रोजगारीमा बोनसको लोभ : दशैंतिहारमा घर आउँदैनन् ‘बम्बैवाला’

रोजगारीमा बोनसको लोभ : दशैंतिहारमा घर आउँदैनन् ‘बम्बैवाला’

शेरबहादुर थापा

सुर्खेत – नेपालीले हर्षोल्लास एवं पारिवारिक मिलनका साथ महान पर्व बडादशैं मनाइरहेका छन् । दशैंका बेला विदेशमा रहेका अधिकांश नेपाली स्वदेश फर्किने गरेका छन् । तर, भारतका केही शहरमा बस्ने नेपालीलाई दशैंको रौनकले मनमा छोएपनि व्यवहारमा छुँदैन ।

रोजगारीका लागि भारत पुगेका ‘बम्बैवाला’ बडादशैंको दिन पनि रोजगारीमै व्यस्त हुन्छन् । आठबीस नगरपालिका–६ का केशबहादुर थापा भारत महाराष्ट्रको राजधानी मुम्बईको मलाडमा सेक्युरिटी गार्डमा काम गर्न लागेको ८ वर्ष भयो । उनी हरेक २ वर्षमा स्वदेश आउँछन् । तर, उनी दशैंमा कहिल्यै घर आउँदैनन् ।

सुर्खेतको पञ्चपुरी नगरपालिकाका अशोक ढुंगाना महाराष्ट्रको पोइसर क्षेत्रमा काम गर्दै आइरहेका छन् । ४५ वर्षीय उनी त्यहाँ काम गर्न थालेको २४ वर्षभन्दा बढी भएको बताउँछन् । उनी तिहारपछि मात्रै घर जाने र दशैंतिहार मनाउने गरेर घर नजाने गरेको बताउँछन् ।

कालिकोटको मान्म घर भएका रितेश शाही महाराष्ट्रको ठाणे जिल्लाको मुलुण्डमा नोकरी गर्छन् । उनी पनि दशैंका लागि भनेर घर फर्किने गरेका छैनन् । उनले दशैं मनाउन घर गएर ३०–४० हजार खर्च गर्नुभन्दा तिहारको बोनस लिएर घर जानुमा राम्रो हुने बताए ।‘तिहारमा डबल -दोब्बर- पैसा कमाइन्छ । तिहारको कमाइले घरपरिवारलाई २ महिना खाना खान पुग्छ,’ उनले भने, ‘त्यस्तो अवसर छोडेर दशैं मान्न किन जानु र गाउँमा रु’

मुम्बई र ठाणेमा मात्रै करीब ४ लाखभन्दा बढी नेपाली रहेको अनुमान गर्ने प्रवासी नेपाली संघ भारतका केन्द्रीय महासचिव डम्बर रावलले दशैंमा नेपाली घर नफर्किनाको कारण तिहार बोनस नै भएको बताउँछन् । ‘यहाँ अधिकांश नेपाली युवा सेक्युरिट गार्डको नोकरी गर्ने गर्छन्,’ उनले भने, ‘नोकरी गर्ने स्थानमा तिहारको बेलामा खाइपाई आएको तलब बराबरको रकम थप हुने र अन्य कमाई पनि बढ्ने भएका कारण नेपालीहरू दशैं मनाउन घर नफर्केका हुन् ।’उनका अनुसार नेपालमा दशैंतिहारलाई महत्त्वपूर्ण पर्वका रुपमा लिने गरिन्छ भने भारतको महाराष्ट्रमा तिहारलाई महत्त्वपूर्ण पर्वका रुपमा लिने गरिन्छ ।

‘दशैं नमनाउने भन्ने त हुँदैन । तर, यहाँका भारतीयले दशैंभन्दा बढी महत्त्व तिहारलाई दिने गर्छन्,’ उनले भने, ‘त्यही कारण नेपालीहरू एक महिनामा डबल नाफा हुने काम छोडेर घर आउन मान्दैनन् ।’भवनहरूमा सुरक्षा गार्डको काम गर्ने युवालाई सीप सिकेर नेपाल फर्कन भन्दै अभियान नै चलाएको उनले बताए । ‘हामीले हाम्रा संगठनमा आवद्ध तथा अन्य सम्पर्कमा आएका युवालाई काम सिकेर घर जान बारम्बार भन्दै आएका छौं,’ उनले भने, ‘अहिले करीब २० प्रतिशत प्रवासी नेपालीले प्रवासमा नै काम सिक्दै नोकरी गर्दै आइरहनुभएको छ ।’ lokaantar.

प्रतिक्रिया