भारतमा रोकिएका नेपालीहरूको एउटै गुहार ‘स्वदेश फर्किन पाऊँ’

भारतमा रोकिएका नेपालीहरूको एउटै गुहार ‘स्वदेश फर्किन पाऊँ’

भारतकाे विभिन्न स्थानमा अलपत्र दैलेखका नागरिकहरु ।

दैलेख वैशाख ३१ गते । दैलेखको भैरबी गाउँपालिकाका हर्कबहादुर थापा भारतको गुजरात राज्यको एक होटलमा काम गर्न थालेको बर्षौ बित्यो । गत मार्च २२ देखि उनिसँगै काम गर्ने अन्य साथीहरु समस्यामा परेका छन् । काम गर्ने ठाउँ बन्द छ । ‘होटल सञ्चालकले घर जाउँ मात्र भन्छन्,’ उनले भने ‘अलीअली बचेको पैसा पनि सकिईसक्यो ।’ उनिजस्तै रोजगारीका लागि गुजरात राज्यमा पुगेका दैलेखका हरि नेपाली भन्छन् ‘महिनाभरी कामको तलब घरखर्च चलाउन पठाउनुपर्छ, यहाँ कमाएको पैसा नपठाए घर परिवारको दैनिक गुजारा चल्दैन्, आफुसँग राखेको अलीअली खर्च समेत सकियो ।’
कोरोना महामारी नियन्त्रण गर्न भारत सरकारले गरेको लकडाउनका कारण सास्ती खेप्ने उनिहरुमात्रै होइनन् । गुजरातमा मात्रै दैलेखका सयौ नेपाली उनिहरुको जस्तो दुःख खेप्नु परेको छ । घरबाट परिवारले लिने चिन्ता बेग्लै छ । त्यहाँ रहेका चेतन कुमाल भन्छन् ‘भोकै मरिने भइयो, काम पनि छैन्, खान पनि छैन् जन्मथलो नगई कुनै उपाए छैन् ।’ नेपाल फर्किन पाउने दिन कुरेर बसेको उनले बताए । भारतको गुजरात राज्यमा काम गर्ने सबैको अवस्था त्यस्तै हो ।
गुजरातमा रहेका दैलेखका धर्मबहादुर थापाका अनुसार दैलेखको भैरबी गाउँपालिका र दुल्लु नगरपालिकाका मात्रै सयौ नेपाली कामदार छन् । उनका अनुसार दैलेखको भैरबी गाउँपालिकाका झण्डै एक हजार पाँच सय र दुल्लु नगरपालिकाको झण्डै एक हजार नेपाली गुजरातमा समस्या झेल्दै आएको छन् ।

हरेक महिना घरमा पैसा पठाउनुपर्ने बाध्यताले आफुहरुसँथ धेरै बचत नभएको उनले सुनाए । ‘हरेक महिना कमाएको पैसा पठाउने गथ्र्यौ, यस्तो होला भनेर सोचेका पनि थिएनौ,’ उनले भने ‘यहाँ रहेका सबै नेपाली घर जान पाउने आशमा छन्, जसरी भएपनि घर जान चाहान्छौ ।’ सरकारले खर्च गरेर नेपाल लैजान सक्दैन भनेपनि आफुहरु हिडेरै भएपनि नेपाल आउने उनले बताए । नेपालमा जति दिन क्वारेन्टाइनमा बस्न पनि तयार रहको त्यहाँ रहेका नेपालीहरुको भनाई छ ।
भारतमा सबै भन्दा बढि समस्या होटल, रेस्टुराँमा कुक, वेटर काम गर्नेहरु र अन्य ज्यालादारीमा काम गर्नेहरुलाई भएको छ । सबै होटल तथा रेस्टुँराहरु बन्द छन् । लकडाउन लम्बिँदै जाँदा उनिहरुको दुःख पनि बढ्दै गएको छ । गत शुक्रवार प्रतिनीधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विभिन्न मुलुकका अलपत्र परेका र विदेशबाट फर्कन चाहाने नेपालीहरुलाई तत्कालै स्वदेश फर्काउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको खबर सुनेका त्यहाँ रहेका नेपाली कामदारहरुमा घर फर्कन पाइने आशामा छन् ।

प्रतिक्रिया