कर्णालीमा कानून र योजना आयोग गठनादेश स्वीकृत

कर्णालीमा कानून र योजना आयोग गठनादेश स्वीकृत

सुर्खेत, मङ्सिर ४ ।

कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले ‘कर्णाली प्रदेश कानून तथा कर्णाली प्रदेश योजना आयोग गठन तथा सञ्चालन आदेश, २०७५’ स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुवै आयोगको गठनादेश स्वीकृत गर्ने निर्णय गरेको हो । सात सदस्यीय कर्णाली प्रदेश कानून आयोग गठन हुने सरकार प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिनुभयो । कानून आयोगमा एक अध्यक्ष, सरकारले नियुक्त गर्ने दुई सदस्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, मुख्य न्यायाधिवक्ता पदेन सदस्य र आन्तरिक मामिला तथा कानून मन्त्रालयको कानून महाशाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

यस्तै प्रदेश सरकारले ६ सदस्यीय कर्णाली योजना आयोग गठन गर्ने केसीले बताउनुभयो । मुख्यमन्त्री महेन्द्रबहादुर शाही योजना आयोगको अध्यक्ष रहनुहुनेछ । प्रदेश सरकारले नियुक्त गर्ने एक उपाध्यक्ष, दुई सदस्य, प्रदेश सरकारको प्रमुख सचिव पदेन सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्य सचिव रहने व्यवस्था छ । सात सदस्यीय अस्पताल व्यवस्थापन समिति रहने व्यवस्थासहित ‘अस्पताल व्यवस्थापन समिति गठन आदेश, २०७५’ पनि स्वीकृत गर्ने निर्णय गरिएको केसीले बताउनुभयो । कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि ‘कर्णाली–रारा पर्यटन वर्ष, २०७५’ अन्तर्गत डोल्पाको शेफोक्शुण्डो तालमा मङ्सिर ११ र १२ गते आयोजना गरिने महोत्सवलगायत कार्यक्रमका लागि उपराष्ट्रपति नन्दबहादुर पुनलाई आमन्त्रण गर्ने निर्णयसमेत गरेको प्रवक्ता केसीले जानकारी दिनुभयो ।(रासस) 

प्रतिक्रिया