किन फस्यो गृह युद्धमा सिरिया, कुन कुन राष्ट्र खेलेका छन् सिरियामा ?

किन फस्यो गृह युद्धमा सिरिया, कुन कुन राष्ट्र खेलेका छन् सिरियामा ?

काठमाडौ, १४ फागुन । गएका केही दिनदेखि चरम रुपमा हत्या हिंसा भइरहेको सिरियामा कम्तीमा ३० दिनसम्म भए पनि युद्धविराम हुने भएको छ । उक्त युद्धविरामसम्बन्धी प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अनुमोदन गरेको छ । उक्त परिषदले सिरिया देशभर नै ३० दिने युद्धविरामका लागि अपीलगर्दै एक प्रस्ताव पारित गरेको जनाइएको छ । सिरियाली राजधानी दमास्कसको बाहिरी क्षेत्रमा पर्ने एक विद्रोही नियन्त्रित क्षेत्र पूर्वी गुटामा यसै महिनाको सुरुवातदेखि ठूलो हिंसा मच्चिएको छ । त्यसमा परी सयौँ नागरिक मारिएका छन् । उक्त क्षेत्रमा गएको हप्तादिनसम्म व्यापक मात्रामा बमबारी भइरहेको छ । सो बमबारीमा परी सयौँ मानिस मारिएपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदकै पहलमा यो निर्णय लिइएको त्यहाका संचार माध्यले जनाएका छन् । खासगरी उक्त क्षेत्रमा मानवीय सहायताका लागि आवश्यक सामाग्री र स्वास्थ्य उपचारका लागि उद्धारका कदमहरू पनि चलाउन सकिएको छैन । त्यसैले उक्त युद्धविरामको समयावधिमा यहाँ चेपुवामा परेका र हिंसाको चपेटमा परेका कैयौँ नागरिकलाई सहायता सामाग्री वितरणको कार्यक्रम चलाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । सिरियामा जारी गर्न लागिएको यो पछिल्लो युद्धविरामको प्रस्तावले सबैभन्दा ठूलो जिहादी समूह र उनीहरूका सहयोगीहरूलाई भने सम्बोधन नगरेको गुनासो बढेको छ ।


यसले गर्दा त्यसको वास्तविक परिणाम कस्तो हुनेछ भन्ने प्रश्न तेर्सिएको पनि कतिपयले बताएका छन् । तर उक्त समूहको प्रतिक्रिया भने अहिलेसम्म आएको छैन ।
तर उक्त प्रस्ताव पारित भएपछि पनि राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले सिरियाको सरकारी सैन्यबल सो युद्धविरामको पक्षमा अभिनेमा शङ्का रहेको बताउनुहुन्छ ।

उक्त प्रस्तावको पक्षमा रुस नरहेको अमेरिकाको आरोप थियो । तर पनि प्रस्तावको भने पक्षमा नै रुसले मतदान गरेका छन् । तर अमेरिकाले भने सो मतदानलाई ढिलो गराउनमा रुसले नै भूमिका खेलेको भन्दै रूसको आलोचना गरेको बताइएको छ । उता प्राप्त एक पछिल्लो समाचारअनुसार अभियानकर्ताहरूले सुरक्षा परिषद्ले मतदान गरेपछि पनि गुटा क्षेत्रमा हवाई आक्रमण जारी रहेको जानकारी दिएका छन् । सिरियाली सरकारी सैन्यबलको नेतृत्वमा जारी सो हवाई आक्रमण शनिबार साँझ नै पनि भएको थियो । यसमा परी कैयाँै व्यक्तिको ज्यान गएको अनुमान गरिएको छ । पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले यस देशको राजधानी दमासकसको पूर्वी भू–भागमा पर्ने गुटामा निकै आक्रामक रुपमा नै आक्रमण गरेको छ । सो आक्रमणमा परी पछिल्लो दुई हप्तामा मात्र पनि करिब ५०० जना सर्वसाधारण मारिएका छन् ।


