‘काममा खुसी भए, जीवन सुखी बन्छ’

‘काममा खुसी भए, जीवन सुखी बन्छ’

डा. नबल पजियारलाई धेरैले मेमोरी किङका रूपमा चिन्छन्। हालै गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम दर्ता गराएर उनले उक्त परिचयलाई प्रमाणित नै गरिदिए। गत डिसेम्बर १९ मा भारतको हैदराबादमा भएको समारोहमा उनले गिनिजका निर्णायकसामु एक मिनेटमा ५४ वस्तुको नाम सम्झेर अघिल्ला कीर्तिमानलाई तोडिदिए। एक मिनेटमा ५२ वटा वस्तु स्मरण गरेर अन्तिम रेकर्ड बनाएका एक भारतीयको रेकर्ड तोडेर विश्व कीर्तिमानी नेपाली बन्न सफल भएका पजियारसँग गरिएकाे कुराकानी :


गिनिज बुकमा नाम लेखाउँदाको अनुभव कस्तो रह्यो ?
त्यो खुसीलाई शब्दमा व्यक्त गर्न सकिन्न। त्यति बेला सुपर कन्सियस माइन्डमा थिएँ। जसरी पनि गिनिजमा नाम लेखाउने पागलपन छाएको थियो। काम गाह्रो थियो। तर, सफल पारिछाड्छु भन्ने अठोट पनि उत्तिकै थियो। राति २ बजे उठेर बिहान साढे ५ बजेसम्म ध्यान गर्न थालें। त्यति बेलाको समयमा एउटा ब्रह्ममुहूर्त हुन्छ र ध्यानमा बस्दा प्रकृतिसँग आफूलाई जोड्न सकिन्छ भन्ने मान्यता छ। यसरी आर्जेको आत्मविश्वासले हैदराबादको त्यो हलभित्र उपस्थित निर्णायकहरू र भरिभराउ दर्शकसामु लक्ष्य प्राप्तिमा सफल भएँ। मेरो आँखामा पट्टी बाँधिएको थियो।

हलमा ८६ वटा सामान क्रमबद्ध ढंगमा राखिएका थिए। पट्टी खोलेर करिब ५९ सेकेन्ड ती वस्तुलाई हेर्न दिइयो। फेरि पट्टी बाँधेर ती वस्तुलाई छरपस्ट पारियो। अनि मेरो पट्टि खोलिदिएर ती वस्तुलाई पहिलेकै क्रममा मिलाउन लगाइयो। मैले ५४ वटा वस्तुको क्रम मिलाएर राखें र पछिल्लो कीर्तिमानलाई तोडें।
 
कुनै पनि कुरा चाँडै सम्झने ‘मेमोरी टेक्निक’ के होला ?
कुनै पनि वस्तुलाई सम्झने एउटा ‘टेक्निक’ हुन्छ। त्यो ‘टेक्निक’लाई अध्यात्मले अझ छिटोछरितो बनाउँछ। यसका लागि मानिसको भाव शुद्ध हुनुपर्छ। सोच सकारात्मक राख्नुपर्छ। जसले गर्दा हाम्रो दिमाग हल्का हुन्छ र सिर्जनशीलता बढ्छ। बिहानदेखि बेलुकीसम्म दिमागमा धेरै कुरा खेलिरहने हुँदा आममानिस सिर्जनशील हुन सक्दैनन्। जुन कुरामा सरोकार नै हुँदैन त्यही उसको दिमागमा खेलिरहेको हुन्छ। मानिस सबैमा समान स्मरण शक्ति हुन्छ। तर, त्यसलाई कुन तरिकाले कति प्रयोग गरिन्छ त्यसैको आधारमा यसको क्षमता बढ्छ। कुनै पनि विषयको कन्सेप्ट क्लियर छ भने त्यसलाई लामो समय स्मरणमा राख्न ‘मेमोरी टेक्निक’ प्रयोग गर्नुपर्छ।

उदाहरणका लागि एउटा कोठामा भएका सामानमध्ये सोफा, मोबाइल, कुर्सी, क्यालेन्डर आदिलाई छुट्टाछुट्टै शब्दमा भन्दा चित्रमा उतारेर एक वस्तुलाई अर्कोसँग जोडेर हेर्दा छिटो र लामो समयसम्म सम्झन सकिन्छ। विद्यार्थीलाई लामा अनुच्छेद सम्झन गाह्रो पर्छ। तर, त्यसका मुख्य शब्दहरूको सूची बनाएर एकापसमा जोडेर सम्झँदा बीचको भाषा आफैं मिलाएर लेख्ने सकिन्छ। स्मरण शक्ति बढाउन सही आहारविहार र आचरण उत्तिकै महत्त्वपूर्ण हुन्छ। हाम्रो दिमागलाई धूमपान र मद्यपानले पनि असर पुर्याउने हुँदा यिनलाई त्यागे स्मरण शक्ति बढ्छ।

स्मरण शक्ति बढाउन ध्यानको आवश्यकता र महत्त्व कति हुन्छ ? ध्यान गर्ने सही तरिका के हो ?
दिमागलाई कसरी अधिकतम उपयोग गर्न सकिन्छ भनेर तालिममा सिकाउँछौं। यो प्रविधिलाई ‘माइन्ड टुल’ भनिन्छ। मोबाइल र कम्प्युटर किन्दा योसँगै म्यानुअल पाइन्छ। त्यही हेरेर कसरी चलाउने भन्ने सिक्न सकिन्छ। तर दिमागको कुनै म्यानुअल हुँदैन। जीवनभर ‘ट्रायल एन्ड एरर’मा हामीले यसको दुरुपयोग गरिरहेका हुन्छौं। हामीले घाँटीभन्दा तलको भागमा जति खर्च गर्छौं, त्यति दिमागको विकासमा गर्न सक्यौं भने योभन्दा कैयौं गुणा आफ्नो विकास गर्न सकिन्छ।

ध्यान गर्ने सही तरिका खोज्दाखोज्दै हाम्रो जीवन बित्न सक्छ। त्यसैले केही नबुझ्दै पनि एउटा ठाउँमा बसेर ध्यान सुरु गरिहाल्नुपर्छ। सम्भव छ भने उत्तरतर्फ अनुहार फर्काएर ध्यान गर्दा राम्रो हुन्छ। यसले सकारात्मक ऊर्जा दिन्छ। ध्यान गर्न घरको एउटा निश्चित ठाउँ छुट्याउँदा त्यहाँबाट सधैं एक प्रकारको शक्ति मिल्छ। अरू केही गर्न नआए पनि आँखा बन्द गरेर बस्नुपर्छ। सुरुआतको एक साता दिमागमा धेरै नकारात्मक सोच आउन पनि सक्छन्। तर जे भए पनि यति मिनेटसम्म आँखा खोल्दिनँ भन्ने प्रण गरेर बस्नुपर्छ। सामान्यतया मानिसको जति उमेर हुन्छ, त्यति नै मिनेट ध्यानमा बस्नुपर्छ। अन्यथा दैनिक १०–१५ मिनेट मात्र भए पनि निरन्तर गर्नु राम्रो हुन्छ।

ग्याजेटको प्रयोग ह्वात्तै बढेको छ, यसले कस्तो प्रभाव पार्छ ?
कुनै पनि कुरालाई सम्झने सही तरिका बालबालिकालाई पनि कसैले सिकाएका हुँदैनन्। यही कारणले गर्दा उनीहरूमा बिर्सने समस्या बढ्दो छ। लकडाउनयता उनीहरूले अत्यधिक प्रयोग गरेका ग्याजेटले पनि स्मरण क्षमतामा असर पुर्याएको देखिन्छ। मोबाइलको रेडिएसनले बालबालिकाको दिमागका कोषिकाहरूलाई असर पुर्याउँछ। फोनमा बढी कुरा गरेको दिन टाउको दुख्न थालेको महसुस गरेकै हौंला। विगतमा लामो समय भएको अनलाइन कक्षाले पनि बालबालिकामा ग्याजेटको झन् लत बसेको छ। बच्चाकै लागि पनि कतिपयले मोबाइल किने। तर, शारीरिक कक्षाभन्दा अनलाइन कक्षा त्यति प्रभावकारी पनि देखिएन।

ग्याजेट आफैंमा गलत होइन। कुन तरिकाले प्रयोग गरिन्छ भन्ने महत्त्वपूर्ण विषय हो। त्यसैले यस्ता उपकरण हेर्ने निश्चित समय तोकिदिँदा यसले पुर्याउने नकारात्मक प्रभावबाट छोराछोरीलाई जोगाउन सकिएला। बच्चाले पनि अभिभावकसँग के चाहन्छ भन्ने कुरा बुझाउँदा बल्ल तालमा ताल मिल्छ। यसका लागि ‘सक्सेसफुल प्यारेन्टिङ’को छुट्टै  तालिम सञ्चालन गर्ने गरेका छौं।

