वैदेशिक रोजगारीमा सरकारी हस्तक्षेप सफलः ५० हजार कामदार कोरियामा

वैदेशिक रोजगारीमा सरकारी हस्तक्षेप सफलः ५० हजार कामदार कोरियामा

न्यूनतम तलब मासिक एक लाख ४२ हजार

कोरियन भाषा परीक्षामा सहभागी हुने क्रममा युवाहरू । फाइल तस्वीर ।

२१ पुस, काठमाडौं ।

वैदेशिक रोजगारीका लागि सरकारी तवरबाटै कामदार पठाउने गरी भएको हस्तक्षेप सफल भएको छ । १० वर्षबीचमा इम्प्लोइमेन्ट पर्मिट सिस्टम (ईपीएस) भाषा परीक्षा पास गरेर कोरिया जाने नेपालीको संख्या ५० हजार नाघेको छ ।

उनीहरुमध्ये अधिकांशले खाडी मुलुकमा भन्दा राम्रो सेवा, सुविधा, सम्मान र काम गर्ने वातावरण पाएका छन् । अहिले पनि करिब १२ हजार नेपाली कामदार कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेर ‘वर्किङ भिसा’को प्रतीक्षामा छन् ।

सरकारी स्तरबाटै नेपाली कामदार पठाउने निर्णय सही र सफल भएको यसबाट सावित भएको छ । सन् २००८ देखि सरकारीस्तरबाटै कोरियाले भाषा परीक्षा लिएर नेपाली कामदार लैजान थालेको हो ।

त्यसअघि म्यानपावर र व्यक्तिगत पहलमा कोरिया पुग्ने नेपाली न्यून संख्यामा थिए । सरकार आफैं कामदार पठाउने प्रक्रियामा संलग्न भएपछि कोरिया नेपाली युवाको सर्वाधिक आकर्षक गन्तव्य बनेको छ । भाषा परीक्षा उत्तीर्ण गरेपछि नेपालीले दुई पटक गरी नौ वर्ष आठ महिना त्यहाँ बस्न पाउँछन् ।

गत डिसेम्बर अन्तिमसम्म ५० हजार एक सय ९८ कामदार त्यहाँ पुगेको ईपीएस कोरिया शाखाका अधिकृत शोभाकर पराजुलीले अनलाइनखबरलाई जानकारी दिए ।

कोरियाले ४० वर्ष ननाघेका अदक्ष कामदारलाई आकर्षक तलब दिने गरी आफ्नो मुलुकमा लगिरहेको छ । १० वर्षमा प्रतिवर्ष औसत पाँच हजार नेपाली कामदारलाई रोजगारी दिइरहेको छ ।

अहिले नेपाली कामदारको न्यूनतम तलब मासिक एक लाख ४२ हजार रुपैयाँ तोकिएको छ । कोरियाले कृषि तथा उत्पादनमुलक (उद्योग) समूह विभाजन गरी कामदार लैजान्छ ।

कृषिभन्दा उत्पादनमुलक समूहबाट जानेहरुले बढी आम्दानी गर्ने गरेका छन् । अधिकृत पराजुलीका अनुसार खाडी मुलुक तथा मलेसियामा जस्तो कोरियामा कामदारले राजगारदाताबाट ठूलो कष्ट बेहोर्नुपर्दैन । सामाजिक, आर्थिक र भौतिक सुरक्षा अवस्था पनि राम्रो छ ।

वर्षैपिच्छे महँगीअनुसार कामदारको तलब वृद्धि हुने गरेको छ । नेपाल सरकारले नै प्रक्रिया पुर्याएर पठाउने भएकाले कामदारले एक रुपैयाँ पनि अतिरिक्त शुल्क खर्चिनुपर्दैन । त्यसले खाडी मुलुक जाँदाको जस्तो ठगी हुने जोखिम शून्य बनाइएको छ ।

सरकारले कामदारको कोटा भने उल्लेख्य रुपमा बढाउन सकेको छैन । सरकारी पहल बलियो नहुँदा कोरियाले नै आफ्नो आवश्यकतामा आधारित भएर नेपाली कामदार लगिरहेको छ ।

