२५ वर्षीया युवतीद्वारा आफ्नै अपार्टमेन्टमा आत्महत्या

२५ वर्षीया युवतीद्वारा आफ्नै अपार्टमेन्टमा आत्महत्या

काठमाडौं, माघ २० -ललितपुर बालकुमारीस्थित वेबस्टार अपार्टमेन्टमा २५ वर्षीया बस्नेतको शव झुन्डिएको अवस्थामा फेला परेको छ।सलको पासो लगाएर झुन्डिएको अवस्थामा बस्नेतको शव फेला परेको ललितपुर परिसर प्रमुख एसएसपी रवीन्द्रबहादुर धानुकले बताए।उनका अनुसार बिहान करिब साढे १० बजे बस्नेतको शव फेला परेको थियो।

ढोका ढकढक्याउँदा नखुलेपछि आफन्तले प्रहरीमा खबर गरेका थिए। प्रहरी पुगेर ढोका खोल्दा बस्नेत झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। मृतक बस्नेतको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। मृतक बस्नेत काठमाडौंपाटी डटकम अनलाइनका सञ्चालक पत्रकार रोशन खड्काकी श्रीमती तथा वन मन्त्री शक्ति बस्नेतकी भतिजी हुन्।

बस्नेतका श्रीमान् खड्का आइतबार बिहान ८ बजे अपार्टमेन्टबाट बाहिर निस्केका थिए। त्यसपछि घटना भएको प्रहरीले जनाएको छ। खड्का ऊर्जा तथा सिँचाइमन्त्री वर्षमान पुनका प्रेस संयोजक हुन्। प्रहरीका अनुसार घटनाको कारण खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले विस्तृत जानकारी दिएको छैन। ‘आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ धानुकले भने, ‘यसबारे अनुसन्धान भइरहेको छ, अहिले यति नै भनौं।’

प्रतिक्रिया