पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पाबारे फिल्म बनाउँदै बाराक ओबामा

पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पाबारे फिल्म बनाउँदै बाराक ओबामा

एजेन्सी: पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले तेन्जिङ नोर्गे शेर्पामाथि फिल्म ‘तेन्जिङ’ बनाउने भएका छन्। ‘भल्चर’ वेबसाइटका अनुसार ओबामा दम्पत्तीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति नेपालका तेन्जिङ नोर्गे शेर्पाबारे अमेरिकामा फिल्म बनाउन लागेका हुन्। 

ओबामाले केही महिना यता थुप्रै कथाहरू पढ्दै र पटकथाहरू सुन्दै गरेको खबर बाहिरिएको छ। यसैबीच सन् २०२१ मा ओबामाको आफ्नो प्रोडक्सन कम्पनीले नेटफ्लिक्ससँग ६ नयाँ योजना र सहकार्यबारे घोषणा गरेको छ। बाराक र मिशेल ओबामाको प्रोडक्सन कम्पनी ‘हायर ग्राउन्ड प्रोडक्सन’ लामो समयदेखि मनोरञ्जको दुनियाँमा सक्रिय छन्।

हायर ग्राउन्डको प्रोडक्सनमा बन्ने फिचर फिल्म ‘तेन्जिङ’लाई जेनिफर पिदोम र लुक डेभिसले निर्देशन गर्ने भएका छन्। फिल्म सन् २००३ मा इद डग्लास लिखित पुस्तक ‘तेन्जिङः हिरो अफ एभरेस्ट’ मा आधारित हुनेछ। 

संसारको सर्वोच्च शिखर सगरमाथाको आरोरण पहिलो पटक सन् १९५३ मे २९ का दिन न्युजिल्यान्डका पर्वतारोही एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले गरेका थिए। 

हायर ग्राउन्ड प्रोडक्सनले ‘तेन्जिङ’सँगै मोहसिन हामिदको लोकप्रिय उपन्यास ‘एक्जिट वेस्ट’ मा आधारित फिल्म र ओला सोकुन्बी लिखित पुस्तक ‘स्याटलाइट’ मा आधारित फिलहरू निर्माणको पनि घोषणा गरेका छन्। 

यसभन्दा अघि हायर ग्राउन्ड प्रोडक्सनले सन् २०१९मा वृत्तचित्र ‘अमेरिकन फ्याक्ट्री’ निर्माण गरेको थियो। उक्त वृत्तचित्रले गत वर्ष सर्वश्रेष्ठ वृत्तचित्रको लागि ओस्कार पनि जितेको थियो। ओबामाको नयाँ प्रोजेक्ट ‘तेन्जिङ’ नेटफ्लिक्सबाट सार्वजनिक हुनेछ। 

प्रतिक्रिया