मैले मित्रताको अंगालो हालेँ, प्रचण्ड धृतराष्ट्र बन्‍न खोज्‍नुभयो : ओली

मैले मित्रताको अंगालो हालेँ, प्रचण्ड  धृतराष्ट्र बन्‍न खोज्‍नुभयो : ओली

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता नटिक्नुको एउटै कारण अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको आरोप लगाएका छन्। राजधानीमा बुधबार सुरु भएको सुदूरपश्चिम प्रदेशका कार्यकर्ताको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन्। ओलीले पार्टी एकताको प्रस्ताव आफूले अघि बढाएको बताउँदै भने, ‘हाम्रा संविधानको सर्वोच्चताका नीति, कार्यदिशा एकै भएपछि अलग्गै बस्नुको अर्थ छैन भनेर मैले उहाँसँग प्रस्ताव राखेको थिएँ। हामी मिल्यौँ। तर यो एकता लामो समयसम्म नटिक्नुको कारण भने प्रचण्ड नै हो।’

ओलीले पार्टी एकता बचाउनका लागि प्रचण्डसँग धेरै सम्झौता गर्न बाध्य भएको बताउँदै भने, ‘प्रचण्डसँगका सम्झौताले ब्रिफकेस नै भरिएको छ। यति धेरै सम्झौता गर्नुपर्यो। जहिल्यै सम्झौता। जहिल्यै सम्झौता। मेरो एउटा ब्रिफकेस नै भरिएको छ प्रचण्डसँगका सम्झौताले गर्दा।ओलीले प्रचण्डले आफ्नी छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर लोकतन्त्रको उपहास गरेको आरोपसमेत लगाए। ‘प्रचण्डले कांग्रेसँग मिलेर पनि छोरी जिताउन गाह्रो थियो। छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर धुजाधुजा पार्नुभएको थियो,’ उनले भने।

ओलीले समयको डुंगा र अग्रगमनको डुंगा अघि बढिसकेको तर  प्रचण्ड-नेपाल पक्ष भने पश्चगमनतर्फ फर्किरहेको आरोप लगाए। ओलीको भनाइ छ, ‘उहाँहरू अघि बढ्न चाहनुभएन। गणतन्त्र र संविधानप्रतिको दृष्टिकोण सडकमा छर्नुभएको छ।’ ओलीले आफूले मित्रताको अंगालो हाल्न खोजे पनि प्रचण्ड धृतराष्ट्र बन्न बन्न खोजेको आरोप लगाए । ‘मैले मित्रताको अंगालो हाल्न खोज्ने  तर उहाँ धृतराष्ट्र बन्न खोज्नुभो। वामपन्थीसँग मिलेर चुनाव लड्ने तर सरकार दक्षणिपन्थीसँग बनाउन खोज्ने। कति लाजमर्दो कुरा ?’ ओलीले आफूले पहिलेदेखि नै प्रचण्डलाई षड्यन्त्रकारी प्रवृत्ति छोड्न पटकपटक आग्रह गर्दा पनि नबदलिएको बताए। ओलीले भने, ‘षड्यन्त्रकारी प्रवृत्ति छोड्नुस् भनेर मैले उहाँलाई सम्झाएँ। राजनीति धोका मात्र होइन इमान्दारिताका साथ जनताका सेवा गर्नु हो भनेँ। तीन वर्षमा डल्लाका डल्ला साबुन खर्च भयो। ट्यांकीका ट्यांकी पानी खर्च भयो। साबुन लगायो पखाल्यो उहाँ जस्ताको त्यस्तै।’

प्रतिक्रिया