३९६ पालिकामा १५ शय्याको अस्पताल !

          |   प्रकाशित मितिः सोमवार, मंसिर १५, २०७७     ::: 79 पटक पढिएको   |  

काठमाडौँ : सरकारले चालु आर्थिक वर्षमा एकैसाथ ३ सय ९६ स्थानीय तहमा १५ शय्याको अस्पताल बनाउँदै छ । तीमध्ये करिब २ सय ५० पालिकामा सोमबार अस्पतालको शिलान्यास गरिँदै छ ।सबै स्थानीय तहमा ५ देखि १५ शय्यासम्मका आधारभूत अस्पताल बनाउने सरकारको निर्णयअनुसार यसलाई नीति तथा कार्यक्रममा समावेश गरिएको थियो । अहिले ७ सय ५३ पालिकामध्ये १ सय ४ वटामा मात्रै विभिन्न तहका अस्पताल छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अस्पताल नरहेका ६ सय ४९ पालिकामा आगामी दुई वर्षभित्र कम्तीमा १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जानकारी दिए । ‘चालु वर्षमा ३ सय ९६ पालिकामा र अन्यमा आगामी वर्ष अस्पताल निर्माणको काम सुरु हुनेछ,’ उनले भने । नीति तथा कार्यक्रममा ५ देखि १५ शय्याको अस्पताल निर्माण गरिने भने पनि सबैतिर १५ शय्याकै अस्पताल बनाउने तयारी गरिएको डा. गौतमले जानकारी दिए ।

तत्कालै ५ शय्याको अस्थायी अस्पताल सञ्चालनका लागि पालिकामा १०/१० लाख बजेट पठाइसकिएको र त्यो कार्यान्वयनको चरणमा रहेको उनले बताए । ‘अब बन्ने आधारभूत अस्पताल स्थायी प्रकृतिका हुनेछन् । ती कम्तीमा १५ शय्याकै हुनेछन्,’ उनले भने, ‘आगामी दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी टेन्डर प्रक्रिया गर्न पालिकाहरूलाई भनिएको छ ।’

पालिकालाई यस वर्ष आंशिक र आगामी वर्ष बाँकी रकम पठाउने सरकारको तयारी छ । ‘बहुवर्षीय योजना हो, यसमा नेपाल सरकारको एक खर्बभन्दा बढी खर्च हुने अनुमान छ,’ डा. गौतमले भने । पालिकामा रहेका पुराना स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्रलगायत स्थान र पूर्वाधारलाई छानेर अस्पताल बनाउने तयारी गरिएको छ । ‘भौतिक पूर्वाधार निर्माणको क्रम चलिरहन्छ, त्योसँगै चिकित्सक र नर्स पठाउने काम पनि थाल्ने तयारीमा छौं,’ डा. गौतमले भने, ‘भवन निर्माणले केही समय लिए पनि अहिले भएकै पूर्वाधारबाट पनि सक्दो छिटो अस्पताल सञ्चालन गर्ने प्रयास रहनेछ ।’



Leave a comment

Your email address will not be published.


*