सिरियाली द्वन्द्वको अनुगमन गरिरहेका मानवअधिकारवादीले बताए अनुसार सो क्षेत्रमा यसै महिनाको सुरुदेखि नै सिरियाली सेनाको अगुवाइमा रहेका सुरक्षाकर्मीले हवाई र स्थलगत कारबाही गरेका छन् । मारिनेमा १०० जनाभन्दा बढी बालबालिका पनि परेका छन् ।
नागरिक हत्याको अवस्था अत्यन्तै क्रुर रहेको र चेपुवामा परेका नागरिकको अवस्था निकै नै नाजुक भएकोले सिरियामा केही समयका लागि मात्र भएपनि युद्धविरामको प्रयास संयुक्त राष्ट्रसंघले गरेको हो । सुरुमा यस प्रस्तावमा रुसको विरोध भएपछि लम्बिएको थियो ।
मानवअधिकारबादीले मानवीय सहायता पु¥याउनका लागि यहाँ युद्धविराम गर्नुपर्ने प्रस्ताव गरेका बताइएको थियो । सोही बमोजिम संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा उक्त प्रस्तावमा छलफल भएको थियो ।

सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै जनआन्दोलन सुरु भएको थियो । त्यो आन्दोलनले केही वर्षयता आएर भने हिंसाको रुप लिएको छ । जारी सो द्वन्द्वमा परी हालसम्म तीन लाख ४० हजारभन्दा बढी व्यक्ति मारिएका छन् । त्यस्तै लाखौँ नागरिक घाइते भएका छन् । तर शान्तिपूर्ण समाधानका प्रयास भने सफल हुन सकेको छैन । युद्ध सुरु हुनुपुर्व नै सिरियाली जनताहरुले बेरोजगारी, चरम भ्रष्टाचार, राजनीतिक स्वतन्त्रता र राष्ट्रपति बसर अल असादको दबाबको विरोध गर्दै आइरहेका थिए । सन् २००० मा आफ्नो पिता हाफेजले कार्यभार छोडेपछि उनले सम्हालेका थिए ।

अरब स्प्रिङबाट प्रेरित भएर सन् २०११ को मार्चमा पश्चिम सिटी डेरामा प्रजातन्त्रको पक्षमा आन्दोलनहरु चर्कन थाले । तर, सानो आगोको झिल्का देशभर फैलन समय लागेन । सरकारले आन्दोलन दबाउन ठुलो शक्ति प्रयोग गरेपछि सिरियाका जनता सबै सडकमा उत्रिन थाले । उनीहरुले राष्ट्रपतिको राजिनामा माग गरिरहेका थिए भने अर्को तर्फ बसर आफ्नो पद जोगाउन राजनीतिक खेलमा व्यस्त देखिन्थे । आन्दोलनले कडा रुप लिन थालेपछि विपक्षी समर्थकहरुले हतियारको सहारा लिन थाले । यता बसरले पनि कसम खादै भने,‘म विदेशी शक्तिको भरमा उम्लिएको आतंकवाद निमाश पारेरै छोड्नेछु ।’

विस्तारै आन्दोलन नियन्त्रणबाहिर गयो र देश गृहयुद्धमा फस्यो । सरकारी सुरक्षाकर्मीसँग लड्न विपक्षीहरुले पनि विद्रोही ब्रिगेडको निर्माण गर्न थाले । सिरियामा त्यसपछि रगतको खोला बग्न सुरु भयो । यो असाद र विद्रोही पक्षको मात्र युद्ध रहेन । सिरियामा जब क्षेत्रिय तथा अन्तराष्ट्रिय शक्तिहरु, इरान, रसिया, साउदी अरेबिया र अमेरिकाले सहितले आक्रमण गरे त्यसपछि लाखौको संख्यामा मानिसको ज्यान जान सुरु भयो । बसरको सरकारलाई सैन्य, आर्थिक तथा राजनैतिक सहयोग मिलेपछि सिरियामा युद्धले अर्को भयानक रुप लियो ।

विदेशी शक्तिहरुले विभिन्न षडयन्त्र रची आतंकवादी संगठनहरुलाई फुटाउने तथा उनीहरुलाई आक्रमण गराउन मदत गर्ने काम समेत   गरे ।
जिहादी संगठनहरु पनि विभिन्न समुहमा बनाइ अगाडि बढ्न थाले । आंतकवादी संगठनहरुले पनि क्षेत्र विभाजन गरेर आफ्नो नियन्त्रणमा लिने योजना बनाउँदै अगाडि बढे । हायत ताहिर अल–साम, यो आतंकवादी संगठन अल कायदासँग अनुबन्धित रहेको थियो, यसले उत्तर–पश्चिम राज्यमा नियन्त्रण बनाइ बस्ने काम गरेको थियो । विश्वकै शक्तिशाली आतंकवादी संगठन आइएस जसले सिरियामा सबैभन्दा धेरै क्षेत्र नियन्त्रणमा छ । उत्तरी र पुर्वी सिरियामा आफ्नो बर्चस्वका कायम राख्न आइएस सरकारी सैनिक, बिद्रोही ब्रिगेड र कुर्दिस मिलिसियासँग लड्दै आइरहेको छ । आइएस अमेरिका र रसियाको समेत प्रमुख निशानमा रहेको छ । हजारौको संख्यामा सिया मिलिसियाहरु इरान, लेबनान, इराक, अफगानिस्तान र यमनबाट सिरियामा आइ युद्ध लडिरहेका छन् । धर्म रक्षाको लागि युद्ध गरेको उनीहरु बताउँदै आइरहेका छन् ।


