नेपाली भूमि अतिक्रमण गर्दै भारतले मानसरोबरको बाटो खोल्यो

नेपाली भूमि अतिक्रमण गर्दै भारतले मानसरोबरको बाटो खोल्यो

काठमाडौं २६ वैशाख। भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोबर यात्राका लागि नयाँ बाटो खोलेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला–लिपुलेक लिंक रोड उद्घाटन गरेका हुन् । भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो । भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उत्तराखण्डको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ)ले कैलाश मानसरोबर रुटलाई चीनको बोर्डरसम्म जोडेको छ । कोभिड १९ को महामारी सामना गर्दै बीआरओले १७ हजार ६० फिट उचाईमा रहेको कैलाश मानसरोबरमा बाटो विस्तार गरेको हो ।’

‘सुगौली सन्धि विपरीत’

यो सडक मार्गले नेपाली भूमिलाई हस्तक्षेप गरेको सीमाविदहरु बताउँछन् । भुगोलविद प्रा.डा. नरेन्द्रराज खनाल त्यो बाटो नेपाली भूमि हुँदै गाएको बताउँछन् ।सन् १८१६ को सुगौली सन्धि अनुसार काली (महाकाली) नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको हो । प्रा.डा. खनाल लिम्पियाधुरा मुहान भएको नदी नै सीमा नदी भएकाले गुञ्जी, गब्र्याङ, कुटीयाङ्दी लगायतका सम्पूर्ण भूभाग नेपालको हो ।सर्वे अफ इन्डियाले नेपाली भूभागसमेत भारततर्फ पर्ने गरी नोभेम्बर २०१९ यता दुई वटा राजनीतिक नक्सा प्रकाशन गरेपछि नेपालमा त्यसको चर्को विरोध भयो ।

त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले लिपुलेकलाई व्यापारिक मार्गको रुपमा विकास गर्ने भनी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । त्यतिबेला उनीहरूले नेपाललाई कुनै जानकारी दिएको थिएन ।कालापानी क्षेत्र र नवलपरासीको सुस्तामा सीमा विवाद रहेको कुरा दुबै देशले स्वीकारेको छ । तर आफैले विवाद छ भनेर स्वीकारेको क्षेत्रमा एकलौटी रुपमा बाटो खोल्नु गलत भएको जनकारहरू बताउँछन् ।

नेपाल सरकारको दृष्टिकोण के हो ?

सर्वे अफ इन्डियाले निकालेको नक्साको जनस्तरमा व्यापक विरोध भएपछि नेपाल सरकारले कुटनीतिक नोट पठाएको थियो । तर भारतले अहिलेसम्म समस्या समाधान हुने गरी तत्परता देखाएको छैन ।भारत चुप लागेर बसे पनि नेपालले आफ्नो दृष्टिकोण स्पष्ट पार्नुपर्ने जानकारहरू बताउँछन् । पूर्व सचिव द्वारिकानाथ ढुंगेलका अनुसार यो महाकाली नदीको मुहानसँग जोडिएको मुद्दा हो ।

भारत आफैंले कालापानी र सुस्तामा विवाद छ भनेको बेला त्यसरी सडक खोल्नु सहमति विपरीत भएको ढुंगेल बताउँछन् ।‘कोभिड–१९ को मारमा परेका बेला भारतले सडक उद्घाटन गरेको खबर आयो’ सीमा बचाउ अभियानमा समेत सक्रिय पूर्वसचिव ढुंगेल भन्छन् ‘एउटा नागरिकको नाताले मेरो प्रश्न छ यो विषयमा नेपाल सरकारको दृष्टिकोण के हो ? दिल्लीस्थित नेपाली दुतावासले के खबर गर्यो ?’

प्रतिक्रिया