न्यायका लागि भोकै लडेकी इब्रु टिमटिकले २३८औं दिनमा प्राण त्यागिन्

न्यायका लागि भोकै लडेकी इब्रु टिमटिकले २३८औं दिनमा प्राण त्यागिन्

एजेन्सी -आफू र केही साथीहरुको मुद्दाको निष्पक्ष न्यायिक निरुपणका लागि लड्दालड्दै कुर्दिस–टर्किस मानवअधिकारवादी वकिल इब्रु टिम्टिकको मृत्यु भएको छ ।आफू र साथीहरुको मुद्दाको निष्पक्ष न्यायिक निरुपणको माग गर्दै भोकहड्तालमा बसेकी टिमटिकको अगस्ट २७ मा मृत्यु भएको हो । भोकहडताल बसेको २३८औं दिनमा उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।

४२ वर्षीया टिमटिक, टर्की सरकारको आलोचना गरेकै आरोपमा जेल सजाय भोगिरहेका व्यक्तिहरुको मुद्दा लड्ने १८ जना वकिलहरुको समूहकी एक सदस्य थिइन् । जसलाई सन् २०१७ को सेप्टेम्बरमा पक्राउ गरिएको थियो । भोकहड्तालका कारण टिमटिक निकै दुब्लाएकी थिइन् । मृत्यु हुने बेला उनको शरीरको तौल ३० किलो मात्र भएको उनका साथीहरुले बताएका छन् ।टिमटिक र उनका साथी आयटाक उन्साललाई इस्तानबुलको सिलिव्री जेलमा राखिएको थियो । स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि उनीहरुलाई अस्पताल सारिएको थियो । गत फेब्रुअरीमा उनीहरुले जेलमै भोकहड्ताल सुरु गरेका थिए ।

गत अक्टोबरमा टर्कीको पुनरावेदन अदालतले टिमटिकसहित १८ जनालाई तल्लो अदालतले सुनाएको लामो जेल सजायको फैसललाई सदर गरेको थियो । उनीहरुलाई प्रतिबन्धित माक्र्सवादी संगठनमा आबद्ध भएको आरोपमा मुद्दा चलाइएको थियो । टिमटिक र अन्य १७ जना वकिललाई क्रान्तिकारी जनमुक्ति पार्टी फ्रन्ट(डीएचकेपीसी) सँग आबद्ध भएको आरोप लागेको थियो । उक्त संगठनलाई टर्की, अमेरिका र युरोपेली युनियनले आतंकवादी संगठनको संज्ञा दिएका थिए ।

टिमटिकलाई १३ वर्ष ६ महिना र उन्साललाई १० वर्षभन्दा बढी जेल सजाय सुनाइएको थियो । वकिलहरुको समूहले भने आफूहरुमाथि लगाइएको मुद्दामा अदालतले विश्वसनीय प्रक्रिया नचालेको भन्दै पुनरावेदन अदालत गएका थिए । तर पुनरावेदनले तल्लो अदालतको फैसलालाई नै सदर गरिदिएको थियो ।टर्कीको प्रतिपक्षी पार्टी पिपुल्स डेमोक्रेटिक पार्टीका सांसद गारो पेलानले ‘सत्तामा रहेका तानाशाहहरुले टिमटिकको हत्या’ गरेको आरोप लगाएका छन् । टिमटिकको मृत्युपछि उनको समर्थनमा टर्कीमा विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् । ‘इब्रु टिमटिक अमर छिन्’ भन्दै उनको समर्थनमा धेरै ठाउँमा प्रदर्शन भइरहेको छ ।

यसै वर्ष वामपन्थी विचारधारामा आस्था राख्ने लोक ब्यान्डका दुई जना संगीतकारको पनि भोकहड्तालकै क्रममा मृत्यु भएको थियो । गत अप्रिल ३ मा सांगीतिक समूह ‘ग्रुप योरम’ २८ वर्षीया गायिका हेलिन बोलेकको भोकहड्तालका क्रममा मृत्यु भएको थियो । प्रतिरोधि गीत गाएकै आरोपमा उनीहरुको सांगीतिक समूहलाई प्रतिबन्ध लगाइएको थियो । भोकहड्तालका क्रममा उनको २८८औं दिनमा उनको मृत्यु भएको थियो । त्यस्तै उक्त समूहकै सदस्य इब्राहिम गोकेकको पनि गत मेमा भोकहड्ताल बसेको ३२३औं दिनमा मृत्यु भएको थियो । त्यस्तै गत अप्रिलमै अर्का संगीतकार मुस्तफा कोकाकको पनि भोकहड्तालकै क्रममा मृत्यु भएको थियो । भोकहड्ताल सुरु गरेको २९७औं दिनमा उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया