सरकारको नेतृत्व गर्ने सोचमा अहिले कांग्रेस छैन: कृष्णप्रसाद सिटौला

सरकारको नेतृत्व गर्ने सोचमा अहिले कांग्रेस छैन: कृष्णप्रसाद सिटौला

काठमाडाैं : प्रतिनिधि सभा पुनर्स्थापनापछि नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल र बरिष्ठ  नेता झलनाथ खनालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर खुसी साटासाट गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्चले मंगलबार बदर गरेको केहीबेरमा टेलिफोनमा कुराकानी गर्दै प्रचण्ड-नेपाल पक्षले सहमति र समझदारीबाटै अगाडि बढ्ने सन्देश देउवालाई दिएका छन्।

प्रधानमन्त्री ओलीले राजीनामा दिए वा अब बस्ने प्रतिनिधि सभाबाट अविश्वास प्रस्ताव पारित भए देउवा प्रधानमन्त्री हुन्छन् भन्ने  चर्चा छ। अब कांग्रेस सरकारमा जान्छ कि जाँदैन? यसबारे कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग गरिएकाे कुराकानीको सम्पादित अंश:

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको थियो। सर्वोच्चले प्रधानमन्त्रीको कदमलाई बदर गरिदियो। अब कांग्रेसको भूमिकालाई लिएर चर्चा भइरहेका छन्, कांग्रेस अब के गर्छ ?

अहिलेको अवस्थामा कांग्रेसले लिने निर्णय सत्ता र सरकार केन्द्रीत हुँदैन। मुख्य कुरा सर्वोच्चको फैसलाबाट संविधानको रक्षा भएको छ। के गर्दा राष्ट्र र जनताको हितमा हुन्छ त्यही विषयमा छलफल गरी हामी निर्णयमा पुग्छौं। नयाँ परिस्थिति तथा यसबाट उत्पन्न राजनीतिक घटनाक्रमलाई पनि विश्लेषण गर्नुपर्ने हुन्छ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकै आन्तरिक स्थिति के हुन्छ, निर्वाचन आयोगले अहिलेसम्म नेकपाबारे निर्णय दिएको छैन। दुई समूह भएर नेकपा सार्वजनिक रूपमा सडकमा आएका छन्, दुइटा पार्टी भइसकेको कानुनी रूपमा देखिन्न। त्यसकारण यी सबै गतिविधिको मूल्यांकन गरेर मात्रै हामीले निर्णय गर्छौं।

हामीले गर्ने निर्णय अब सरकारको नेतृत्व पाइहालियो, सरकारमा पुगिने भइयो भन्ने निजी स्वार्थमा केन्द्रीत भएर हुन्न। के गर्दा लोकतन्त्र र लोकतान्त्रिक शासन सुदृढ हुन्छ, के गर्दा विकास, सुशासन र समृद्धि हुन्छ त्यसतर्फ हाम्रो ध्यान केन्द्रीत हुन्छ।

हामी प्रतिपक्षमा रहेरै आफ्नो भूमिका निर्वाह गर्न सक्छौं। कम्युनिष्ट पार्टीको संख्या संसदमा ठूलो छ। अहिले दुइटा समूह भएका छन् तर छिनोफानो हुन बाँकी नै देखिन्छ।

कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था भए जाने कि नजाने के छ तयारी?

सरकारको नेतृत्व गर्ने र सरकारमा जाने भन्नेतर्फ हाम्रो सोच छैन।

पुनर्स्थापना भए पनि दुई वर्ष नकुर्ने चाँडै नै चुनावमा जानुपर्छ भन्ने पनि चर्चा छ, यसमा कांग्रेसको के मत छ?

नेपाल र नेपाली जनताका हितमा सोच्ने हो भने यो प्रतिनिधि सभालाई पाँच वर्षसम्म पुर्याउने वा टिकाउनु नै सवैभन्दा बढी वुद्धिमानी हुन्छ। यो संसदलाई आफ्नो कार्यकाल पूरा गर्न दिनु नै नेपालको हितमा छ।

अन्तिममा, प्रतिनिधि सभा पुनर्स्थापनापछि सभापति देउवाले पार्टी बैठक बोलाउनु भएको छ कि?

अब छलफल हुन्छ। हिजो त सर्वोच्चको फैसला आयो, आज छलफल होला। सभापतिजीले बैठक बोलाउनु होला। सेतोपाटीबाट

प्रतिक्रिया