अध्यादेश जारीप्रति दाहालको आपत्ति

अध्यादेश जारीप्रति दाहालको आपत्ति

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेलगत्तै सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आपत्ति जनाएका छन् । उनले अध्यादेश असंवैधानिक भएको भन्दै तत्काल खारेजको माग गरेका छन् ।

नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले सरकारले अध्यादेश फिर्ता गर्न माग गरेका छन् ।
उनले भनेका छन् ‘फेरि अध्यादेश ! सत्ता स्वार्थको परकाष्ठा किन ? छलफल सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन । हतास मनस्थिति बाट मुक्त होऔ ।’

स्थायी कमिटी बैठक चलिरहेको बेला प्रधानमन्त्रीले पार्टीमा सल्लाहबिनै अध्यादेश जारी गरेको भन्दै अन्य नेताहरुले पनि आपत्ति जनाएका छन् । त्यसबारे औपचारिक धारणका लागि दाहालसहित सचिवालयका केही नेताहरु परामर्शमा जुटेका छन् ।

अध्यादेश जारीलगत्तै अध्यक्ष दाहालले राष्ट्रपति र प्रधानमन्त्रीको कदम खारेजको माग गरेका हुन् । ‘अध्यादेश जारी असंवैधानिक छ । यो खारेज हुनुपर्छ भन्ने अध्यक्षको भनाइ छ । अहिले अरु शीर्ष नेताहरु पनि परामर्शमा हुनुहुन्छ,’ दाहाल निकट एक नेताले भने ।

मंगलबार राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी छन् । मंगलबार बिहान बोलाइएको परिषद्को बैठक सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि स्थगित भएको थियो । त्यसलगत्तै आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशको सिफारिस गरेको बताइएको थियो । तर, मन्त्रिपरिषद् बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल नै नभएको एक मन्त्रीले बताए । यसअघि वैशाखमा पनि संवैधानिक परिषद् र दल विभाजन सम्बन्धी अध्यादेश आएपछि नेकपाभित्र विवाद भएको थियो । चौतर्फी विरोधपछि सरकारले अध्यादेश फिर्ता लिएको थियो ।

प्रतिक्रिया