बालविवाह न्युनिकरण अभियानमा समुदायको सहयोग

बालविवाह न्युनिकरण अभियानमा समुदायको सहयोग

दैलेख – जिल्लाको डुङ्गेश्वर गाउँपालिका–६ देवीस्थानका मेहनती कृषकको परिचय बनाएका उन्नती कृषि फर्मका सञ्चालक देवेन्द्र गोदार क्षेत्रीले गत असार २४ गते सामाजिक संजाल फेसबुकमा आफ्ना आफन्तको विवाहको बारे जानकारी दिन सम्म भ्याए ।

उनको स्टाटसमा ‘सरकारले तोकेको भन्दा बढी उमेर पुगी सकेको विहे हो है ।’ लेखिएको थियो । उनका दाईको छोरी कल्पना गोदार र सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–१० पिपिरा घरमा देवेन्द्रका आफ्नै शाला नाताका सन्तोष खत्री वीच विवाह भएको कुरा परिचय पनि उनले फेसबुक स्टाटसमै खुलाए ।

१२ कक्षा उत्तीर्ण गरेकी २१ वर्षकी कल्पना स्नातकको पढाई विवाहपछि सुर्खेतमै गर्ने पारिवारिक सल्लाह भएको छ भने स्नातकोत्तर उत्तीर्ण २४ वर्षका सन्तोस शिक्षण पेशामा संलग्न छन् ।

फेसबुकमा पोष्ट गरिएका फोटो सर्च गरेर २० वर्ष पुगेर विवाह गरिएको हो कि बालविवाह हो रु भनी प्रहरीले खोजी तलासी गर्ने गरेको कारण आफन्तको विवाह उमेर पुगेर मात्र गरिएको जानकारी गराउन फेसबुकमा यस्तो लेखिएको देवेन्द्र गोदारले प्रष्ट्याए ।

समुदायबाट प्राप्त सूचनाका आधारमा बालविवाह भएको पुष्टी भएमा प्रहरीले कारवाही गर्छ भन्ने सन्देश देवेन्द्र गोदार जस्तै सचेत नागरिकहरुले सहयोग गर्दै आएको दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सरोज पौडेलले बताए ।

विवाहको फोटो पोष्ट गरिएको फेसबुस स्टाटसमा केटा केटीको उमेर २० वर्ष पुगेको छ वा छैन भनी प्रतिक्रिया लेख्ने गरेको पाइन्छ र विवाहमा निम्तो आएमा दुलाहा दुलहीको उमेर २० वर्ष पुगे नपुगेको निश्चित गरेर मात्र विवाह भोजमा जाने दैलेखमा संस्कार बसेको छ ।

नेपाल बाल संरक्षण संजाल, कर्णाली प्रदेशका संयोजक हीरासिंह थापाले त विवाहको निम्ता गर्नेहरुसंग दुलाहा दुलहीको उमेर २० वर्ष पुगेको पुष्टी हुने कागजपत्र नै देखाउन आग्रह गर्ने गरेको बताए । ‘विवाहको निम्तोे दिनेले २० वर्ष पुगेको पुष्टी हुने कागज नदेखाउनेको विवाहमा जादिन, संयोजक थापाले भने ।’

२०६८ को जनगणना अनुसार जनसंख्याको अनुपातमा बालविवाह बढी हुने जिल्लामा दैलेख देशभरकै तेश्रो स्थानमा भएको कारण बालविवाह रोकथामका लागि प्रहरी–प्रशासन, स्थानीय तहहरु, महिला तथा बालबालिका कार्यालय, गैससहरु समेतको साझा प्रयत्नपछि बालविवाह रोकथाम अभियान प्रभावकारी बन्दै गएपछि अभियानलाई सामुदायिक सहयोग पनि जुट्दै गरेको छ ।

बालविवाह रोकथाम अभियानको प्रतिफल राम्रो हुदै गएको बताउदै यसलाई निरन्तरता दिनुपर्ने अधिवक्ता खड्गबहादुर सिजापतिको सुझाव छ । उनले भने “बालविवाह गर्नेको अध्ययन रोकिने, आर्थिक कठिनाई, पारिवारिक कलह सिर्जना हुने गरेको कारण बालविवाह रोकथाम अभियान निरन्तरताको जरुरी     छ ।”

प्रतिक्रिया