राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका लागि ढाका प्रस्थान गरेकी छिन् । राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत सोमबार बिहान ८ : ४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका प्रस्थान गरेकी हुन् ।राष्ट्रपति भण्डारीको बिदाइका लागि विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत उच्च पदस्थ अधिकारी पुगेका थिए । भण्डारीले विमानस्थलमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणा र बंगलादेशका राष्ट्रिय पिता बंगलाबन्धुको सयौं जन्मजयन्तीका अवसर पारेर बंगलादेश गएकी हुन् । नेपालको राष्ट्राध्यक्षबाट ४२ वर्षपछि बंगलादेशको राजकीय भ्रमण हुन लागेको हो । तत्कालीन राजा वीरेन्द्र शाहले सन् १९७८ मा बंगलादेशको द्विपक्षीय भ्रमण गरेपछि राष्ट्राध्यक्षका रूपमा नेपालबाट भ्रमण भएको छैन ।

सन् २०१९ को अन्त्यमा बंगलादेशका राष्ट्रपति अब्दुल हमिल नेपाल आएका थिए । राष्ट्रपति भण्डारीको भ्रमण दलमा २७ सदस्य छन् । टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका साथै परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई पनि छन् । भ्रमण दलमा राष्ट्रपति कार्यालयबाट चार जना परेका छन् ।

बंगलादेश भ्रमणका क्रममा पर्यटन, संस्कृति आदानप्रदान, स्यानेटरी र फाइटो स्यानेटरी तथा रोहनपुरदेखि सिंहबादसम्म ‘ट्रान्जिट रुट’ का रूपमा प्रयोगमा सहकार्य गर्न दुई मुलुकबीच सम्झौता हुने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यी सम्झौता सोमबार बेलुकी बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको सरकारी निवास बंग भवनमा हुने गरी कार्यक्रम तय भइसकेको छ ।

प्रतिक्रिया