संसदीय समितिको बैठकमा आएनन् प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएका छन् ।
समितिले भारतले अघिल्लो साता सार्वजनिक गरेको नक्सामा नेपालको लिपुलेक, कालापानीसहितका क्षेत्र समेत भारतीय नक्साभित्र पारेको विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समितिको बैठकमा बोलाएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिका रुपमा भूमि सुधार तथा व्यवस्थामन्त्री पद्मा अर्याल समितिको बैठकमा पुगेकी छन् । प्रधानमन्त्री ओली स्वास्थ्यका कारण समितिको बैठकमा नआएको समितिका सभापति शशी श्रेष्ठले जानकारी दिएकी छन् ।
स्वास्थ्यका कारण भनिएपनि प्रधानमन्त्री ओली सोही समयमा बालुवाटारमा पार्टीको सचिवालयको बैठकमा भने सहभागी भएका छन् । सोमबार नै बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा भने परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली सहभागी भएका छन् ।
प्रधानमन्त्री ओली दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि हालसम्म एउटा समिति संसदीय समितिको बैठकमा सहभागी भएका छैनन् ।
यसअघि विभिन्न समितिले बैठकमा बोलाएपनि प्रधानमन्त्री ओली अनुपस्थित हुने गरेका छन् । अधिकांश संसदीय समितिमा सत्तारुढ नेकपाको बहुमत रहेको छ ।
प्रतिक्रिया