वैवाहिक सम्बन्धमा पनि विच्छेदको दर बढ्दो छ। ‘ह्याप्पी म्यारिड लाइफ’को सूत्र के हो ?
मानव भौतिकवादी प्राणी हो। जबसम्म शारीरिक, मानसिक र आर्थिक सुख पाइन्छ; सम्बन्ध सुमधुर नै हुन्छ। तर, जब पतिपत्नीबीच अपेक्षा बढ्दै जान्छ सम्बन्ध चिसिँदै जान थाल्छ। त्यसैले पतिले पत्नीलाई गाईगोरुजस्तो व्यवहार गर्नु हुँदैन र पत्नीले पनि पतिलाई बिल गेट्स सम्झनु हुँदैन। अति हुनुअघि कुरा मिलाउन जान्नुपर्छ। सानै कुरालाई समयमा ध्यान नदिँदा इगोको रूपमा परिणत हुन्छ र सम्बन्ध बिग्रन्छ। एकअर्काको मनस्थिति बुझे घरमा कलह हुँदैन। तपाईंको गल्ती छ भने माफी माग्नुस्। गल्ती नहुँदा झन् दुई पटक सरी भनिदिनुस्।

पति वा पत्नीसँग ‘इगो’ राख्नु हुँदैन। कुनै पनि सम्बन्धमा जित्ने होइन जिउने कोसिस गर्नुपर्छ। कार्यालयमा ‘बोस’ भए पनि घरमा ‘बोस’ बन्ने कोसिस गर्नु हुँदैन। घरको नारीलाई इज्ज्त दिए आफ्नो पनि इज्जत बढ्छ र बाहिर पनि राम्रो हुन्छ। त्यसैले घरमा एक ‘सर्भेन्ट लिडर’ भएर बसिदिँदा सम्बन्ध टिकाउ र सुन्दर हुन्छ।

तनाव व्यवस्थापन गर्ने र खुसी हुने तरिका के हुन् ?
हिजोआज तनाव फेसनजस्तै भइसक्यो। सफलता पाउन तनावबाट गुज्रनैपर्छ भन्ने सोचाइ बढेको छ। तर व्यायाम, योगा, प्राणायाम आदिले तनाव व्यवस्थापन गर्न सकिन्छ। हिजोआज मानिस आफ्नो दु:खले भन्दा अरूको सुखले बढी दु:खी भइरहेका छन्। आफूले गरेको काममा सन्तुष्टि महसुस गर्दैनन्। अरूको कामलाई मात्रै ‘आहा’ ठान्छन्। त्यसैले कामलाई माया गर्दा खुसी हुन सकिन्छ। तपाईं त्यही गर्नुस् जुन कामलाई माया गर्नुहुन्छ वा त्यही कामलाई माया गर्नुस् जुन तपाईंले गरिरहनुभएको छ। आफूले गरिरहेको काममा उत्कृष्ट प्रदर्शन दिन सके जीवनमा खुसी भइन्छ।
  
विभिन्न देश पुग्दा मानिसका समस्यामा के भिन्नता पाउनुभयो ?
जुनसुकै देशका मानिसको पनि ‘साइकोलोजी’ प्राय: उस्तै हुन्छ। त्यसलाई अभिव्यक्त गर्ने तरिका र भाषा मात्र फरक हो। सबै ठाउँमा तालिम दिँदा समस्या त्यति ठूलो देखिनँ जति मानिसले आफ्नो सोचमा बनाएको हुन्छ। जीवनमा आइपर्ने समस्यालाई एक चुनौती र अवसरका रूपमा लिएर आफूलाई उन्नति गराउनेतर्फ लाग्नुपर्छ। अरूसँग आफ्नो जीवन तुलना गर्दा जीवन झन् दु:खी हुन्छ। त्यसैले आफूले जे पाएको छ त्यसका लागि भगवान्लाई धन्यवाद दिँदै आफ्नो कर्मक्षेत्रमा डटिरहे सफलता पाउन सकिन्छ।

थुप्रै बलिउड सेलिब्रिटीसँग फोटो खिचाउनुको कारण के होला ?
कतिपय सेलिब्रिटीले मसँग तालिम लिएका छन्। कतिपयसँग मैले विभिन्न तालिममा धेरै कुरा सिकेको छु। केही समयअगाडि भारतीय गायक मिका सिंहले मसँग रुबिक्युब सिकेका थिए र फोटो पनि खिचे। गिनिज रेकर्डका लागि हैदराबाद जाँदा नायक अजय देवगणका म्यानेजरसँग भेट भयो। उहाँले आफ्ना स्टाफलाई पनि तालिम दिन लगाउने कुरा गर्नुभयो।

बलिउड कलाकारको निकै कडा प्रोटोकल हुन्छ। उनीहरूका सामु जानु भनेको ब्रह्माको अगाडि गएसरह हुन्छ। त्यसैले उहाँहरूको केही ‘पोजिटिभ भाइब्स’ लिन पाऊँ भनेर फोटो खिचाउँछु। सफल मानिसलाई छोएको हावाले हामीलाई छुँदा त्यो सफलता हामीमा पनि सर्छ भन्ने मेरो विश्वास छ। अन्नपूर्ण पाेस्ट्बाट साभार गरिएकाे ।

प्रतिक्रिया