उत्तर प्रदेशका २१ जिल्लामा इन्टरनेट बन्द

उत्तर प्रदेशका २१ जिल्लामा इन्टरनेट बन्द

काठमाण्डौ – नागरिकता संशोधन कानुन (सीएए) लाई लिएर भएको हिंसापछि उत्तर प्रदेश सरकारले शुक्रबार हुने जुमेको नमाजलाई लिएर २१ जिल्लाको इन्टरनेट सेवा बन्द गरेको छ । 

उत्तर प्रदेश पुलिसका डीजीपी ओपी सिंहले उत्तर प्रदेशको ७५ जिल्लामध्ये २१ वटा जिल्लामा शुक्रबार इन्टरनेट सेवा बन्द हुने जानकारी दिए । 

उनले भने, ‘राज्यमा कानुनी व्यवस्था पूरै नियन्त्रणमा छ, सुरक्षाबलको विभिन्न टिम जुटेको छ । हामीले २१ वटा जिल्लामा इन्टरनेट सेवा बन्द गरेका छौँ, स्थिति सामान्य हुँदै गएपछि इन्टरनेटमाथिको प्रतिबन्ध हटाइने छ ।’

नागरिकता संशोधन कानुनको विरोधमा सबैभन्दा हिंस्रक आन्दोलन उत्तर प्रदेशमा देखिएको थियो । प्रदर्शनको क्रममा उत्तर प्रदेशमा प्रदर्शनकारीको ज्यान पनि गएको छ । 

याे पनि पढ्नुस्

भारत इन्टरनेटमा प्रतिबन्ध लगाउने देशमध्ये सबैभन्दा अगाडि

भारतीय सञ्चारमाध्यमका अनुसार गएको हप्ता प्रहरी र प्रदशर्नकारीबीच भएको झडपमा ज्यान गुमाउने १६ जनामध्ये १४ जनाको गोली लागेर मृत्यु भएको हो । एक वरिष्ठ प्रहरी अधिकारीले यसबारेमा अखबारसँग भनेका थिए । 

प्रहरीले भने आफूहरुले प्लास्टिक र रबरको गोलीबाहेका अरुको प्रयोग नगरेको बताउँदै आएको छ । समाचार एजेन्सी एएनआईले उत्तर प्रदेशका एडीजी (कानुन व्यवस्था) पीवी रामा शास्त्रीको भनाइलाई उद्धृत गर्दै भनेको छ, ‘हामीले राज्यको अलग अलग जिल्लामा सुरक्षकर्मी तैनाथ गरेका छौँ र मानिसहरुसँग कुराकानी गरिरहेका छौँ ।’

गएको १९ देखि २१ डिसेम्बरसम्म भएको प्रदर्शनमा उत्तर प्रदेशको कैयौँ भागमा हिंसा भड्किएको थियो । प्रहरीले आफ्नो कारबाहीलाई सही दाबी गर्दै विरोध प्रदर्शनको दौरान दुई जना प्रदर्शनकारीमाथि गोलाबारी गरेको तस्बिर र भिडियो एक सिरिज जारी गरेको थियो । 

उपमुख्यमन्त्री दिनेश शर्माले यो हिंसाले प्रहरीमाथि पनि धेरै नोक्सान पुगेको दाबी गरेका थिए । उनले पत्रकारसँग भने, ‘२१ जिल्लामा भड्किएको हिंसामा दुई सय ८८ पुलिसकर्मी घाइते भए, जसमा ६२ जना गोली लागेर घाइते भए ।’ 

प्रतिक्रिया