विश्‍वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो

विश्‍वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो

५० लाखभन्दा बढी निको भए, करिब ५ लाखको मृत्यु

काठमाडौँ असार १४ गते । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या एक करोड नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार आइतबार दिउँसो कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड नाघेको हो ।यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न देशमा गरी संक्रमितको संख्या एक करोड एक हजार ५ सय २७ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ९९ हजार १ सय २४ रहेको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये ५० लाख ६५ हजारभन्दा बढी निको भएका छन् ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा आइतबार दिउँसोसम्म २५ लाखभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा एक लाख २५ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा निको हुनेको संख्या करिब ६ लाख ८० हजार रहेको छ । त्यस्तै अमेरिकापछि सबैभन्दा बढी प्रभावित ब्राजिलमा करिब १३ लाख १३ हजार संक्रमित भएका छन् भने करिब ५७ हजारको मृत्यु भएको छ । ब्राजिलमा ७ लाख २७ हजारभन्दा बढी निको भएका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेको रुसमा संक्रमितको संख्या करिब ६ लाख ३३ हजार नाघेको छ । रुसमा कोरोना संक्रमणबाट ९ हजार ६० जनाको मृत्यु भएको छ । रुसका ३ लाख ९८ हजारभन्दा बढी निको भएका छन् ।कोरोना भाइरसको संक्रमणको हिसाबले भारत अमेरिका, ब्राजिल र रुसपछि चौथो स्थानमा रहेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख २८ हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजारभन्दा बढी नाघेको छ । संक्रमण पुष्टि भएकामध्ये करिब ३ लाख ९ हजार निको भएका छन् । विश्वका विभिन्न देशमा लकडाउन खुकुलो गरेसँगै कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । विश्व स्वास्थ्य संगठनले संक्रमण अझ बढ्न सक्ने चेतावनी दिँदै पूर्वसावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया