कक्षा १२ को नतिजा एक सातामै आउने

कक्षा १२ को नतिजा एक सातामै आउने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साताभित्र प्रकाशित गर्ने भएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार नतिजा प्रकाशन सम्बन्धि काम अन्तिम चरणमा पुगेको छ । शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) संगको अन्तरक्रियामा विहिबार उनले यस्तो बताएका हुन् । उनका अनुसार विद्यालयबाट प्राप्त नतिजाको डाटा इन्ट्री गरेर रुजुको काम भइरहेको छ । ४० प्रतिशत रुजु सकिसकेको पनि उनले बताए । 

अहिलेको कामको गति अनुसार प्रक्रिया अघि बढेमा एक साताभित्रमा नतिजा सार्वजनिक गर्न सकिने पौडेलले बताए । कोभिड १९ का कारण कक्षा १२ को परीक्षा सञ्चालनको जिम्मेवारी यसपटक बोर्डले सम्बन्धित विद्यालयलाई नै दिएको थियो । बोर्डले कुल पूर्णाङकको ४० प्रतिशत मात्रै लिखित परीक्षा सञ्चालन गरेको थियो ।  त्यसवाहेक ४० प्रतिशत अंक कक्षा ११ को मूल्यांकन गरेर र २० प्रतिशत विद्यालय आफैले मूल्यांकन गरेर दिनसक्ने निर्णय बोर्डले गरेको थियो । तर विद्यालयबाट प्राप्त नतिजा क्रमवद्ध रुपमा नआएकाले डाटा इन्ट्री गर्न तथा रुजू गर्न समस्या हुँदा नतिजा प्रकाशनमा ढिलाइ भएको पौडेलले बताए । 

बोर्डले यसअघि पुस महिनाभित्रमा कक्षा १२ को नतिजा सार्वजनिक गरिसक्ने योजना बनाएको थियो । कक्षा १२ मा यो पटक ४ लाख ३१ हजार परीक्षार्थी सहभागी थिए । ४ हजार १ सय केन्द्रमा परीक्षा चलेको थियो । 

प्रतिक्रिया