प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण, ४ बजेपछि शल्यक्रिया र प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिइने

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण, ४ बजेपछि शल्यक्रिया र प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिइने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा सफलतापूर्वक शल्यक्रिया भएपछि प्रधानमन्त्री ओलीलाई आईसीयूमा सारिएको छ। 

‘मिर्गौला प्रत्यारोपणका लागि भएको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि उहाँलाई आईसीयूमा सिफ्ट हुँदैछ’, त्रिवि अस्पतालको उच्च स्रोतले भन्यो, ‘उहाँलाई आईसीयूमा राखेपछि औपचारिक जानकारी दिइने छ।’ 

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बुधबार बिहान सबा १० बजे  शल्यक्रिया कक्षमा  लगिएको हो। चिकित्सकले शल्यक्रिया सम्पन्न गर्न ४ देखि ५ घण्टासम्म लाग्ने बताएका थिए। मिर्गौला प्रत्यारोपण टिममा शिक्षण अस्पतालका अनुभवी चिकित्सकसँगै पहिलो प्रत्यारोपणमा सहभागी तीना भारतीय चिकित्सकसमेत थिए। 

पहिलो पटक भारतमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न सर्जन डा. अनन्त कुमारसहित दुई जना फिजिसियन सहभागी भएका हुन्। प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। 

अस्पतालभित्र शल्यक्रिया भइरहँदा बाहिर नेकपाका नेता कार्यकर्ता, शुभचिन्तक र सर्वसाधरण प्रधानमन्त्रीको सफल शल्यक्रिया र स्वास्थ्यलाभको कामना गरिरहेका छन्। प्रधानमन्त्रीको तस्बिर अंकित प्लेकार्ड प्रदर्शन गरिएका छन्। 

अस्पताल र आसपासमा बुधबार बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।  अस्पतालका छतमासमेत सुरक्षाकर्मी तैनाथ छन्। 

शल्यक्रियाका लागि डा.प्रेम ज्ञवालीको टोली र डा. उत्तम शर्माको टोली खटिएको छ। एक टोलीले दाताको शल्यक्रिया र अर्को टोलीले प्रधानमन्त्रीको शल्यक्रिया गरेको हो। शल्यक्रियापछि कम्तीमा दस दिन अस्पतालमै आराम गर्नुपर्ने प्रारम्भिक सल्लाह चिकित्सकले दिएका छन्।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली र मिर्गौला दाता भान्जी पर्ने समीक्षा दुवै सोमबार नै अस्पताल भर्ना भएका थिए। सोमबारदेखि मंगलबार बेलुकासम्म पनि प्रधानमन्त्री ओलीको विभिन्न परीक्षण गरेर शरीरलाई प्रत्यारोपणका लागि अनुकुल बनाइएको थियो। 

स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौंमा सिंगापुर गएका थिए।त्यहाँ उनले ‘प्लाज्माफेरेसिस’ गरिएको थियो। त्यहाँ १५ दिनको बसाइपछि प्रधानमन्त्री स्वदेश फर्केका थिए।त्यसपछि उनी नियमित मिर्गौला डायलासिस गर्दै आएका थिए। अस्पताल स्रोतका अनुसार दिउँसो ४ बजेपछि शल्यक्रिया र प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिइने छ। 

प्रतिक्रिया