जुन भूमीले मलाई जन्म दियो, त्यही भूमीमा म मेरो लास जलाउन चाहान्छु

जुन भूमीले मलाई जन्म दियो, त्यही भूमीमा म मेरो लास जलाउन चाहान्छु

२०३६ सालमा साविकको पगनाथ गाउँ विकास समिति र हालको भगवतीमाई गाउँपालिका वडा नं. १ मा जन्मनुभएका कविराज खत्री पेशाले दैलेखको सफल उद्यमीको पहिचान बनाउनुभएको छ । सेवाको दृष्टिले उहाँ अहिले राष्ट्रिय जनमोर्चा, दैलेखको उपाध्यक्ष हुनुहुन्छ भने २१ गते सम्पन्न हुने चुनावका लागि राष्ट्रिय जनमोर्चा, दैलेखको तर्फबाट प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नं. १ को –क)का उम्मेदवार सदस्य हुनुहुन्छ । बुबा पदमबहादुर खत्री र आमा नन्दाकुमारी खत्रीको कोखबाट जेठो पुत्रका रुपमा जन्मनु भएका उहाँ अहिले वि.ए. अध्ययनरत पनि हुनुहुन्छ । प्रस्तुत छ उहाँसंग गरिएको भेटवार्ता ।
प्रश्नः राष्ट्रिय जनमोर्चा, दैलेखले यस जिल्लामा चुनावको तयारी कसरी गरिरहेको छ ?
उत्तर– यहि मंसिर २१ गते हुने निर्वाचनमा राष्ट्रिय जनमोर्चा,दैलेखले प्रतिनिधिसभाका लागि दुवै निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएको छ । अहिले जिल्लाभर प्रचार–प्रसारका लागि २ वटा स्थायी टोली र ४ वटा अस्थायी टोली बनाएर जनताको माझमा पुगेको छ । राष्ट्रिय जनमोर्चाले ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं– सम्वृद्ध नेपाल निर्माण गरौं’ भन्ने मूल नाराका साथ चुनावमा होमिएको छ ।
प्रश्नः राष्ट्रिय जनमोर्चाले संघीयताको विरोध गरिरहेको छ । तर चुनावमा संघीय संरचनाको चुनावी उपयोग गरिरहेको छ यसो किन ?
उत्तरः यो विषयको सार के हो भने हामीले यो संविधानलाई स्वीकार गरेका छौं तर संविधानभित्रको एउटा अन्तरवस्तु संघीयतालाई अस्वीकार गरेका छौं । यसका केही कारणहरु रहेकाछन । संघीयता नेपालको सन्दर्भमा टिक्न सक्ने ब्यवस्था होइन । हाम्रो मूलुकमा पूँजी, प्रविधि र जनताको राजनीतिक स्तर उच्च प्रकारको छैन । अर्को विषय संघीयता आन्दोलनको र नेपाली जनताको माग होईन । यो त नेपालको अन्तरिम संविधानको तेस्रो संसोधनबाट विदेशी इसारामा देशलाई विखण्डन बनाउन भित्राईएको संरचना हो । त्यस कारण हाम्रो पार्टीको फरक मत रहेको छ । अर्को विषय उम्मेदवारीको कुरा छ, त्यो के हो भने गलत चिजका विरुद्ध प्रहार गर्न जनताबाट अनुमोदिन भएर खारेज गर्नका लागि हाम्रो उम्मेदवारी परेको हो ।
प्रश्नः वामगठबन्धन नेपालभरी भएको हो ? यस जिल्लामा राष्ट्रिय जनमोर्चाले कोसित तालमेल गरेको छ ?
वाम गठबन्धन अर्थात चुनावी तालमेल वाग्लुङ्ग र प्युठान जिल्लामा मात्र भएको हो । अन्य जिल्लामा हामी एकल रुपमा चुनावी प्रतिस्पर्धामा छौं । हाम्रो चाहाना वामगठबन्धनलाई प्रथामिकता दिने नै छ तर दैलेखको सन्दर्भमा पनि हामी एकल रुपमा प्रतिस्पर्धामा छौं । हाम्रो पार्टीले राजावादी, मधेशवादी र नेपाली काँग्रेससित यो चुनावमा तालमेल नगर्ने निर्णय गरेको सबैलाई सर्वविधितै छ ।

