कर्णाली प्रदेश अस्पतालमा नि:शुल्क डायलसिस सेवा

कर्णाली प्रदेश अस्पतालमा नि:शुल्क डायलसिस सेवा

सुर्खेत : सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले मिर्गौलारोगीका लागि नि:शुल्क डायलसिस सेवा सुरु गरेको छ । सामाजिक विकासमन्त्री दल रावलले बुधबार उक्त सेवाको शुभारम्भ गर्दै डायलसिसका लागि विभिन्न जिल्ला धाउनुपर्ने बाध्यता हटेको बताए । प्रदेश अस्पतालमा अहिले २७ जना बिरामीको नि:शुल्क डायलसिस भइरहेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए । ‘अस्पतालमा अहिले आठवटा मेसिनले काम गरिरहेका छन्,’ उनले भने, ‘प्रदेश अस्पतालले सुरु गरेको नि:शुल्क डायलसिस सेवाबाट कर्णालीबासी र छिमेकी जिल्लाका मिर्गौलापीडिलाई राहत हुनेछ ।’

आन्तरिक व्यवस्थापनमा अस्पताल सक्षम भएपछि इमर्जेन्सी सेवा पनि नि:शुल्क गर्ने योजना अस्पतालले बनाइरहेको डा. केएन पौडेलले बताए ।प्रदेश अस्पतालमा उपकरण र जनशक्तिको अभाव भने उस्तै छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी र आवश्यक स्वास्थ्य उपकरण नरहेको खड्काले बताए । विशेषज्ञ सेवा र सामुदायिक नर्सिङमा राखिएका जनशक्तिको समस्या बजेट संशोधन गरेरै भए पनि सम्बोधन गर्ने सामाजिक विकास मन्त्री दल रावलले बताए ।

प्रतिक्रिया