बंगलादेशमा बलात्कारका अपराधीलाई मृत्युदण्ड दिन सकिने कानुनी प्रावधान जारी

बंगलादेशमा बलात्कारका अपराधीलाई मृत्युदण्ड दिन सकिने कानुनी प्रावधान जारी

ढाका : बंगलादेशमा अब बलात्कारका अपराधीलाई मृत्युदण्ड दिन सकिने कानुनी प्रावधान जारी गरिएको छ ।यहाँको सरकारले हालै कानुन संशोधन गरी बलात्कारको अपराधको हकमा अधिकतम सजायको रुपमा मृत्युदण्डसम्म दिन सकिने कानुनी प्रावधान जारी गरिएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट यही मंगलबार उक्त कानुन जारी हुनेछ । स्थानीय मिडियाका अनुसार गत साता एक महिलाको सामूहिक बलात्कार गरिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोधप्रदर्शन सुरु भएको थियो। सोही विषयलाई लिएर राजधानी ढाकामा विशाल प्रदर्शन भएको थियो । धेरैले गृहमन्त्रीको राजीनामा र बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग राखेका थिए।प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा सोमवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कानुन संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशबाट नयाँ कानुन ल्याउने निर्णय गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

बंगलादेशमा पछिल्लो समय बलात्कार तथा सामूहिक बलात्कारका घटना बढ्न थालेपछि यस्तो अवस्थालाई सम्बोधन गर्न नयाँ कानुन ल्याउन सरकारलाई दबाब परेको बताइन्छ । ज्यान मार्ने धम्की दिँदै बलात्कार गरेका वा अन्य सामूहिक बलात्कारका भिडियो सार्वजनिक भएपछि संघसंस्था र अधिकारकर्मीले यसविरुद्ध कानुन बनाउनुपर्ने माग गर्दैआएका थिए ।बीबीसमा प्रकाशित समाचारमा उल्लेख भए अनुसार ऐन ओ सलिश केन्द्र नामक एक मानवाधिकारवादी संस्थाले ९ महिनाको अवधिमा बंगलादेशमा कम्तीमा ९ सय ७५ जना महिला बलात्कृत भएको तथ्यांक सार्वजनिक गरेको छ । र तीमध्ये २ सय भन्दा बढी घटना सामूहिक बलात्कारका थिए।साथै पीडितमध्ये ४३ जनाको हत्या भएको र १२ जनाले आत्महत्या गरेको उक्त संस्थाको तथ्याङ्क छ। यद्यपि धेरै घटना जानकारीमा नआउने भएकाले बाङ्गलादेशमा बलात्कारको वास्तविक सङ्ख्या धेरै भएको अनुमान गरिएको छ।

प्रतिक्रिया