किशोरी बेहोस हुने समस्यामा कमी

किशोरी बेहोस हुने समस्यामा कमी

दैलेख पौष १२, दैलेखको गुँरास गाउँपाालिकाका विभिन्न विद्यालयमा अध्ययरत किशोरीहरु बेहास हुने समस्यामा कमी आएको छ । । विद्यालय आउने किशोरीहरु कक्षा कोठामै पढ्दा पढ्दै एक्कासी बेहोस हुने समस्यामा कमी आएको हो । ४ वर्ष देखि लगातार दोहोरिदैै आएको समस्या पटक पटक दोहोरिदै आएको थियो । एक जना बेहोस हुने वित्तीकै अन्य किशोरीहरु पनि बेहोस हुने गरेका थिए । विद्यालयमा अध्यनरत किशोरीहरुले यस्तो समस्या भोग्न थालेको ४ बर्ष बितिसकेको छ । तर विभिन्न संचार माध्ययमबाट समाचार प्रकाशन तथा प्रशारण पश्चात अहिले दैलेख जिल्लामा सेभ द चिल्ड्रेन र साामजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीतामा संचालित सहयात्रा परियोजनाले किशोरी बेहोस हुने समस्या देखिएका विभिन्न विद्यालयमा मनो सामाजिक विमर्शकर्ता विद्यालयमै खटाएसंगै समस्यामा कमी आएको हो ।
गुरास गाउँपालिकामा शान्ति माध्यामिक विद्यालयमा खटिएकी मनो सामाजिक विमर्शकर्ता तारा गिरीका अनुसार परामर्शबारे जानकारी नै नभएका कारण यस्तो समस्या देखिएको बताइन् । उनले आफु यस्तो समस्या देखिएका विद्यालयमा पुगेपछि किशोरीहरुलाई परामर्श दिए पश्चात समस्यामा कमी आएको छ ।
परम्रपागत रुपमा मान्दै आएको मन्दिर भत्काएर विद्यालय बनाएपछि यस्तो समस्या देखिन थालेको स्थानीय अभिभावकहरुले बताउदै आएको गिरीले बताइन् ।
उक्त मन्दिरमा स्थानीय बासिन्दाले बली समेत दिने गरेको र मन्दिर भत्काए पश्चात विद्यालयमा यस्तो समस्या देखिएको हुन सक्ने स्थानीयबासीले अझै पनि बताउदै आएका छन् । विद्यालयमा अध्ययरत किशोरीहरुले आफ्नो समस्या खुलेरै भन्न सक्ने भएको गिरीको भनाई छ । कतिपयको पारिवारिक समस्याका कारण पनि यस्तो समस्या देखिने गरेको रहेछ, उनले भनिन, परामर्श पश्चात उनिहरुले घरको समस्या पनि भन्ने गरेका छन् ।
यस्तो समस्याले उनिहरुको नियमित पढाईसमेत प्रभावित हुँदै आएकोमा अहिले यस्तो समस्यामा कमी आउन थालेको विद्यालयका प्रअ विष्णु प्रसाद शर्माले बताए ।
शान्ति माविमा जस्तै गुँरास गाउँपालिकामै रहेको सरस्वती माध्यामिक विद्यालयको समस्या पनि उस्तै थियो । उक्त विद्यालयमा अध्ययन गर्ने किशोरीहरुमा रुने र चिच्चाउने समस्या देखिएको पनि बर्षौ वितिसकेको छ ।
कक्षा कोठामा एक जना रुने र चिच्चाएको सुन्ने वित्तीकै अन्य कक्षा कोठाका किशोरीहरु पनि रुने र चिच्चाउने गरेको शिक्षकहरुले बताए ।
बिद्यालयमा अध्ययन गर्न आउने किशोरीहरु बर्बराउने मुर्छित हुने, र बेहोस भई ढल्ने समस्यामा कमी आएपछि पढाई समेत प्रभावित नभएको विद्यालयका शिक्षकहरुले बताए ।
गुरास गाउँपालिकामा रहेको शान्ति माध्यामिक विद्यालय र सरस्वती माध्यामिक विद्यालयमा बेहोस हुने, चिच्चाउने र रुने समस्याका विषयमा यस अघि पनि पटक पटक चेतना मुलक कक्षा समेत संचालन गरिएको थियो । २ वर्ष अघि दैलेखकी सामाजिक अभियान्ता पार्वति विशुन्केले उक्त विद्यालयमा हप्तौ सम्म बसेर किशोरीहरुलाई चेतनामुलक कक्षा संचालन गरेकी थिइन् । बर्षौ देखि झेल्दै आएको समस्या न्यूनिकरण गर्न पहल गर्ने संघ संस्थाहरुलाई स्थानीय अभिभावक र शिक्षकहरुले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया