कोरोना प्रकोप : निको हुनेको संख्या ३ लाख ३० हजारभन्दा बढी

कोरोना प्रकोप : निको हुनेको संख्या ३ लाख ३० हजारभन्दा बढी

काठमाडौँ – कोरोना भाइरस(कोभिड–१९) बाट मृत्यु हुने र संक्रमितको संख्या लगातार बढिरहँदा निको हुनेको संख्या पनि बढिरहेको छ । अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार बिहीबार दिउँसोसम्म कोरोना भाइरसबाट संक्रमित भएकामध्ये ३ लाख ३० हजारभन्दा बढी निको भएका छन् । 

जोन होप्किन्स विश्वविद्यालयले कोरोना भाइरसबाट संक्रमित भएर पनि ठीक हुनेहरुको संख्या अझ धेरै हुन सक्ने बताएको छ। धेरैलाई कोरोना भाइरसको संक्रमण भएको थाहै नभइ निको भएको पनि हुन सक्ने विश्वविद्यालयले जनाएको छ। बिहीबार दिउँसोसम्मको तथ्या‌ंकअनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १४ लाख ८७ हजार ८ सय ८७ रहेको छ । त्यस्तै कोरोना स‌ंक्रमणबाट ८८ हजार ६ सय ३० जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणपछि निको हुनेको संख्या सबैभन्दा बढी चीनमा रहेको छ। बिहीबार दिउँसोसम्म चीनमा कोरोना भाइरसको संक्रमणपछि निको हुनेको संख्या ७७ हजार ६ सय ४९ रहेको छ। चीनमा अहिलेसम्म ८२ हजार ८ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यस्तै चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ३९ रहेको छ।

चीनपछि कोरोना भाइरसबाट संक्रमित हुनेमध्ये निको हुनेको संख्या स्पेनमा धेरै छ। बिहीबार दिउँसोसम्म स्पेनमा संक्रमणपछि निको हुनेको संख्या ४८ हजार २१ रहेको छ। त्यस्तै जर्मनीमा पनि कोरोना भाइरसको संक्रमणपछि निको हुनेको संख्या बढिरहेको छ। बिहीबार दिउँसोसम्म जर्मनीमा निको हुनेको संख्या ४६ हजार ३ सय रहेको छ। जर्मनीमा बिहीबार दिउँसोसम्म करिब एक लाख १३ हजारमा संक्रमण पुष्टि भएको छ भने २ हजार ३ सय ४९ को मृत्यु भएको छ।

त्यस्तै इरानमा २९ हजार ८ सय १२ निको भएका छन्। कोरोना भाइरस संक्रमणपछि इरानमा २९ हजार ८ सय १२, इटालीमा २६ हजार ४ सय ९१, अमेरिकामा २४ हजार एक सय २५, फ्रान्समा २१ हजार ४ सय६१ र स्विजरल्यान्डमा ९ हजार ८ सय जना निको भएका छन्।

त्यस्तै दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणपछि उपचार गराइरहेका भन्दा निको भएर घर फर्कनको संख्या धेरै रहेको छ। दक्षिण कोरियामा अहिलेसम्म संक्रमण पुष्टि भएका १० हजार ४ सय २३ मध्ये ६ हजार ९ सय ७३ जना निको भएका छन्। दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ४ रहेको छ।

अहिलेसम्म कोरोना भाइरसको औषधि पत्ता लागेको छैन। तर पनि बिरामी आफ्नै शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताका आधारमा निको भइरहेका छन्।

प्रतिक्रिया