१० वर्षमा साढे ७ हजार युवा विदेशबाट बाकसमा फर्किए

१० वर्षमा साढे ७ हजार युवा विदेशबाट बाकसमा फर्किए

काठमाडौं ८ माघ, । सरकारी तथ्यांकअनुसार बितेको दश वर्षमा नेपालबाट काम खोज्दै ३८ लाख ५८ हजार ४६५ जना नेपाली युवा विदेसिए । त्यसमध्ये ७ हजार ३८४ जनाको जीवनलिला विदेशी भूमिमै समाप्त भयो । अवैध बाटो भएर विदेश पुगेका र श्रम स्वीकृति नवीकरण नगरी बसेकामध्ये कतिले उतै ज्यान गुमाए भन्ने विवरण यो तथ्यांकले समेटेको छैन ।

वैदेशिक रोजगार विभागकाअनुसार जति नेपाली विदेशिन्छन्, त्यही मात्रामा मृत्युदर घटबढ हुने सिलसिला चलिरहन्छ । तीन वर्षयता विदेशिनेको संख्या घट्दा मृत्युदर पनि घटेकै देखिन्छ ।

सरकारी अभिलेख हेर्दा पनि आर्थिक वर्ष २०६६/०६७ यता श्रम बजारमा आएका नयाँ युवामध्ये औसतमा दैनिक एक हजार ५८ जना विदेश लागेको देखिन्छ । त्यसमध्ये औसतमा दैनिक दुई जना काठको बाकसमा फर्किन बाध्य छन् । अवैध हैसियतमा विदेशमा रहँदा बितेकाहरु पनि जोड्ने हो भने यो संख्या औषत दैनिक तीन जना पुग्ने श्रम मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

विदेशमा गम्भीर प्रकृतिको बिरामी, घाइते र अंगभंग भएर फर्किने नेपाली युवाको संख्या लाश भएर आउनेको भन्दा बढी छ । बढी कामदार विदेश गएको वर्ष यो संख्या त्यही अनुपातमा बढ्ने गरेको पाइन्छ ।

गएको १० वर्षमध्ये आव २०६६/०६७ मा सबभन्दा कम ४१९ जना नेपाली कामदारको मृत्यु विदेशमा भएको थियो । त्यो वर्ष विदेसिनेको संख्या दुई लाख ८४ हजार थियो । आव २०७१/०७२ मा सबभन्दा बढी एक हजार ६ जना नेपाली युवा बाकसमा फर्किए । त्यो आवमा पाँच लाख १२ हजार कामदार विदेसिएको तथ्यांक छ ।

गत १० वर्षका बीचमा सबभन्दा धेरै पाँच लाख २७ हजार नेपाली आव २०७०/०७१ मा विदेसिएका थिए । त्यो वर्ष ८७७ जना कामदारले विदेशमै ज्यान गुमाए ।

कुन वर्ष कति ?

गत आव (२०७५/०७६) मा आठ सयभन्दा बढी नेपाली कामदार काठको बाकसमा घर फर्किए । वैदेशिक रोजगारीमा जानेको मृत्यु हुँदा क्षतिपूर्ति दिलाउने वैदेशिक रोजगार बोर्डको सचिवालयले एक वर्षका बीचमा ७५३ जना मृतक कामदारका परिवारलाई क्षतिपूर्ति दिलाएको देखिन्छ । अवैध रुपमा विदेश गएर मृत्यु हुने कामदारको संख्या पनि जोड्दा मृतक संख्या आठ सयभन्दा माथि पुग्ने अनुमान छ ।

बोर्डको तथ्यांकअनुसार गत अवमा ७३० पुरुष र २३ जना महिला कामदारले वैदेशिक रोजगारीका सिलसिलामा ज्यान गुमाए । यो संख्या आव २०७४/०७५ को भन्दा अलिकति थोरै हो । त्यो वर्ष विदेशमा आठ सय पुरुष र २१ जना महिलाको मृत्यु भएको थियो ।

कामदारको धेरै मृत्यु हुने देशमा मलेसिया अगाडि देखिन्छ । गत वर्ष मलेसियामा २२९ जना नेपाली कामदारले ज्यान गुमाए । त्यसभन्दा अघिल्लो वर्ष यो संख्या २८९ थियो ।

मृतक संख्या घटे पनि नेपाली कामदारको लागि असुरक्षित गन्तब्य सूचीको मलेसिया पहिलो नम्बरमा छ ।यो वर्ष निकै कम कामदार मलेसिया गएकाले मृत्यु संख्या घटेको हो । गत वर्ष वैदेशिक रोजगारीमा जाने कुल नेपालीको संख्यामा ३३ प्रतिशतले गिरावट आएको थियो ।

विदेशमा ज्यान गुमाउने नेपाली कामदार धेरैजसो तराईका छन् । त्यसपछि पूर्वी, मध्य र पश्चिम पहाडका हुन्छन् । जुन जिल्लाबाट बढी कामदार जान्छन्, त्यहीको कामदारको मृत्युदर बढी छ । विदेशमा ताप्लेजुङ, पाँचथर, इलाम, सर्लाही, महोत्तरी, मोरङ, सर्लाही, सप्तरी, सुनसरी, सिराहा, रुपन्देही, नवलपरासी, खोटाङ, गुल्मी, नवलपरासी, रोल्पालगायतका जिल्लाका कामदारले बढी ज्यान गुमाएको देखिने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ बताउँछन् ।