कोटा कम हुँदा पनि हरेक वर्ष करिब ७० हजार नेपाली युवा कोरिया जान भाषा परीक्षामा सहभागी हुन्छन् ।

थोरै भए पनि वर्षमा झण्डै ७० हजार युवाले कोरिया जान भाषा परीक्षा दिने गरेका छन् । त्यसको नतिजा पनि कोरियाले नै प्रकाशित गर्छ । सोही कारण परीक्षाको निष्पक्षताप्रति नेपाली युवामा गहिरो विश्वास देखिन्छ ।

आगामी चैतमा सन् २०१९ का लागि भाषा परीक्षा हुँदैछ । सरकारीस्तरको एमओयू जनवरीभित्रै नवीकरण हुँदैछ, जुन २/२ वर्षमा नवीकरण गर्ने सम्झौता छ ।

एक पटक कोरिया गएर फर्किएका नेपालीलाई अर्को पटक जान कम्प्युटरमा आधारित परीक्षा लिइने गरेको छ ।

कामदारलाई रोजगारदाताले रुचाए उतैबाट श्रम स्वीकृति नवीकरण गर्न सकिन्छ । त्यस्ता कामदारलाई कोरियाले ‘प्रतिबद्ध कामदार’का रुपमा भिसा दिइने गरेको छ ।

पाँचवर्षे भिसामा गएर उत्कृष्ट काम गर्नेहरुले थप पाँच वर्षको कामदार भिसा सजिलै पाउने व्यवस्था कोरिया सरकारले गरेको छ । त्यसका बावजुद कोरिया पुगेका करिब दुई प्रतिशत नेपाली युवा अवैध रुपमा (लुकेर) काम गरिरहेको अनुमान छ ।

भिसा अवधि सकिएपछि पनि नफर्किने, कम्पनी परिवर्तन गरेर काम गर्ने र अपराध गरेर फरार हुने नेपालीको संख्या कोरियामा अन्य मुलुकका कामदारको तुलनामा भने कम छ ।

समस्या कम र अवसर ज्यादा भएकाले नै हो, दक्षिण कोरिया नेपाली कामदारको रोजाइमा परेको । तथापि, समस्याहरु पटक्कै नभएका होइनन् । पछिल्लो समय त्यहाँ नेपाली युवामा ‘डिप्रेसन’लगायत समस्या बढ्दो क्रममा छ । सोही कारण आत्महत्याको शृंखला पनि उकालो लागेको छ ।

राजधानी सोलस्थित नेपाली दूतावासमा साढे तीन वर्ष श्रम सहचरी रहेका अनिलकुमार गुरुङ यस्तो समस्या नेपाली कामदार आफैं, उनीहरुका आफन्त र साथीभाइका कारण उत्पन्न भइरहेको बताउँछन् ।

‘राम्रो कमाइ हुने सोचले कोरिया पुगे पनि त्यहाँको परिवेशमा भिज्न नसक्नेहरुलाई बढी समस्या पर्छ । हाम्रो परिवेशभन्दा विलकुल फरक ठाउँमा पुग्दा अनेकन भावना आउन सक्छन् । त्यहाँको जीवनशैलीसँग भिज्न नसकेपछि कतिपय डिप्रेसनमा जान्छन्,’ उनी भन्छन्, ‘यही डिप्रेसनले कतिपयलाई मृत्युको मुखमा समेत पुर्याएको छ ।’

तर, राम्रो आम्दानीका कारण सन्तुष्ट हुनेहरुको संख्या उच्च रहेको उनको ठम्याइ छ । ‘दिइएको जिम्मेवारी पूरा गर्नेहरु कोरियाका ज्वाइँजस्तै हुन्,’ उनी भन्छन्, ‘त्यहाँको कामको प्रकृति शारीरिक परिश्रम नै गर्नुपर्ने खालको हो । त्यसो गर्न नसक्दा कसै-कसैलाई समस्या पर्छ ।’

प्रतिक्रिया