प्रश्नः तपाँई प्रदेशसभाको उम्मेदवार पनि हुनुहुन्छ । जनताले तपाँईलाई के भनेर भोट हाल्ने ?
उत्तरः हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले मलाई दैलेख जिल्लाको निर्वाचन क्षेत्र नं. १ को(क) बाट प्रदेशसभाका लागि उम्मेदावरका रुपमा प्रस्ततु गरेको छ । पहिलो कुरा त राष्ट्रिय जनमोर्चाले जुन घोषणा पत्र जारी गरेको छ, त्यो घोषणापत्र कार्यान्वयन गर्नका लागि मतदान गर्नु पर्दछ । अर्को कुरा राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा गर्नका लागि विजयी गराउन आवश्यक छ । हामीले जनतालाई यहि कुरा भनेका छौं । ब्यक्तिगत रुपमा भन्नु पर्दा मेरा केही प्रतिवद्धताहरु रहेकाछन । ती प्रतिवद्धताहरु समाज र जनतालाई केन्द्रमा राखेर ल्याएको छु । ती जनपक्षिय प्रतिवद्धतालाई कार्यान्वय गर्नका लागि मलाई मतदान गर्न अनुरोध गरेको छु ।
प्रश्नः ती प्रतिवद्धता के के हुन ? बताईदिनुहोस न ।
उत्तरः – चुनावमा सबैले आ–आफ्ना प्रतिवद्धता गर्ने र चुनाव जिते पछि विर्सने चलन रहेको छ । तर मैले चुनाव जिते पनि नजिते पनि मेरा प्रतिवद्धता पुरा गर्ने प्रतिवद्धता जाहेर गर्दै मैले मतदाता समक्ष ३ वटा प्रतिवद्धता सार्वजनिक गरेको छु । ती हुनः
नेकपा(मसाल)को नीति, सिद्धान्तमा अडिक रही घोषणा पत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु अनुासर कार्य सम्पादन गर्दै……………………………………………
१) आममतदाता र जनताहरु जननिर्वाचित राजनीतिककर्मीका गलत विचार, कार्यसम्पादन र झुट्टा आश्वासनबाट आजित बन्नु भएको छ । तसर्थ पहिलो काम यसको उचित ब्यवस्थापन गर्नु हो । यदि मैले विजय हाँसिल गरेको खण्डमा प्रत्येक वडाहरुमा सांसदका लागि जनगुनासो पेटिका स्थापना गर्न लगाई ती गुनासाहरु संकलन गर्ने र जनतालाई परेको समस्या सामाधान गर्नका लागि सचिवालय खडा गरी ती समस्याहरुको एक हप्तामा सामाधान गर्ने विधि अबलम्बन गर्दै जनताको जनप्रतिनिधि भएको अनुभुति दिलाउने प्रतिवद्धता जाहेर गर्दछु ।
२) हाम्रो समाज, देश पछिल्लो समयमा परनिर्भरतामूखी बनेको छ । राजनीतिककर्मीहरुले राजनीतिलाई सेवा होइन, पेशा बनाएकाछन । तसर्थ देशको समृद्धिको मूख्य आधार स्थानीय स्रोत र साधनको प्रयोग, प्रसोधन र अन्तराष्ट्रिय बजारमा बजारीकरण गर्नु हो । यसका लागि आम नागरिकहरुलाई उद्यमशीलतामा जोडन र टोल टोलमा स्थानीय कच्चा पदार्थहरुलाई प्रसोधन गरी बजारीकरण गर्नका लागि लघु, साना तथा मझौला उद्योगहरु स्थापना गर्नु पर्दछ । मैले चुनाव जितेपछी मेरो क्षेत्रमा न्यूनतम १०० वटा लघु उद्यम, ३ वटा लघु औद्योगिक ग्राम र १ वटा औद्योगिक क्षेत्र स्थानाका लागि पहल गर्दै कार्यकाल अवधिभर त्यस क्षेत्रका सम्पूर्ण युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने गरी स्वरोजगार बनाउने प्रतिवद्धता जाहेर गर्दछु ।
