सीमा विवादबारे भारत र चीनसँग संवाद गर : कांग्रेस

सीमा विवादबारे भारत र चीनसँग संवाद गर : कांग्रेस

काठमाडौं वैशाख २९ गते ।  प्रमुख विपक्षी दल नेपाली कांग्रेसले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत सीमा विवादबारे भारत र चीन दुवै राष्ट्रसँग संवाद गर्नुपर्नेमा जोड दिएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गरी दुवै मित्रराष्ट्रसँग दिर्घकालीन समाधानका लागि सुस्पष्ट ढंगले उच्च स्तरीय कुटनैतिक पहल गर्न बताएका छन्।

‘हामी संसारका हरेक मुलुकको सार्वभौमकताको सम्मान गर्दछौं र नेपालका बारे अरु राष्ट्रसँग पनि त्यही अपेक्षा राख्दछौं। दुवै छिमेकी मित्र राष्ट्रसंग ‘प्रष्ट धारणा र ऐतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान’ नेपालको अहिलेको परिपक्व रणनीति हुनुपर्दछ, विज्ञप्तिमा भनिएको छ, ‘सामान्य वक्तव्य वा सामान्य नोट जारी गरेर नेपाल सरकारको दायित्व पूरा हुन्न ।’ नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गर्नु नेपालको स्वाधीनतामाथिको ठाडो हस्तक्षेप भन्दै कांग्रेसले त्यस्तो गतिविधि अस्वीकार्य हुने बताएको छ।

प्रतिक्रिया