मानवता विरोधी आक्रमण रोक्न अपिल

मानवता विरोधी आक्रमण रोक्न अपिल

दैलेख फागुन १८ – सिरियाको दमास्कसको बाहिरी क्षेत्रमा रहेको विद्रोही नियन्त्रित पूर्वी गुटामा एक हप्तादेखि सशस्त्र आक्रमण र बमबारी अझैं जारी रहेको अवस्थामा हालसम्म झण्डैं डेढ सय भन्दा बढी बालबालिका सहित पाँच सय जना जति सर्वसाधारणले ज्यान गुमाएको भन्दै मानवता विरोधी आक्रमण रोक्न अपिल गरिएको छ ।
शुक्रवार दैलेख स्थित नागरिक समाज, इन्सेक र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल द्धारा जारि संयुक्त प्रेस विज्ञप्तीमा उक्त घटना रोक्न अपिल गरिएको हो ।
प्रेस विज्ञप्तीमा भनिएको छ ‘युद्धविराम गर्ने सहमतीपछि पनि विद्रोही पक्षबाट बमबारी र क्लोरिन ग्यास लगायतका रासायनिक बस्तुको प्रयोग गरिएबाट मानव स्वास्थ्यमा गम्भीर असर परेकोले निशस्त्र व्यक्तिहरुलाई आक्रमण गर्न नहुने युद्धका सामान्य नियम पालना समेत नभएकोले सम्वेदनशील हुन युद्धरत पक्षको ध्यानाकर्षण गराउँदछौं । ’
विज्ञप्तीमा आन्तरिक राजनीतिक कलहपछि गृहयुद्धमा फसेको सिरियामा निशस्त्र सर्वसाधारण, बालबालिका, गर्भवती महिला, असक्त नागरिक र विद्यालय क्षेत्रहरुमा समेत आक्रमण गरिएको उक्त मावनता विरोधी कार्यले अन्तराष्ट्रिय जगत गम्भीर भएको उल्लेख गरिएको छ ।
हरेक नागरिकको बाँच्न पाउने अधिकारको प्रत्याभूती गराउन संयुक्त राष्ट्र संघको स्थापना पश्चात बिश्वका सबै देश र सरकारले मानवअधिकारको संरक्षण, सम्मान र सम्बद्र्धनका लागि सन् १९४८ मानवअधिकार सम्बन्धी बिश्वव्यापी घोषणापत्र जारी गरी कार्यान्वयन भइरहको सन्दर्भमा अन्तराष्ट्रिय मानवीय कानून र बालअधिकार महासन्धी १९८९ लगायतका बिश्व व्यापी कानूनी मान्यताको परिपालना गर्नु युद्धरत पक्षको प्राथमिक दायित्व भएको विज्ञप्तीमा जनाइएको छ । जारि विज्ञप्तीमा युद्धरत पक्षले तत्काल युद्ध रोकी सिरियाली जनताहरुले भोगिरहेको बेरोजगारी, चरम भ्रष्टाचारको अन्त्य गर्न अन्तर्राष्ट्रिय जगतले देखाएको चासोप्रति हाम्रो समेत एक्यवद्धता जनाउदै तत्काल राजनैतिक स्वतन्त्रता उपलब्ध गराउन जोडदार माग गरिएको छ । विज्ञप्तीमा नागरिक समाज दैलेखका अध्यक्ष खड्ग बहादुर सिजापति, इन्सेक जिल्ला प्रतिनीधि अमर बहादुर सुनार र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका महासचिव नैन बहादुर शाहीले हस्ताक्षर गरेका छन् ।

विज्ञप्ती

प्रतिक्रिया