देउवा झण्डै दुई तिहाईमा, एमालेलाई विपक्षी गठबन्धन फुटको खतरा

देउवा झण्डै दुई तिहाईमा, एमालेलाई विपक्षी गठबन्धन फुटको खतरा

काठमाडौं । संसद अवरोध कायम राख्ने एमाले हठले प्रधानमन्त्रीको दौडमा रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले झण्डै दुई तिहाईको समर्थन जुटाएका छन् ।deuba_new

आइतबार संसद चलेको भए देउवा मुलुकको ४०औँ प्रधानमन्त्री निर्वाचित भइसक्थे । सदन खुल्न नदिएर अड्को थापेको प्रमुख विपक्षी एमालेकै हठले सूचना टाँस गरेर निर्वाचन कार्यतालिका जारी गरियो ।

एक जना राजनीतिक विश्लेषकले भने, ‘उम्मेदवारी दर्ताको प्रक्रिया पूरा भई मतदानको कार्यतालिका जारी हुँदा एमालेले संसद चल्न नदिएर प्रजातान्त्रिक अभ्यास विरोधी काम गरेको छ ।’ यो नेपाली संसदीय इतिहासमा पहिलो हुनुपर्छ । प्रधानमन्त्रीको निर्वाचन नै हुन नदिने भन्ने पनि कँही हुन्छ ? उनले भने ।
एक्लो उम्मेदवार बनेका देउवासँग स्पस्ट बहुमत छ । यद्यपि, एमालेले निरन्तर संसद अवरोध गरेपछि प्रजातान्त्रिक अभ्यासलाई सिरोधर गर्न भन्दै यसअघि असन्तुष्ट दलहरुसमेत देउवालाई सघाउने पक्षमा उभिएका छन् ।

प्रचण्डसरकारसँग विमत्ति राखेर बाहिरिएको राप्रपाले प्रजातान्त्रिक मूल्यमान्यतालाई स्थापित गर्न भन्दै वर्तमान सरकारलाई सघाउने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्य दिलनाथ गिरीले भने, ‘प्रजातान्त्रिक सरकारलाई समर्थन गर्ने नीति बनेको छ । हामी प्रजातान्त्रिक अभ्यासविरुद्ध जान सक्दैनौँ ।’ सरकारमा जाने नजाने विषय दोस्रो कुरा हो । सहमति भए आउँला नभए नजाउँला ।

राप्रपाका कार्यकर्ताले शेरबहादुर देउवालाई मतदान गर्ने निर्णय गरेर पार्टीले दीर्घकालीन र वृहत्तर हितको महत्त्वपूर्ण कदम उठाएको भन्दै नेतृत्वको दुरदर्शिताको प्रशंसा गर्दछौँ, भनेका छन् ।

एमाले संसदीय दलका उपनेता सुभास नेम्बाङले भने काँग्रेस माओवादीले संसदीय अभ्यास विपरीत संसद नै नखोली प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरु गर्नु दुर्भाग्य हो,-भनेका छन् । आफुहरुले संसदीय अभ्यास विपरीत हाउस बाहिरबाट सूचना जारी गरेर प्रक्रिया अघि बढाउनु दुर्भाग्य हो, उनले भनेका छन् ।

एमालेले एकपछि अर्को विषय झिकेर संसद खुल्न दिएको छैन । एमालेकै अवरोधले आइतबार हुनुपर्ने प्रधानमन्त्री निवार्चन लम्बिएको छ । मंगलबार संसद बस्ने भनिएपनि प्रधानमन्त्री चयन अनिश्चित भएको छ । देउवालाई एमाले तगारो बनेको छ । एमालेले रोक्ने प्रयास गरिरहँदा देउवाले झन्डै दुई तिहाई समर्थन जुटाएका छन् । तत्काल कायम ५ सय ९३ सदस्य संख्याबाट दुई तिहाईका लागि ३ सय ९६ मत आवश्यक पर्दछ ।

कांग्रेसको २०७, माओवादी केन्द्रको ८२, राप्रपाका ३७, लोकतान्त्रिक फोरमको १७, संघीय समाजवादी फोरमको १५, नेकपा संयुक्तको ३ र अन्य साना दलबाट ५ मत देउवाको पक्षमा छ ।

मधेस केन्द्रीत राष्ट्रिय जनता पार्टी राजपा नेपालले समेत काँग्रेसलाई सघाउने संकेत दिइसकेको छ । राजपा विपक्षी गठबन्धनमा नबस्ने बताइन्छ । राजपाका नेता शरतसिंह भण्डारीले पहिले पनि राजपाकै सहमतिमा सरकार बनेको र फेरि पनि पहिलेकै गठबन्धन कायम रहेकाले देउवालाई सघाउनेमा आफुहरु सकारात्मक रहेको बताएका छन् । उनले यसअघि सरकारसँग भएको ३ बुँदे सहमतिको परिणाम आइनसकेको भन्दै त्यसको परिणाम खोज्न समेत सरकारलाई समर्थन गर्नुको विकल्प नभएको बताए ।

भण्डारीले देउवा नेतृत्वको सरकारले संविधान संशोधन गर्नेमा समेत आशावादी रहेको बताए । राजपासँग २४ सांसद छन् । राजपा संसदकै पाचौँ ठूलो दल समेत बनेको छ । राजपासहित जोड्दा देउवाका पक्षमा ३९० मत आउने छ  ।

प्रधानमन्त्री निर्वाचित हुन भने २९७ मत भए मात्रै पनि पुग्नेछ । एमालेको हठ कायमै रहे विपक्षी ९ दलको गठबन्धनबाट समेत केही दल चोइटीने सम्भावना बढेर गएको छ । जसले देउवा दुई तिहाईले प्रधानमन्त्री बन्ने वातावरण सिर्जना भइरहेको काँग्रेस नेताहरुको जिकिर छ ।

एमालेलाई ठूलो भय
विपक्षी एमालेलाई आफ्नो विपक्षी गठबन्धनबाट केही दल टुक्रिने भयले पोलिरहेको छ । पछिल्लाे समय राष्ट्रियताको मुद्दा उठाइरहेको एमाले अन्ततः दोहोरो मारमा परेको छ । राष्ट्रियताको मुद्दा छोडे दोस्रो चरणको निर्वाचनमा चरम घाटा हुने आँकलन गरिरहेको एमाले संसद अवरोधले गठबन्धन फुटको खतरा समेत देखिरहेको हाे ।

राप्रपा र मधेसी तथा आदिवासी जनजाति दलहरु सबै एक ठाउँमा आएर संविधान संशोधनका लागि बलियो समर्थन जुटाउने रणनीतिमा पुगेका छन् । एमालेले संसदीय प्रक्रिया रोकेर आफ्नै गठबन्धन कमजोर बनाइरहेको चर्चा भइरहेका बेला प्रधानमन्त्री निर्वाचन रोक्नुले एमालेमा थप भय सिर्जना गरेको छ ।
एमालेसहित विपक्षी ९ दलको गठबन्धनमा रहेका दलहरु छट्पटाइसकेका छन् । विपक्षी गठबन्धनभित्र प्रजातान्त्रिक अभ्यासलाई छेक्न नहुने आवाज उठेका बताइँदैछ ।

प्रतिक्रिया