कोभिड–१९ को असर : लैङ्गिक तथा घरेलु हिंसामा बढोत्तरी

          |   प्रकाशित मितिः शुक्रबार, मंसिर १२, २०७७     ::: 201 पटक पढिएको   |  
सांकेतिक तस्विर

दैलेख : लैङ्गिकताका आधारमा हुने हिंसाले महिलालाई शारीरिक, मानसिक वा यौनजन्य क्षति तथा पीडा पु¥याउँछ । महिलाको स्वतन्त्रतामा बन्देज लगाउन लैङ्गिक हिंसा हुने गरेका छन् । परिवारका सदस्यद्वारा गरिने शारीरिक, मानसिक, आर्थिक सामाजिक र यौनजन्य क्रियाकलापहरूलाई घरेलु हिंसाको श्रेणीमा राखिएको छ । महिलाले पुरुष माथि गरिने हिंसा पनि घरेलु हिंसा हो तर हाम्रो जस्तो पुरुष प्रधान समाजमा पुरुषबाट महिला नै बढी पीडित भइरहेका छन् । घरेलु तथा लैङ्गिक हिंसा न कुनै जाति बिषेश छ नत कुनै बर्ग बिशेष सीमित छैन ।
जिल्ला प्रहरी कार्यालय दैलेखको पछिल्लो दुई बर्षको तथ्यांक अनुसार आर्थिक वर्ष ०७५\०७६ मा कुल एक सय ७९ घटना मध्ये ६७ र ०७६\०७७ मा कुल एक सय ६६ मध्ये ७० घटना महिला तथा बालवालिका संग सम्वन्धित छन् । यो भन्दा डरलाग्दो तथ्याङ्कको रुपमा चालु आर्थिक बर्षको पछिल्लो दुई महिनामै ५२ मुद्दा प्रहरीमा आएको छ । जसमा अधिकाँश घरेलु हिंसा, वालबिवाह, बहुबिवाह र कुटपिटको मुद्दा रहेको छन् ।