किनविश्वका शक्तिशाली देशहरु सिरियामा आक्रमण गरिरहेका छन् ?
राष्ट्रपति असादको पद धरापमा परेपछि रसियाले उनको मदत गर्न खाजेको थियो । आइएससँग लगातार पराजित भएपछि सन् २०१५ मा सिरियामा सन्तुलन बनाइराख्न मदत गरेको थियो । मस्कोले आतंकवादी मात्रै आफ्नो निशानामा रहने बताएको थियो । ६ महिनापछि रसियाका राष्ट्रपति भलाद्मिर पुटिनले आफ्नो मिसन सकिएको भन्दै सिरियाबाट आफ्ना सेना फिर्ता बोलाउने निर्णय गरे । सन् २०१६ मा रसियाले अत्याधुनिक हातहतियारको प्रयोग गर्दै विद्रोही संगठनलाई ध्वस्त पार्ने काम गरेको थियो । सिया शक्ति रहेको इरानले अर्बौ रुपैयाँ यस युद्धमा खर्चेको छ । अलाविदको दबदबा रहेको सरकारलाई बलियो बनाउन पनि सैन्य तथा आर्थिक सहयोग गरेको थियो । हतियार पनि सहज रुपमा सिरियालाई उपलब्ध गराउने तथा तेल ट्रान्सफरमा समेत मदत गरेको थियो । उता अमेरिकाले भने सिरियामा भएको विनाशको जिम्मेदार राष्ट्रपति असाद भएको बताएको थियो । उनले सिमित मात्रामा सैन्य सहयोग गरेको र आतंकवादीसँग अत्याधुनिक हतियार भएको बताउँदै आएका थिए ।

 

सन् २०१४ को सेप्टेम्बरदेखि अमेरिकाले सिरियामा हवाइ आक्रमण गर्न सुरु गर्यो । पहिलो आक्रमणमा अमेरिकाले एयरबेसमा गरेको    थियो । पछि सोही केन्द्रलाई केन्द्रित गरी केमिकल आक्रमण पनि भएको थियो । साउदी अरेबियामा सुन्नीको शासन रहेको छ । यसले इरानलाई काउन्टर दिदै आइरहेको छ । विद्रोही पक्षलाई समर्थन गर्दै आइरहेको टर्कीले कुर्दिस पपुलर प्रोटेक्सन युनिटलाई मिलिसिया सहयोग गर्दै आइरहेको छ ।
युद्धको असर


युएनको रिपोर्टका अनुसार बितेको पाँच वर्षमा २ लाख ५० हजार मानिसहरुको ज्यान गइसकेको छ । सन् २०१५ पछि युएनले उक्त रिपोर्टबारे अपडेट भने गरेको छैन । युकेमा रहेको एक सर्बेक्षण समुहले सन् २०१६ सम्ममा ३ लाख २१ हजारको ज्यान गएको बताएको थियो । ५० लाखभन्दा बढी मानिसहरुले सिरिया छाडिसकेका छन् । लेबनान, जोर्डन, टर्कीले ठुलो संख्यामा शरणार्थी समस्या भोग्नु परेको तथ्य बाहिर आएको थियो । अर्को रिपोर्ट अनुसार भने सन् २०१६ को फ्रेबअरीमा ४ लाख ७० हजारको ज्यान गएको रिपोर्ट सार्वजनिक भएको थियो । ५० लाखभन्दा बढी मानिसहरुले सिरिया छाडिसकेका छन् । लेबनान, जोर्डन, टर्कीले ठुलो संख्यामा शरणार्थी समस्या भोग्नु परेको तथ्य बाहिर आएको थियो ।

१० प्रतिशत शरणार्थीहरु सुरक्षीत रुपमा युरोप पुगेका थिए ६३ लाख सिरियाली जनता भने बेघर भएका छन् । ८५ प्रतिशत सिरियाली जनता गरिबीको रेखामुनि रहेका छन् ।

