प्रधानमन्त्री ओली एक साताभित्र डिस्चार्ज, एक महिना सार्वजनिक कार्यक्रममा उपस्थित नहुने

प्रधानमन्त्री ओली एक साताभित्र डिस्चार्ज, एक महिना सार्वजनिक कार्यक्रममा उपस्थित नहुने

काठमाडौं फागुन २३ : प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आएको छ। उनले बिहीबारदेखि झोलिलो र नरम आहार खान थालेका छन्। त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई तरल र नरम आहार दिन सुरु गरिएको बताए। उनका अनुसार ओलीको प्रत्यारोपित मिर्गौलाले काम गर्न थालेको छ। सबै स्वास्थ्य सूचक सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलालाई पनि तरल र नरम आहार खुवाउन सुरु गरिएको अस्पतालले जनाएको छ। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार हुँदै गएको अवस्थामा एक साताभित्र डिस्चार्ज गरिने जनाइएको छ।

यसअघि उनलाई सातदेखि १० दिनसम्म अस्पतालमा राख्नुपर्ने बताइएको थियो। उनलाई अस्पतालबाट डिस्चार्ज गरिए पनि संक्रमण हुन सक्ने भएकाले एक महिना सार्वजनिक कार्यक्रममा उपस्थित नगराइने उपचारमा संलग्न एक चिकित्सकले बताए।

भारतीय चिकित्सक फर्किए

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा सहयोग गर्न भारतबाट बोलाइएका वरिष्ठ युरोलोजिस्ट एवं मिर्गौला प्रत्यारोपण सर्जन प्रा।डा। अनन्त कुमारसहितको टोली फर्किएको छ। डा। अनन्त सहित नेफ्रोलोजिस्ट डा। दिनेश खुल्लर र अर्का एक चिकित्सक आएका थिए।

डा। अनन्त कुमार नेतृत्वको चिकित्सकीय टिमले ओलीलाई पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेको थियो। प्रधानमन्त्री ओलीको ०६४ सालमा भारतको अपोलो अस्पतालमा प्रत्यारोपण गरिएको थियो।

स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री केपी ओलीलाई विभिन्न मुलुकका कार्यकारी प्रमुख एवं राजदूतले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले स्वास्थ्य लाभको कामना गरेका छन्। जापानका प्रधानमन्त्री सिन्जो आबे र भुटानका प्रधानमन्त्री लोते छिरिङले शीघ्र स्वास्थ्यलाभको कामनासहितको सन्देश पठाएका छन्।

नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी, पाकिस्तानी राजदूत मजहर जावेद र जापान राजदूत मसामिचि साइगोले पनि शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बिहीबार नेकपा महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत नेताकार्यकर्ता शिक्षण अस्पताल पुगेका थिए।

प्रतिक्रिया