को हुन् अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित ह्यारिस ?

को हुन् अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित ह्यारिस ?

काठमाडौं कात्तिक २३ गते । अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बन्ने निश्चित भएकी कमल ह्यारिसका थप पृथक पहिचान पनि छन्– उनी अश्वेत हुन् र उपराष्ट्रपति बन्ने पहिलो एसिया–अफ्रिकी मूलकी हुन् । अगष्ट महिनामा अमेरिकाको डेमोक्रेटिक पार्टीले उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यसअघि उनी राष्ट्रपतिको उम्मेदवार बन्ने सोचमा थिइन् । तर, उनको उम्मेदवारीको दौड सकिएपछि बाइडनले उनलाई साथै लिएर निर्वाचन लड्ने निर्णय गरेका हुन् ।कमला ह्यारिस पहिलो अश्वेत महिला उपराष्ट्रपति बन्नुभन्दा उनले धेरै विधामा पहिलो बन्ने रेकर्ड राखिसकेकी छिन् ।

बाराक ओबामासँग नजिक

कमला ह्यारिस अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको निकट मानिन्छिन् । उनलाई बाराक ओबामाले पनि धेरै निर्वाचनमा समर्थन गरेका थिए, जसमध्येको एक निर्वाचन सन् २०१६ को सिनेटको निर्वाचन पनि हो । ओबामा अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति हुन् । उनकै पाइला पछ्याउँदै अहिले ह्यारिस पहिलो अश्वेत उपराष्ट्र बन्ने पक्का भएको छ ।

कमला ह्यारिसका पिता जमैकाका थिए भने आमा भारतीय नागरिक थिइन् । उनका पिता डोनाल्ड ह्यारिस जमैकाका अश्वेत नागरिक हुन् । उनी अर्थशास्त्रका प्राध्यापक थिए । ह्यारिसकी आमा श्यामला गोपालन भारतको चेन्नईमा जन्मिएकी क्यान्सर रिसर्चर तथा नागरिक अधिकारवादी अभियान्ता हुन् । यद्यपि कमला ह्यारिस आफूलाई केवल अमेरिकी भन्न रुचाउँछिन् ।

बाल्यकाल

कमला ह्यारिसको जन्म सन १९६४ मा अमेरिकाको क्यालिफोर्नियास्थित अकल्याण्डमा भएको हो । उनी सात वर्षको हुँदा उनका बाबुआमाको सम्बन्धविच्छेद भएको थियो । त्यसपछि उनी र उनकी बहिनी आमासँगै बस्न थाले । श्यामलाले उनीहरुलाई भारतीय संस्कार र हिन्दू संस्कृति सिकाउँथिन् । कमला ह्यारिस १२ वर्षको हुँदा क्यानडाको क्युबेक गएका थिए । क्युबेकमा बस्दा उनले फ्रान्सेली भाषा सिक्ने मौका पाएकी थिइन् । साथै उनीप्रतिको राजनीतिक अभिरुचि पनि जागृत भएको थियो । त्यहाँ उनले घरधनीहरुले आफ्नो मैदानमा छिमेकका बालबालिकाहरुलाई खेल्न नदिने गरेको विषयमा आन्दोलन गरेकी थिइन् ।

ह्यारिसले क्यानडाको वेस्टमाउन्ट हाइस्कुलमा अध्ययन गरेकी थिइन् । तर, पछि उनी पुनः अमेरिका फर्किएर क्यालिफोनिर्याको होवार्ड युनिभर्सिटीमा अध्ययन गरेकी थिइन् । उनी लिबरल आर्टस् काउन्सिलका लागि निर्वाचित भएकी थिइन् र डिकेट टोलीमा सामेल भएकी थिइन् । सो क्रममा उनले राजनीति शास्त्र र अर्थशास्त्रको अध्ययन गरेकी थिइन् । अध्ययन पश्चात् उनी कानुनको अध्ययनका लागि युनिभर्सिटी अफ क्यालिफोर्नियामा गएकी थिइन् ।

राजनीतिक करियर

सन् १९९० मा कमला ह्यारिस क्यालिफोर्नियाको अलामेडाको सहायक डिस्ट्रिक अधिवक्ता बनेकी थिइन् र राजनीतिक करियरमा उनको यो पहिलो पाइला हो । सन् १९९८ मा उनी सन्फ्रान्सिस्को डिस्ट्रिक एटोर्नी कार्यालयको करियर क्रिमिनल युनिटकी म्यानेजिङ एटोर्नी (अधिवक्ता) बनेकी थिइन् ।

सन् २००३ मा उनी आफ्ना पुराना हाकिमलाई हराउँदै सन्फ्रान्सिस्कोको शीर्ष अधिवक्ता बनेकी थिइन् । उनले आफ्नो कार्यकालमा केही राम्रो काम गरेपनि प्रहरी अधिकारीको हत्यामा संलग्नलाई मृत्युदण्ड दिलाउने प्रयास नगरेको भन्दै उनको आलोचना भएको थियो । ह्यारिसले आफ्नो राजनीतिक सक्रियता कायम राखिन् र सन् २०१० मा उनी क्यालिफोर्नियाको महान्यायाधिवक्तामा निर्वाचित भइन् । यो पदमा पुग्ने उनी पहिलो अश्वेत र महिला पनि हुन् ।सन् २०१६ मा ह्यारिस क्यालिफोर्नियाबाट संसद्मा प्रतिनिधित्व गरिसकेका लोरेट्टा सान्चेजलाई हराउँदै सिनेटमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गरेकी थिइन् । उनी सिनेट प्रवेश गर्ने दोस्रो अश्वेत महिला हुन् ।

व्यक्तिगत जीवन

सन् २०१४ मा ह्यारिसले अधिवक्ता डोउग्लास इम्होफसँग विवाह गरेकी थिइन् । उनीहरुका दुई सन्तान छन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया