महिलाहरु छाउगोठमै छन् : उपमेयर थापा

महिलाहरु छाउगोठमै छन् : उपमेयर थापा

दुुल्लु ‘एतिहासिक, पुरातात्विक एवं साँस्कृतिक’ नगरी हो । धार्मिक, साँस्कृतिक परम्परा, भाषिक तथा भौगोलिक सुन्दर्ताले भरिपूर्ण छ । भौगोलिक दुर्गमता, सामाजिक, आर्थिक पछौटेपनले गाँजेको नगरपालिकामा जननिर्वाचित प्रतिनिधि आइसकेपछि के कस्तो परिवर्तन भए ? यहाँका महिलाको अवस्था कस्तो छ ? छाउपडी, जातीय विभेदले व्याप्त नगरमा हाल यसको अवस्था कस्तो छ ? लक्षित वर्गको लागि के कस्ता कार्यक्रम छन् ? यिनै विषयमा रहेर सहकर्मी रमेश ढुङ्गानाले उपमेयर विष्णु थापासँग गरेको कुराकानीको सम्पादित अंश ।
नगरपालिकामा महिलाको अवस्था कस्तो छ ?
हामी पुरानै संस्कार संस्कृतिमा छौं । महिलाको स्तर माथि उठाउनको लागि नगरपालिकाबाट कार्यक्रम गरिरहेका छौं । नेतृत्व विकास, सिपमूलक तालिम, आय आर्जनको कार्यक्रम सञ्चालन गरिरहेका छौं । छाउपडीको अवस्था अन्त्य गर्न गत आर्थिक वर्षमा प्रत्येक वडामा गएर जनचेतनामूलक कार्यक्रम गरेका थियौ । अझै करिब ५० प्रतिशत महिला छाउगोठमै बस्ने गरेका छन् । त्यसका लागि यो वर्ष १० लाख वजेट विनियोजन गरेका छौं । बाल विवाह पनि व्याप्त छ । त्यसका लागि विद्यालय तथा सामाजिक कार्यक्रम गरि यसको अन्त्यको पहल गरिरहेका छौं । आर्थिक रुपमा कमजोर हुनु नै महिलाको मुख्य समस्या हो । महिला तथा बालबालिका शाखाबाट हामीले किशोर किशोरी लक्षित आयआर्जनका कार्यक्रम पनि गरिरहेका छौं ।
तपाई न्यायीक समितिको संयोजक हुनुहुन्छ, के कस्ता उजुरी आउने गरेका छन् ?
न्यायीक समितिमा विशेष गरि साँध,सीमाना, पानी,पौवा, घरेलु हिंसा, गालि,बेइजती जस्ता उजुरी आउने गरेका छन् । यसलाई हामीले न्यायिक समितिको प्रक्रिया अनुसार टुङ्ग्याउने गरेका छौं । सकेसम्म मेलमिलाप गराएर पठाएका छौं ।
योजना तथा कार्यक्रमको कार्यान्वयनको अवस्था कस्तो छ ?
योजना तथा कार्यक्रम कार्यान्वयनमा हामीले भने जस्तो गरि गर्न गाह्रो हुदो रहेछ । समुदायले मात्र हैन एउटा घरबाट पनि योजना पाउनुपर्छ भन्ने माग आउँछ । त्यस्तो किसिमका मागले समस्या उत्पन्न गरेको छ । सकेसम्म ठूला, देखिने योजना बनाउनु पर्छ भन्ने नगरपालिकाको नीति छ । कतिपय कामहरु भने जस्तो भएको छैन् । वडाका जनप्रतिनिधिले योजना ल्याउनुहुन्छ । हामीले त्यसलाई नाइनास्ती गर्नै सक्दैनौ । अहिले हामी वडा कार्यालय निर्माणको क्रममा छौं । वडा नम्बर १, २, ३ र ५ का वडा भवन बनाइरहेका छौं । ७ र ९ नम्बर वडाहरु निर्माणधिन अवस्थामा छन् भने केहि योजनामै छन् ।
लक्षित वर्गको लागि के कस्ता योजना छन् ?
महिलालाई व्यवसायी बनाउन सिप मूलक कार्यक्रम अयोजना गरेका छौं । त्यस्तै दलित वर्गको लागि गत वर्ष २८ लाख छुट्याएका थियौं । सिलाइ कटाई, आरन जस्ता तालिम पाएर उहाँहरु व्यवसाय गरिरहनुभएको छ । लक्षित वर्गको लागि अगुवा कृषक छनौट गरि कृषि समूह गठन गरिएको छ । उहाँहरुलाई तालिम दिने र व्यवसायिक बनाउने प्रयास गरेका छौं । त्यसको बजारीकरणको लागि कृषि संकलन केन्द्र, शित भण्डारको व्यवस्था गर्ने सोच बनाएका छौं ।

प्रतिक्रिया