मृत्युको कारण

विदेशमा धेरैले ‘कार्डिक एरेस्ट’ (हृदयघात)का कारण ज्यान गुमाएको तथ्यांकले देखाउँछ । वर्षौंदेखि नै यो समस्या छ । दिनभर बाहिर गर्मीमा काम गरेर कोठामा आउनासाथ एयर कन्डिसनर खोलेर सुत्ने गरेका कारण धेरै नेपाली कार्डिक एरेष्टको शिकार हुने गरेको कार्डियोलोजिष्ट मिलन प्रकाश श्रेष्ठ बताउँछन् ।

त्यसैगरी, मादक पदार्थका रुपमा विभिन्न केमिकल मिसाएर खाने, एकैपटक धेरै रक्सी सेवन गर्ने लगायतका कारण पनि हृदयाघात हुने गरेको डा. श्रेष्ठको भनाइ छ । ‘कामको दबाब, मानसिक तनाव, असन्तुलित दैनिकी आदिका कारण पनि राति ठीकठाक सुतेकाहरु विहान मृत भेटिन्छन्’, उनी भन्छन् ।

त्यस्तै, ट्राफिक नियम जान्न र पालना गर्न चासो नदिने आनीबानीले गर्दा पनि नेपालीहरुले सडक दुर्घटनामा मृत्यु अंगाल्नुपरेको छ । कार्यस्थलको दुर्घटनामा मृत्यु हुनेको संख्या पनि सानो छैन । यस्तो दुर्घटनामा निर्माण र औद्योगिक क्षेत्रका मजदुर धेरै पर्छन् । यसमा व्यक्तिगत लापरबाही पनि मृत्युको कारक बन्ने गरेको छ ।

वैदेशिक रोजगारीमा गएका कतिपय नेपाली अपराधको शिकार बन्ने गरेका छन् । लुटेर समूहको आक्रामण र नेपाली वा अरु देशका कामदारसँग हुने व्यक्तिगत रिसइवीका हानथापमा हत्याका घटनाहरु हुने गरेका छन् । त्यसैगरी, आत्महत्या, मृत्युदण्ड र कालगतिको मृत्युले पनि विदेशमा मृतक नेपालीको संख्या बढाएको हुन्छ ।

नेपाल सरकारको प्रयास फितलो

सरकारले गत वर्ष आगामी पाँच वर्षभित्र बाध्यात्मक अवस्थामा काम खोज्दै विदेश जानुपर्ने अवस्था हटाउने घोषणा गरेको थियो । त्यसका लागि ठोस योजना भने ल्याएको छैन । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत देशमा लाखौं रोजगारी सिर्जना गर्ने सरकारको भनाइ छ । अर्कोतिर, रोजीरोटीकै लागि विदेशिएका नेपाली युवाको अकालमा भएको मृत्यु संख्या छोप्न सकिने गरिको छैन ।
सरकारकै आह्वानमा सुहलियत ऋणका लागि आफ्नो योजना बुझाएका विदेशबाट फर्किएका २० हजार युवाको फाइल बैंकहरुमा सड्दै छन् । उद्यम गर्न बैंकबाट ऋण नपाएका ती युवाले गुजाराका लागि थप ऋणको भारी बोक्न परेको छ ।
परिवारको भरणपोषणका लागि विदेशिने लाइनमा लागेका युवालाई बाक-बन्द भएर फर्किनुपर्ने हो कि भन्ने डर छ । आफ्ना युवालाई देशभित्र रोजगारी दिन नसकेको सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन पनि सकेको छैन । न त रोजगारदाता मुलुकहरुलाई जिम्मेवार बनाउन सकेको छ ।

नेपाल सरकारले विदेशमा आफ्ना कामदारको मृत्युदर घटाउन प्रभावकारी योजना लागू गरेको छैन । वैदेशिक रोजगार मामिलाका जानकार मधुविलास पण्डित कामका लागि विदेश जाने युवालाई दिइने अभिमुखीकारण कक्षा नै कमजोर रहेको बताउँछन् । ‘ऋण काढेर गएकाहरु धेरै युवा भनेजस्तो काम र ज्याला नपाएपछि परिवार र पैसाको दबाव पर्छन्,’ उनी भन्छन्, ‘त्यो अवस्थामा कति कुलतमा पर्छन्, यस्ता कारणबाट सिर्जित परिस्थितिको सही व्यवस्थापन गर्न नसकेर पनि धेरै कामदार मृत्युको मुखमा पुग्छन् ।’ नेपाली कामदारहरुलाई धैर्यवान बनाउन र स्वस्थ खानपानमा अभ्यस्त गराउन सकियो भने मृत्युदर घटाउन सकिने पण्डित बताउँछन् । अनलाइनखबर

प्रतिक्रिया