मानविय व्यवहारमा परिवर्तन ल्याउन जरुरी छ – नगरप्रमुख भण्डारी

मानविय व्यवहारमा परिवर्तन ल्याउन जरुरी छ – नगरप्रमुख भण्डारी

दैलेखको दुल्लु नगरपालिकामा मानव बेचबिखन तथा ओसार–पसार र बसाई सराईको अवस्थाबारे ज्वाला संदेश अनलाइनमा सम्पादक हिक्मत नेपालीले गरेको कुराकानीको सारसंक्षेप ।

-तपाईले बसाई सराईलाई कसरी बुझ्नु भएको छ ?
तपाईको नगरपालिकामा बसाई सराईको प्रवृति कस्तो छ ?
 बसाई सराई भन्ने वित्तिकै कुनै व्यक्ति वा परिवार एक स्थानबाट अस्थाई होस्् या स्थायी रुपमा अर्को स्थानमा गएर बस्नु हो । यसैपनि नेपालमा बसाई सराईका कारण गाउँको जनसंख्या दिनप्रतिदिन घट्दै गइरहेको छ । ग्रामिण क्षेत्रबाट सहरी क्षेत्रमा बसाई सरी जानु नै यसको कारण हो । विशेष गरि विभिन्न सेवा सुविधाको खोजी गरि गाउँ देखि सहर झर्नेको संख्या दिनप्रतिदिन बढिरहेको छ । दुल्लु नगरपालिकाको अवस्था हेर्ने हो भने गाउँ देखि दुल्लु बजारमा आएर अस्थायी होस् या स्थायी रुपमा बसोबास गर्नेको संख्या पनि बढि रहेको छ ।

दुल्लुमा ‘सिंजा हाट, दुल्लु विराट’ भन्ने पुरानो उखान नै छ । दुल्लु पहिला देखि सहरी क्षेत्रको रुपमा विकास भएको हो तर तत्कालिन द्धन्द्धको समयमा दुल्लु बजार सुनसान नै बनेको थियो । अहिले यहाँ बसोबास गर्नेको संख्या बढेको छ । यहाँबाट विशेषगरि सुर्खेत, बाँके, बर्दिया जिल्लामा बसाईसरेर जाने संख्या बढी छ । त्यहाँका धेरै जसो नागरिकहरु दैलेखको दुल्लु क्षेत्रकै हुन् । खासगरि यहाँबाट सुविधाको खोजी, रोजगारीको अबसरहरुको खोजी, अलिकति आर्थीक अवस्था सुधार हुने वित्तिकै सहर जानुपर्छ भन्ने मानसिकताले दुल्लु नगरपालिका अहिले बसाई सराई गरेर जाने संख्या बढि भएका कारण चपेटामा परिरहेको छ ।
– मानव बेचबिखन तथा ओसार–पसारलाई कसरी बुझ्नु भएको छ ?
तपाईको नगरपालिकामा मानव बेचबिखन तथा ओसार–पसारको अवस्था कस्तो छ ?
 मानव ओसारपसार भन्नाले किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेश लैजाने प्रलोभन देखाएर वेश्यावृत्तिमा लगाउने, कुनै प्रकारले ललाई फकाई, झुक्याई, जालसाज गरी कसैलाई बसिरहेको स्थानबाट व्यक्तिलाई छुटाई आफ्नो नियान्त्रणमा लिने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँ अथवा विदेशमा लैजाने तथा अरु कसैलाई दिने कार्य हो । नेपालमा प्राचिन समयमा मानव बेच–बिखन सम्बन्धी अपराध खास गरी राजा महाजाराहरुको सौखको रुप भई मानव लाई खरिद बिक्रि सम्पती जस्तै मानिने भएकोले यस्तो कार्यलाई निषेधित रुपमा लिइएको थिएन् ।

वर्तमान समयमा पनि कतिपय प्रथा परम्पराको आडमा कुनै न कुैन रुपमा मानव खरीद बिक्रीको कार्य हाम्रो समाजमा भइरहेको छ । दुल्लु नगरपालिकाबाट कुनै पनि नागरिकहरु खरिद बिक्री भएको वा बेचबिखनमा परेको हामीले भेट्टाएका छैनौ । नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समितिमा पनि हाल सम्म कुनै व्यक्ति मानव बेचबिखनमा संलग्न भएको वा कुनै व्यक्ति बेचबिखनमा परेको भनेर मुद्धा आएको छैन् । यहाँबाट नेपालका विभिन्न सहरी क्षेत्र, भारत संगै तेस्रो मुलुक (खाडी मुलुक) मा चेलिबेटी या अन्य नागरिकहरु बेचबिखन तथा ओसार पसारमा परेको आधाकारिक जानकारी हामीलाई छैन् ।
-मानव बेचबिखन तथा ओसारपसारको समस्या समाधान वा सम्बोधनका लागि तपाईको नगरपालिकामा कस्ता कार्यक्रम र योजना छन् ?
दुल्लु नगरपालिकामा मानव बेचविखनका आधिकारीक घटनाहरु घटेको भएपनि हामीले श्रमको सम्मानन गर्ने खालको प्रविधिको विकास गर्ने, विद्यालय तहमा मानव बेचबिखन तथा ओसार–पसार, बाल विवाह, छाउपडी प्रर्था लगाएतका सामाजिक कुसंस्कार र कुरिति विरुद्धका सचेतना अभियानहरु संचालन गरिरहेका छौ । यस्ता अभियानहरुलाई निरन्तरता दिइरहनेछौ ।
– तपाईको विचारमा मानव बेचबिखन तथा ओसारपसार न्यूनिकरणका लागि के गर्नु पर्ला ?
नेपाली समाज र संविधानत मानव बेचविखन तथा ओसारपसार जघन्य अपराधको रुपमा लिइएको छ । दुल्लु नगरपालिकामा यस्ता घटनाहरु नदेखिएको भएपनि नेपालमा विभिन्न क्षेत्रका चेलीहरु नेपालकै सहरी क्षेत्र, भारतको विभिन्न क्षेत्र र तेस्रो मुलुकमा विक्री भइरहेका छन् । यस्ता खाले घटनालाई न्यूनिकरणका लागि सबैभन्दा पहिला त मानवियताको विषयमा व्यापक छलफल र बहस गर्नैपर्ने हुन्छ ।

वर्तमान अवस्थामा मानवियता हराउँदै गएको हो की भन्ने पश्नहरु उठिरहका बेला आम नेपाली नागरिकहरुलाई एक व्यक्तिले अर्को व्यक्तिलाई मानविय भावना राख्नु पर्छ भन्ने ज्ञान दिन आवश्यक छ । गाउँगाउँमा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्नुपर्छ । मानविय व्यवहारमा परिवर्तन ल्याउन सरकारी तथा गैरसरकारी निकायको तबरबाट पहल थाल्नुपर्छ । बेचबिखनको मुख्य कारण आर्थीक प्रलोभन हो । त्यो संससंगै घरपरिवारको हेला पनि हो । त्यसैले आर्थीकलाई भन्दा पनि मानवियतालाई ठुला ठान्ने खालको प्रर्णालीको विकास हुनुपर्छ ।

प्रतिक्रिया