३)आत्मनिर्भर, समुन्नत र दीर्घकालीन समतामूलक समाज निर्माण गर्नका लागि खानी, पानी र जमिनको अधिकतम उपयोग गर्नु पर्दछ । यी तीन चीजलाई ठूला परियोजनाका रुपमा संचालन गरी अधिकतम उपयोग, उत्खनन गर्न सकेनौं भने हाम्रो भविश्य सुखद र सुन्दर हुन सक्दैन । त्यसैले खानी, पानी र जमिनको उचित प्रयोग र उत्खन गरी गरिवी, अभावलाई पूर्ण विराम लगाउनका लागि यस क्षेत्रका युवा जनशक्तिलाई यसै क्षेत्रमा ‘विकासका लाल दस्ता’ का रुपमा लिई उनीहरुलाई आवश्यकता अनुसारको प्राविधिक ज्ञान, सीप दिई विदेशमा हुने कमाईभन्दा उचित श्रमको मूल्य सहित परिचालन गर्दै देश कै सम्वृद्ध क्षेत्र बनाउनका लागि १० वर्षे रणनीतिक योजना तयार पारेर कार्य प्रारम्भ गर्ने प्रतिवद्धता जाहेर गर्दछु ।
प्रश्नः यो बाहेक अरु प्रतिवद्धता के रहेकाछन ?
उत्तरः यो बाहेक मेरो अर्को प्रतिवद्धता छ, त्यो के हो भने दैलेख जिल्लालाई कुनै न कुनै प्रकारले उपयोग गर्ने थलो बनाउने तर जान्ने बुझने, समाजको नेतृत्व गर्ने वर्ग जिल्लाभन्दा बाहिर स्थायी बसोबासको बन्दोबस्त गर्ने अभियान जारी छ । हामी समाजका अग्रदस्ताहरु यहि समाजलाई सम्वृद्ध बनाउने अभियानमा लाग्नु पर्दछ भन्ने हेतुले म जुन भूमीमा जन्मे, त्यो भूमी जीवनकालमा छोडेर बाहिर जिल्लाको बासिन्दा हुन्न । जुन भूमीले मलाई जन्म दियो, त्यही भूमीमा म मेरो लास जलाउन चाहान्छु । यहि दैलेखको उन्नती र प्रगतिका लागि यहि जिल्लामा बसेर जीवनको अन्त्य गर्न चाहान्छु । पर्यटकीय दैलेखी होइन, आदिवासी दैलेखी बन्ने प्रतिवद्धता गरेको छु ।
प्रश्नः अन्त्यमा राष्ट्रिय जनमोर्चाले दैलेखमा जित्ला त ?
उत्तरः चुनाव हार्ने निश्चित हुन्छ र पनि लडनै पर्दछ, जित्ने संभावना हुन्छ र पनि लडनै पर्दछ, जित्ने निश्चित हुन्छ र पनि लड्नु पर्दछ । चुनाव एक प्रकृया हो । एक दिन जनताले मत हाल्ने र त्यही अभिमतका आधारमा ५ वर्ष सत्ता चलाउने प्रजातन्त्रमा हाम्रो जित हुन्छ । नीतिगत रुपमा, राजनीतिक रुपमा र वैचारिक रुपमा राष्ट्रिय जनमोर्चालाई एक जना मतदाताले पनि बेठीक भन्नुहुन्न । संख्यात्मक रुपमा हाम्रो हार भए पनि राजनीतिक, वैचारिक रुपमा हाम्रो अवश्य जित हुन्छ र हुनेछ । अन्त्यमा मलाई केही कुरा राख्ने अवसर दिनुभएकोमा हजुर र हजुरको पत्रिकालाई हार्दिक धन्यवाद । मेरो एउटा भनाई छ, ‘मत आफुले आफ्ना लागि दिने हो अरुका लागि होइन ’

 

प्रतिक्रिया