वैदेशिक रोजगारको नाममा मानव तस्कर बढ्दो

वैदेशिक रोजगारको नाममा मानव तस्कर बढ्दो

काठमाडौं : वैदेशिक रोजगारको नाममा मानव तस्कर बढेको विज्ञहरूले औंल्याएका छन्। सरकारको कमजोर प्रस्तुति तथा सम्बन्धित निकायसँग समन्वयको अभावले सर्वसाधारण मानव तस्करको फन्दामा पर्ने गरेका छन्।  वैदेशिक रोजगार पत्रकार समाजले हाम्रो सम्मान परियोजनासँगको सहकार्यमा बुधबार आयोजना गरेको ‘कोरोना महामारीको समयमा मानव तस्करीको अवस्था’ विषयक कार्यक्रममा बोल्ने वक्ताले तस्कर रोक्न सरकारको भूमिका गौण भएको बताए। प्रतिनिधिसभाकी सदस्य सांसद डा. डिला संग्रौलाले कोरोनाका कारण कतिपय गन्तव्य मुलुकमा वैधानिक बाटोबाट जान सहज नहुँदा युवा जस्तोसुकै जोखिम मोलेर वैदेशिक रोजगारीमा जान थाल्दा तस्करी बढेको बताइन्। 

कतिपय गन्तव्य मुलुकस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणको काम सहज नबनाइदिँदा राज्यकै कमजोरीका कारण युवा अवैध रुट तथा अवैध प्रक्रियामार्फत वैदेशिक रोजगारीमा जान बाध्य हुने गरेको डा. संग्रौलाको भनाइ छ। सरकारका सबै निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी मानव तस्करका घटना न्यूनीकरण गर्न विशेष भूमिका खेल्नुपर्ने बताइन्। मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी डा. देवबहादुर बोहराले कोभिडका कारण धेरै युवा बेरोजगार बनेको र विदेशबाट पनि रोजगारी गुमाएर फर्किने क्रम बढेकाले मानव तस्करीका घटनाले बढवा पाउँदै गएको बताए। ‘मानव तस्करीको घटना घट्नुभन्दा निरन्तर बढ्दो छ, ‘उनले भने, ‘मानव बेचबिखन ब्युरोले यो महामारीको बीचमै करिब ३२ जना मानव बेचबिखन तथा ओसारपसारमा संलग्न अपराधीलाई पक्राउ गरेको छ।’ वैदेशिक रोजगारीमा राम्रो काम र कमाइको प्रलोभनमा मानव तस्करीका घटना बढ्दै गएको उनको भनाइ छ। 

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले मानव तस्करका संस्थागत तथा व्यक्तिगत गिरोह सक्रिय रहेको बताए। वैदेशिक रोजगारीका नाममा ठगी तथा तस्करीका घटनामाथि निगरानी बढाएको र अपराधमा संलग्न व्यक्तिलाई कारबाही प्रक्रिया बढाइरहेको उनको भनाइ छ। मानव तस्करी नियन्त्रणमा विभागले मात्र नभएर सम्बन्धित सबै संयन्त्र सक्रिय हुनुपर्नेमा उनले जोड दिए। वैदेशिक रोजगारीमा जाने व्यक्ति पनि सचेत हुनुपर्नेमा उनले जोड दिए। वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ बेरोजगार समस्याका कारण मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै गएको बताए। कतिपय व्यक्ति तथा संस्थासमेत महत्वाकांक्षी हुँदा मानव बेचबिखनका घटना बढ्दै गएको उनको बुझाइ छ। ‘अहिले मागपत्र प्रमाणीकरण नभएका कारण पनि अनधिकृत रूपमा युवालाई गन्तव्य मुलुकमा पठाउने क्रम बढेको छ’, उनले भने।

प्रतिक्रिया