पुनर्निर्माणका सिइओ कांग्रेसको संगठन बिस्तारमा लागेको एमालेको आरोप

पुनर्निर्माणका सिइओ कांग्रेसको संगठन बिस्तारमा लागेको एमालेको आरोप

१९ फागुन,काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्दराज पोखरेलले प्राधिकरणको साधान स्रोत कांग्रेसको संगठन बिस्तारमा दुरुपयोग गरेको आरोप लगाएको छ । पोखरेल पछिल्ला केही साता गृहजिल्ला प्युठानका बिभिन्न गाविसमा नेपाली कांग्रेसका कार्यक्रममा सहभागी भएका थिए ।

एमाले प्युठानका अध्यक्ष तुल्सीराम शर्माले प्रेस विज्ञप्ति जारी गरेर पोखरेलका गतिबिधि नरोकिए प्रतिकार गर्ने चेतावनी दिएका छन् । प्राधिकरणका सिइओ पोखरेलले कांग्रेसका बिभिन्न आमसभामा सहभागी भएर जिल्लाका सांसदहरु र एमाले विरुद्ध भाषण गरेको आरोप उनले लगाएका छन् ।

प्युठानका दुवै क्षेत्रमा एमालेका बामदेव गौतम र हिरावहादुर केसीले जितेका छन् । पोखरेल आफैं पनि नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । उनी कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार बनेर पराजित भएका थिए ।

प्ाोखरेल माघ २९ गते कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालालाई लिएर जिल्लाको क्षेत्र नम्बर १ स्थित बाँगेसालमा आयोजित कांग्रेस आमसभालाई सम्बोधन गर्न पुगेका थिए । उनले कांग्रेसको बहुमतका लागि आफूले भूकम्प पीडितको पक्षमा काम गरेर जनताको मन जित्ने बताएपछि एमालेले आपत्ति जनाएको हो ।

यसबीचमा पोखरेल प्युठानमा कांग्रेसको आमसभा र पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन गएका थिए । तर पोखरेलका प्रेस संयोजक दिनेश पाण्डेले भने योजना आयोगको उपाध्यक्ष भएकै बेला परेका योजनाहरुको बारेमा स्थानीयसँग छलफल गर्न पोखरेल प्युठान गएको बताए ।

प्राधिकरणका सिइओको गतिबिधिप्रति असन्तु्ष्ट बनेको एमालेले निर्देशक समितिको बैठकमा स्पष्टीकरण लिने तयारी गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहेको निर्देशक समितिमा प्रमुख विपक्षी नेताको प्रतिनिधिका रुपमा एमाले उपाध्यक्ष भीम रावल सदस्य छन् ।

भूकम्प पीडितले पहिलो किस्ताको रकम पाउने क्रम समेत पोखरेल आएपछि रोकिएको र दोस्रो किस्ताको प्रक्रियानै शुरु नभएको भन्दै रावलले सिइओका गतिबिधि आपत्तिजनक रहेको बताए । उनले सिइओ पोखरेल एमालेविरुद्ध भाषण गर्दै हिड्नु अशोभनीय रहेको भन्दै यसबारे बैठकमा कुरा उठाउने बताएका छन् ।

प्रतिक्रिया