कार्यक्रममै मन्त्रीमण्डल

कार्यक्रममै मन्त्रीमण्डल

सुर्खेत — वीरेन्द्रनगरस्थित एक होटेलमा शनिबार सामुदायिक रेडियो प्रसारक संघको प्रदेश भेला भयो । भेलामा प्रमुख अतिथि थिए– मुख्यमन्त्री महेन्द्रबहादुर शाही । तर, मञ्चमा उनीसँगै अन्य पाँच मन्त्री पनि देखिए । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यो कुनै नौलो दृश्य होइन । मुख्यमन्त्री वा एकजना बिभागीय मन्त्री सहभागी हुँदा पुग्ने कार्यक्रममा सिंगो मन्त्रीमण्डल नै जाने गरेको छ । यसले मन्त्रीहरूको समय बर्बाद त हुन्छ नै, स्वयं आयोजकले समेत लाभ लिन सक्दैनन् । कार्यक्रम व्यवस्थापन झनै भद्रगोल हुन्छ । शनिबारको कार्यक्रममा मुख्यमन्त्री शाहीले मुखै खोलेर यो प्रवृत्तिप्रति असन्तुष्टि जनाए । ‘एउटा कार्यक्रममा सबैजना आउने, अनि भाषण गर्ने यो शैली फिटिक्कै मन परेन,’ उनले आफ्नो मन्तव्यमा भने, ‘अब बोलेर भन्दा काम गरेर देखाउनुपर्छ ।’त्यतिमात्र होइन, उद्घाटन समारोहको मुख्यसत्रमा बोल्ने ९ मध्ये ६ जना कर्णाली सरकारका मुख्यमन्त्री/मन्त्री थिए । मुख्यमन्त्री सहितको यही समूह त्यहाँबाट चेम्बर अफ कमर्सको कार्यक्रममा गयो । र, त्यसैगरी मञ्च ओगट्यो ।

उनलाई मात्र होइन, एउटा सामान्य कार्यक्रममा प्रदेश सरकारको सिंगो मन्त्रीमण्डल लस्कर लागेर जाने प्रवृत्ति कसैलाई मन परेको छैन । तर, यो प्रवृत्ति अन्त्य गर्न स्वयं मुख्यमन्त्री शाही अग्रसर हुनुपर्छ । शनिबारकै रेडियोसम्बन्धी कार्यक्रममा सञ्चार हेर्ने विभागी मन्त्री उपस्थित हुँदा पर्याप्त हुन्थ्यो । आयोजकको रुची ‘हाइप्रोफाइल’लाई बोलाउनु नै थियो भने मुख्यमन्त्रीलाई समेत आमन्त्रण गर्न सकिन्थ्यो । तर, कार्यक्रमको प्रकृतिसँग खासै साइनो नभएका थप चार मन्त्रीको उपस्थिति त्यहाँ औचित्यपूर्ण थिएन । चेम्बर अफ कमर्सको कार्यक्रममै पनि आर्थिक मामिला तथा योजनामन्त्री वा मुख्यमन्त्रीसहित आर्थिक मामिलामन्त्री जाँदा भइहाल्थ्यो । कार्यक्रमको विषयसँग प्रत्यक्ष सरोकार नभएका अन्य मन्त्रीको उपस्थिति भने अतिथि बन्ने र भाषण गर्नेमै सीमित देखियो ।

एउटै कार्यक्रममा मन्त्रीको लस्कर लाग्नुमा आयोजक पनि उत्तिकै जिम्मेवार छन् । कार्यक्रमको भव्यता बढाउन होस् वा सबै मन्त्रीको मन राखिदिन, उनीहरूले मन्त्रीदेखि मुख्यमन्त्रीसम्मलाई निमन्त्रणा पठाउँछन् । ‘एउटालाई निम्तो पठाउँदा अर्को रिसाउँछ कि भन्ने लाग्छ, आखिर यहाँ मन्त्री नै कति पो छन् र ?’ केही दिनअघि एउटा कार्यक्रम आयोजना गरेका एक गैरसरकारी संस्थाका प्रतिनिधिले भने, ‘बोलाएजति आउँदा त अघिल्लो लहरमा सबै मन्त्रीमात्र भए ।’

‘मन राख्न’ निमन्त्रणा दिन जाने कतिपय आयोजकलाई लाग्छ– कार्यक्रमको ‘सेडुल’ हेरेर मन्त्री स्वयंले ‘म भ्याउन्न’ वा ‘फलानो मन्त्रीलाई बोलाए भइहाल्छ नि’ भनिदिउन् । तर, कर्णाली सरकारमा ‘मञ्च–मोह’ नभएको त्यस्ता मन्त्री बिरलै छन् । कान्तिपुरबाट साभार ।

प्रतिक्रिया