विशाल सुनार

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख अन्तरगत संचालित महिला तथा बालवालिका सेवा केन्द्र र बाल हेल्पलाइन १०९८ मा आएका मुद्दाहरुको चाङ धेरै छ । आर्थिक वर्ष ०७५\०७६ मा एक सय ५८ मुद्दा दर्ता भएको छन् । जस्मा ३६ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् भने जम्मा ८ वटा मुद्दा फैसला भएको अवस्था छ । त्यस्तै आव ०७६\०७७ मा कुल एक सय ६९ मुद्दामा ४५ मुद्दा दर्ता भई अदालती प्रक्रियामा पुगेका छन् । जस मध्ये जम्मा एक मुद्दा फैसला भएर किनारा लागेको अवस्था छ । र चालु आर्थिक बर्षको दुई महिनामा महिला र वालवालिका संग मात्र सम्वन्धीत ७८ मुद्दा दर्ता भएको अवस्था छ । गरिबी, अशिक्षा, बेरोजगारीका अलावा आधुनिक प्रबिधिको रुपमा घरघर र हातहातमा भएको मोवाइलको उचित सदुपयोग नहुनु पनि हिंसाको उपज बनेका छन् । महिलाहरुले स्वतन्त्रता उपयोग गर्न खोजेपछि घरेलु हिंसाको घटनाहरु बढ्दो छ ।
कोभिड–१९ को कारण लामो समयको बन्दाबन्दीले र निषेधाज्ञाले घरखर्च धान्न मजदूरी गर्ने वा रोजजारीमा भएका पुरुष रोजगारीका अवसरहरु खोसिएपछि घरमा आएका छन् । गाउँमा स्वरोजगारका काम पनि छैनन् । बेरोजगारीकै कारण कलह बढ्नुलाई कोभिडले पनि घरेलु हिंसा र लैंगिक हिंसा बढ्न थालेको छ । भारतबाट रोजगारी गुमाएर श्रीमान्संगै घर आएकी १९ वर्षीया झुमरी कामी २०७७ जेठ ३२ गते आत्महत्या गरिन् । २ हप्ता क्वारेण्टीनमा बसेर घर आएका श्रीमान्संगको विवादपछि नारायण नगरपालिका–३ कालिमाटीकी मनिषा बिकले २०७७ जेठ ३० गते बिष सेवन गरेर आत्महत्याको प्रयन्त गरिन्, तत्काल थाहा पाएर २ साता कर्णाली प्रदेश अस्पतालमा औषधि गरेर निको भयो । जानकारी नआएका यस्ता अनगिन्ती घटनाहरु छन् । कोरोना कहर अर्थात कोभिड–१९ को असरले महिला हिंसा र घरेलु हिंसा बढेको छ । रोकथामका लागि स्थानीय सरकारले स्वरोजगारमूलक कार्यक्रमहरु र पीडितहरुलाई मनोविमर्श सेवा जरुरी हुन्छ, तर यस तर्फ सरोकारवालाको ध्यान पुगेको छैन ।
कानुनी व्यवस्था र अभ्यास
घरेलु हिंसा कसुर र सजाय ऐन २०६६ ऐनको दफा २ को खण्ड क मा घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनुपर्छ भनेर स्पस्ट लेखेको अवस्था छ । यस सम्वन्धी नियमावली ०६७ पनि जारी भएको अवस्था छ । उक्त ऐन आउनु अघि मुलुकी ऐन २०२० को कुटपिट, बिहाबारी, जबर्जस्ती करणी, आशय करणी, हाडनाता करणी, अंशबन्डा, लाग्ने स्वास्नीको महल, गालीबेइज्जती ऐन २०१६ र केही सार्वजनिक (अपराध र सजाय) ऐन २०२८ लगायत कानुन प्रयुक्त थिए ।
दैलेख जिल्ला अदालतको तथ्याङकको अनुसार गत आर्थिक वर्षमा मात्र कुल ९० वटा सम्वन्ध बिच्छेदको मुद्दा परेको छ भने ६० पछ्¥यौट भएका र ३० मुद्दा बिचाराधीन रहेको छ । जस मध्ये अधिकाँश बाल बिवाहबाट उब्जेका हुन् । त्यस्तै २१ वटा बहुबिवाहका मुद्दा दर्ता भएकोमा १४ मुद्दा फैसला गरेको छ भने ७ मुद्दा फैसला हुन बाँकी छ । त्यस्तै गत वर्ष कुल ३ वटा वाल बिवाहको मुद्दा दर्ता भएकोमा १ पैmसला भएको छ भने २ वटा मुद्दा बिचाराधीन छन् । त्यस्तै जवरजस्ती करणीको कुल १९ मुद्दा चलेकोमा ८ मुद्दा फैसला भएको छ भने ११ फैसला हुन बाँकी छ । जवरजस्ती करणी उद्योगको ३ वटा मुद्दा फैसला भएको अवस्था छ । घरेलु हिंसा संगै जवरजस्ती करणीको घटना पनि बढ्दो छ । चालु आर्थिक बर्षको पहिलो चौमासिक आँकाडालाई नियाल्दा महामारीको यो बर्ष अपराधको घटनाले बढ्दै गरेको देखिएको छ ।
किन भइरहेको छ लैंगिक हिंसा र घरेलु हिंसा ?
समाजमा चेतनाको कमी, पितृसत्तात्मक सामाजिक संरचना, धार्मिक संस्कार, आर्थिक स्रोत–साधनमा पहुँचको कमी हिंसाका मुख्या कारण हुन् । घरेलु हिंसा भएको, भइरहेको वा हुन लागेको थाहा पाउने जो सुकैले प्रहरी कार्यालय, राष्ट्रिय महिला आयोग तथा स्थानीय प्रहरी प्रशासन समक्ष लिखित वा मौखिक उजूरी दिन सक्ने व्यवस्था छ तर पीडित स्वयम बाहेक समाजका अगुवा र जान्नेसुन्ने भनिएकाहरुले उजूरीले गर्ने प्रचलन सुरु भएका छैन ।
समाजमा बिभिन्न प्रकारका अपराधहरु तथा हिंसात्मक घटनाहरु भएपनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा महिला र वालवालिका माथिनै प्रभाव परिरहेको अवस्था छ । महिलाको सशक्तीकरण, नीति निर्माणको तहमा अर्थपूर्ण सहभागिता आवश्यक छ । महिलामुक्ति, लैगिंक समता, हिंसामुक्त समाज निर्माणको अभ्यास घरघरबाट र समुदायबाट थालिनुपर्छ । हिंसा मुक्त समाज निर्माणका लागि तयार भएका संरचनाहरु सक्रियता र प्रभावकारी कार्यान्वयन जरुरी छ ।



Leave a comment

Your email address will not be published.


*