालहरुमा विशेषज्ञ चिकित्सक र आवासीय एमडी वा एम एस वा डिएमसीएच चिकित्सकहरुलाई खटाइने मन्त्रालयको चिकित्सा मन्त्रालयको चिकित्सा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले जानकारी दिए ।

 

 

प्रतिक्रिया