अस्ताए फुटबल लिजेन्ड म्याराडोना

अस्ताए फुटबल लिजेन्ड म्याराडोना

ब्युनस आयर्स : सर्वकालीन महान् फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको छ। अर्जेन्टिनी फुटबल लिजेन्ड म्याराडोनालाई ब्युनस आयर्सस्थित निवासमा हृदयाघात भएको जनाइएको छ।  उनको मस्तिष्कमा रगत जमेपछि यसै महिनाको प्रारम्भमा शल्यक्रिया गरिएको थियो। त्यसयता उनी घरमै स्वास्थ्यलाभ गर्दै आइरहेका थिए। मद्यपानको लत छुटाउन पनि उनको उपचार भइरहेको थियो।

अर्जेन्टिनाले सन् १९८६ मा विश्वकप फुटबलको उपाधि जित्दा उनी टोलीका कप्तान थिए। उक्त विश्वकपमा इङ्ल्यान्डविरुद्घको खेलमा उनले गरेको गोललाई सायदै विश्व फुटबलले कहिल्यै भुल्न सक्ला। म्याराडोनाकै चामत्कारिक प्रदर्शनका कारण अर्जेन्टिनाले उक्त विश्वकप जितेको थियो।उनले इङ्ल्यान्डविरुद्घको क्वार्टरफाइनल खेलमा हातले गोल गरेका थिए। यद्यपि, उक्त गोल म्याराडोनाको हातबाट भएको थियो भन्ने रेफ्रीले पत्तो पाउन सकेनन्। त्यसको रहस्य खुलेपछि म्याराडोनाले उक्त गोललाई ‘भगवान्को हातबाट भएको गोल’को संज्ञा दिएका थिए।

अर्जेन्टिनी फुटबल संघले बुधबार विज्ञप्ति जारी गरी म्याराडोनाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। ‘महान् खेलाडीको निधनबाट हामी स्तब्ध भएका छौं। भौतिक रूपमा हामीमाझ नरहे पनि उहाँ हाम्रो मनमस्तिष्कमा सधंै जीवितै रहनुहुन्छ’, विज्ञप्तिमा भनिएको छ।अर्जेन्टिनी राष्ट्रिय टोलीका पूर्वप्रशिक्षकसमेत रहेका म्याराडोना विश्व फुटबलका महान् खेलाडी हुन्। उनले अर्जेन्टिनालाई सन् १९९० को विश्वकपको फाइनलमा पनि पुर्याएका थिए। त्यसबेला अर्जेन्टिना फाइनलमा पश्चिम जर्मनीसँग पराजित भएको थियो।

सन् १९९४ को विश्वकपमा पनि उनी अर्जेन्टिनी टोलीमा थिए। तर, डोपिङ (प्रतिबन्धित औषधि सेवन परीक्षण)मा असफल भएपछि उनलाई घर फर्काइएको थियो। त्यसपछि उनी लागुऔषधको कुलतमा फसेका थिए। त्यसअघि सन् १९९१ मा लागुऔषध सेवन गरेको अभियोगमा उनी डेढ वर्ष प्रतिबन्धमा परेका थिए।अर्जेन्टिनाका लागि म्याराडोनाले सन् १९७७ देखि सन् १९९४ सम्म खेलेका थिए। उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका छन्। सन् २००८ देखि सन् २०१० को विश्वकपसम्म म्यारोडोना अर्जेन्टिनी टोलीका मुख्य प्रशिक्षक थिए।

म्यारोडोनाले चर्चित स्पेनिस क्लब बार्सिलोना, इटालियन क्लब नापोली, स्पेनिस क्लब सेभिलजस्ता प्रतिष्ठित युरोपियन क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए। अर्जेन्टिनोस जुनियर्सबाट व्यावसायिक फुटबल सुरुआत गरेका उनले सन् १९८१ देखि सन् १९८२ सम्म बोका जुनियर्सबाट ब्यवसायीक फुटबल खेलेका थिए।त्यसपछि उनी बार्सिलोनामा आवद्ध भएका थिए। उनले सन् १९८२ देखि सन् १९८४ सम्म बार्सिलोनाका लागि ३६ खेल खेल्दै २२ गोल गरेका थिए। यसैगरी सन् १९८४ देखि सन् १९९१ सम्म इटालियन क्लब नापोलीबाट उनले फुटबल खेलेका थिए। नापोलीका लागि एक सय ८८ खेलमा ८१ गोल गरेका थिए।
नापोलीबाट स्पेनिस क्लब सेभिल पुगेका उनले त्यहाँ एक सिजन बिताएका थिए। सेभिलमा उनले २६ खेलमा पाँच गोल गरेका थिए। उनले क्लब फुटबलको अन्त्य सन् १९९७ मा बोका जुनियर्सबाट गरेका थिए। त्यतिबेला उनी केवल ३७ वर्ष पुगेका थिए।

विश्व फुटबलमा म्याराडोना र ब्राजिलियन फुटबल हस्ती पेलेमध्ये को महान भन्ने भनेर विवाद हुँदै आएको छ। दशकौं बितिसक्दा पनि म्याराडोना र पेलेको विषयले विश्व फुटबललाई उत्तिकै तताउने गरेको छ। उनै ब्राजिलियन फुटबल लिजेन्ड पेलेले पनि म्याराडोनाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। ‘यो समाचारले म स्तब्धः बनेको छु। विश्व फुटबलमा यस्तो सुनौलो दिन पनि थियो, जति बेला हामी दुबै एउटै आकाशमुनि सँगसँगै फुटबल खेल्थ्यौं। आज तिम्रो निधनको खबरले म मर्माहत बनेको छु’, पेलेले भनेका छन्।

पेलेसँगै विश्वभरका फुटबलर खेलाडी, क्लब, प्रशिक्षक र फुटबलप्रेमीले म्याराडोनाको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। एक प्रसंगमा म्याराडोनाको चर्चा नेपालसँग पनि जोडेने गरेको छ। फकल्यान्ड युद्धमा गोर्खालीले देखाएको बहादुरीको प्रसंगलाई जोडेर म्याराडोनाले भनेका थिए रे, ‘धन्य फुटबल मैदानमा गोर्खालीहरू छैनन्।’ यद्यपि, यो कुराको आधिकारिकताको विषयमा प्रश्न उठाइने गरे पनि विभिन्न पुस्तकमा यसको उल्लेख पाइन्छ। 

प्रतिक्रिया