विहार चुनाव : बीजेपी नेतृत्वको एनडीएलाई बहुमत

विहार चुनाव : बीजेपी नेतृत्वको एनडीएलाई बहुमत

काठमाडौँ :  विहारमा फेरि एक पटक राष्ट्रिय लोकतान्त्रिक गठबन्धन(एनडीए) ले सरकार बनाउने भएको छ । विभिन्न तीन चरणमा सम्पन्न विहार विधानसभा चुनावमा भारतीय जनता पार्टी(बीजेपी) नेतृत्वको एनडीएले बहुमत प्राप्त गरेपछि फेरि सरकार बनाउने भएको हो ।

विहारमा सरकार बनाउन १२२ सिट आवश्यक पर्नेमा एनडीएले १२५ सिटमा जित हात पारेको छ । जसमा बीजेपीले ७४ सिटमा जित हात पारेको छ । त्यस्तै मुख्यमन्त्री नीतीश कुमारको जनता दल युनाइटेड(जेडीयू) ले ४३ सिटमा जित हात पार्दा गठबन्धनमा रहेका हिन्दुस्तान अवाम मोर्चा(हम) र विकासशील इन्सान पार्टी(भीआईपी) ले समान ४–४ सिटमा जित हात पारे ।

चुनावमा एनडीएलाई कडा टक्कर दिएको महागठबन्धन भने बहुमतको आंकडाबाट थोरै पछि रह्यो ।पूर्वमुख्यमन्त्री लालप्रसाद यादवका छोरा तेजस्वी यादव अध्यक्ष रहेको राष्ट्रिय जनता दल (आरजेडी) नेतृत्वको महागठबन्धनले कुल १ सय १० सिटमा जित हात पाऱ्यो । आरजेडी ७५ स्थानमा जित हात पार्दै सबैभन्दा ठूलो दल बनेको छ । महागठबन्धनमा रहेको भारतीय राष्ट्रिय कांग्रेसले १९ सिटमा जित हात पारेको छ ।

त्यस्तै महागठबन्धमा रहेका कम्युनिस्ट पार्टी अफ इन्डिया(माक्र्सिस्ट–लेनिनिस्ट) (लिबरेसन) ले १२, कम्युनिस्ट पार्टी अफ इन्डियाले २ र कम्युनिस्ट पार्टी अफ इन्डिया(माक्र्सिस्ट) ले २ सिटमा जित हात पारेका छन् ।

त्यस्तै लोकसभा सदस्य असदुद्दीन ओवैसी नेतृत्वको पार्टी अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमीनले यस पल्टको चुनावमा राम्रो नतिजा हासिल गरेको छ । उसले ५ सिटमा जित हात पारेको छ । त्यस्तै बहुजन समाज पार्टीले पनि एक सिटमा जित हात पारेको छ । जेडीयस्को विरोध गर्दै चुनावी मैदानमा एक्लै उत्रिएको चिराग पासवानको लोक जनशक्ति पार्टी (एलजेपी) ले केवल एक सिटमा जित हात पारेको छ । एक सिटमा भने निर्दलीय उम्मेदवार विजयी भएका छन् ।

यस पटक वामपन्थी दलहरुको प्रदर्शन भने तुलनात्मक रुपमा राम्रो देखिएको छ । कुल २९ सिटमा उम्मेदवार उतारेका वाम दलले १६ सिटमा जित हात पारेको छ । २०१५ मा वाम दलले ३ सिटमा मात्रै जित हात पारेका थिए ।

२०१५ को विधानसभा चुनावमा भने आरजेडी ८० सिट, बीजेपी ५३, जेडीयू ७१, कांग्रेस २७, एलजेपी २ र अन्य १० सिटमा विजयी भएका थिए । २०१५ को तुलनामा बीजेपीले यस पटक २१ सिट बढी जितेको छ भने जेडीयूले २८ सिट कम जितेको छ । त्यस्तै आरजेडीले २०१५ को तुलनामा ५ सिट कम जित्दा कांग्रेसले ८ सिट कम जितेको छ ।

विहार विधानसभाको चुनाव अक्टोबर २८, नोभेम्बर ३ र ७ मा गरी तीन चरणमा सम्पन्न भएको थियो । कोभिड १९ को महामारीका कारण चुनावी नतिजा प्रकाशनमा यसपटक केही ढिलाइ भएको आयोगले जनाएको छ ।

भाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने जनाउँदै यसपटक मतदान केन्द्रको संख्या ७२ हजार ७ सय २३ वटा थप गरिएका थियो । जसका कारण मतगणनामा ढिलाइ भएको जनाइएको छ । यसपटकको चुनावामा ३ हजार ७ सय ५५ उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् ।तीन चरणको मतदानका क्रममा कोभिड–१९ बाट जोगिन मतदाताहरूलाई आधारभूत मापदण्डहरू अपनाउन निकै कडाइ गरिएको थियो । मतदानका बेला अपनाउनुपर्ने मापदण्डबारे निर्वाचन आयोगले निर्देशिका बनाएर जारी गरेको थियो ।

मापदण्डमा विद्युतीय मतदान यन्त्रलाई सेनिटाइज, अनिवार्य मास्कको प्रयोग, प्रतिरक्षात्मक साधनहरूको प्रयोग गरिएको थियो । त्यसका साथै सम्पूर्ण मतदातालाई सेनिटाइजर, साबुनपानी उपलब्ध गराइएको थियो ।

गत वर्षको लोकसभा चुनावपछि भएका राज्य चुनावहरूमा एकपछि अर्को हार बेहोरेकाले पनि नरेन्द्र मोदी सरकार र बीजेपीका लागि पनि विहारको चुनाव परीक्षाका रूपमा हेरिएको थियो । कोभिड–१९ को महामारीबीच भारतमा पहिलोपटक चुनाव भएकाले पनि यसमार्फत् महामारी रोकथामका लागि सरकारले गरेको प्रयास र प्रदेश सरकारका ५ वर्षका कामप्रति जनताले अनुमोदन गरेको बीजेपीको दाबी छ ।

विहारमा गत वर्षको लोकसभा चुनावमा सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले राज्यका सबै ४० सिट जितेको थियो ।

उपचुनावमा पनि बीजेपीको ठूलो जित

विहार विधानसभा चुनावसँगै विभिन्न राज्यमा भएका उपचुनावमा पनि बीजेपीलाई सफलता हात परेको छ । मध्यप्रदेशमा २८ सिटका लागि भएको उपचुनावमा बीजेपीले १९ सिटमा जित हात पारेको छ । मध्यप्रदेशमा ९ सिटमा कांग्रेसले जितेको छ । जितसँगै मध्यप्रदेशमा शिवराजसिंह चौहानको सरकार पनि जोगिएको छ । मध्यप्रदेशमा कांग्रेस सांसदले विद्रोह गर्दै बीजेपी प्रवेश गरेपछि उनीहरुलाई अयोग्य घोषित गरिएको थियो । त्यसपछि त्यहाँ उपचुनाव गराई रिक्त सिट पूर्ति गरिएको हो ।

त्यस्तै उत्तर प्रदेशमा उपचुनाव भएका ७ मध्ये ६ मा बीजेपी र एकमा समाजवादी पार्टीले जित हात पारेको छ । गुजरातमा उपचुनाव भएका ८ सिटमै बीजेपीले जितेको छ ।

प्रतिक्रिया