अहिले सिरियालाई आधार बनाएर विश्वका ठूला राष्ट्र युद्धमा होमिएका छन् । सिरियामा जे–जति युद्ध भएको छ, त्यसको असर ठूला राष्ट्रमा कम र सिरियाली जनतामा बढी परेको छ । अहिलेसम्म सिरियामा तीन लाख जनताले ज्यान गुमाइसकेका छन् । लाखौँ घरबारविहीन भएका छन् । सबै जनतालाई मृत्युको त्रास छ । सिरियालाई आधार बनाएर गरिएको अन्तराष्ट्रिय राजनीति यस्तो छ ः
१) अहिले सिरिया मुद्दालाई लिएर रुस र अमेरिका सम्मिलित नेटो सैनिक परस्पर विरोधमा छन् । अर्को शक्तिका रुपमा आतंककारी सैन्य दस्ता आइएस छ ।


२) रुसको स्पष्ट योजना सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्तामा टिकाउनेछ । यस काममा उसले प्रत्यक्ष रुपमा इरान र अप्रत्यक्ष रुपमा चीनको साथ लिएको छ ।

३) अमेरिकाको योजना कुनै हालतमा सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताबाट हटाउनेछ । असदलाई सत्ताबाट हटाएपछि आफूअनुकूलको व्यक्तिलाई राष्ट्रपति बनाउने र त्यसपछि सिरियासँग विभिन्न सम्झौता गरेर तेल खानीमा नियन्त्रण राख्ने अमेरिकाको योजनामा बेलायतको साथ छ । त्यसका लागि सिरियामै फ्रि सिरियन आर्मी नामक सैन्य दस्ता खडा गरेर अमेरिकाले आन्दोलन भड्काएको छ । तर, बेलायतबाहेक अमेरिका सम्मिलित नेटो गठबन्धनकै अन्य राष्ट्र पूर्ण रुपमा अमेरिकाको योजनाको पक्षमा छैनन् , स्वार्थ सबैको फरक छ । आइएसमाथि आक्रमण गर्ने बहानामा सिरिया छिरेको रुस अमेरिकाको अप्रत्यक्ष सहयोगमा सञ्चालित तिनै विद्रोहीमाथि खनिएको छ ।

४) नेटो गठबन्धनको अर्को राष्ट्र फ्रान्स यसअघि बसर अल असदले सत्ता छाड्नुपर्ने अडानमा थियो । तर पेरिस हमालापछि फ्रान्सले केवल आईएसलाई निसाना बनाएको छ । उसको पहिलो तारो आइएस र त्यसपछि मात्रै बसर अल असद हुन् ।
५) नेटो गठबन्धनको अर्को राष्ट्र टर्कीको निसानामा सिरियाली संगठन कुर्द र त्यसलाई प्रश्रय दिने राष्ट्रपति बसर अल असद छन् । आईएससँग टर्कीको खास दुश्मनी छैन । कतार, युएई र साउदी अरेबिया आईएसलाई भित्री रुपमा सहयोग गरिरहेका छन् । उनीहरूको उद्देश्य आईएसमार्फत इरानलाई सिध्याउने बुझिन्छ ।
६) कतार, साउदी र टर्कीजस्ता देशको योजना असफल बनाउन इरान बसर अल असदलाई टिकाउन चाहन्छ । त्यसैले रुसलाई इरानले खुलेर साथ दिएको छ ।

७) अहिले सिरियामा बसर अल असदले लेबनानको हिजबुल्लाह संगठनको पनि साथ लिएका छन् । यसबाहेक सिरियामा सिया र सुन्नी समुदायबीच पनि युद्ध जारी छ ।


८) सबै घटनाक्रम र आपसी विवादको फाइदा लिएर आईएस अघि बढ्दै छ । आईएसका प्रमुख अबु बकर अल बगदादीले इराक र सिरियाका थुप्रै भू–भाग कब्जामा लिएका छन् । प्रमुख तेल खानीहरू कब्जामा लिएको आईएस संसारकै शक्तिशाली आतंककारी संगठन मानिन्छ ।
९) सिरियामा जारी द्वन्द्वपछि अन्तर्रा्ष्ट्रिय शक्तिबीच ध्रुवीकरण बढ्दो छ । बसर अल असदलाई हटाउने सन्दर्भमा टर्की, अमेरिका, बेलायत र फ्रान्स एकजुट देखिन्छन् । जहा जसको स्वार्थ लुकेपनि यसरी निहत्र्था जनताको ज्यान लिनु पक्कै पनि राम्रो होइन । ABC tv

प्रतिक्रिया