अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन प्लान्ट के हो र कसरी काम गर्छ ?

          |   प्रकाशित मितिः शुक्रबार, बैशाख ३१, २०७८     ::: 99 पटक पढिएको   |  

काठमाडौँ : पछिल्लो समय कोरोना संक्रमित बिरामीहरु अक्सिजन अभावका कारण ज्यान गुमाइरहेका छन् । कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता नेपालमा सयौंको मृत्यु भइसकेको छ । अस्पताल र होम आइसोेलेसनमा अक्सिजन अभावमा बिरामी छट्पटाइरहेका छन् ।

अक्सिजन अभाव हुन थालेपछि अस्पतालहरुले बिरामी भर्ना लिन मानिरहेका छैनन् । कतिपय अस्पतालहरुले अक्सिजनको अभावमा बिरामीको मृत्यु भए अस्पताल जिम्मेवारी छैन भन्दै बिरामीका आफन्तहरुलाई मञ्‍जुरीनामा गराइरहेका छन् ।

कोरोनाको दोस्रो लहर सुरु भएयता अक्सिजन,अक्सिजन प्लान्ट,अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटरको चर्चा बारम्बार भइरहेको छ । यहाँ अक्सिजन,अक्सिजन प्लान्ट,अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर के हो र यिनले कसरी काम गर्छन् भन्ने संक्षिप्तमा चर्चा गरिएको छ ।

अक्सिजन हामीलाई किन आवश्यक छ ?

प्राण वायुका रुपमा रहेको अक्सिजन जैविक प्राणीलाई नभई नहुने एक महत्वपूर्ण ग्यास हो ।श्वासप्रश्वास प्रणालीमा मुख्य भूमिका यसैको हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)की हेड अफ क्लिनकल केयर डा.ज्यानेट डियाज भन्छिन्,‘शरीरका कोषहरुको सञ्‍चालनका लागि अक्सिजन नभई नहुने चिज हो । शरीरको सामान्य कार्य सञ्चालनका लागि यो महत्वपूर्ण छ ।’ अक्सिजन अभावमा शरीरका कोषिकाहरुले काम गर्न छाड्ने र मर्ने गर्छन् । अर्थात् शरीरका हरेक अंग र भागहरुलाई काम गर्नका लागि अक्सिजन चाहिन्छ । अक्सिजन अभावमा शरीरले काम गर्न छाड्छ ।

कोरोना संक्रमित बिरामीलाई किन अक्सिजन दिइरहनु परेको छ ?

कोरोनाको दोस्रो लहरका बिरामीहरुलाई अक्सिजनको निकै आवश्यकता देखिएको छ । संक्रमितहरुको रगतमा अक्सिजनको मात्रा धेरैले घट्ने गरेको छ । जसका कारणले बिरामीहरुलाई अक्सिजन चाहिरहेको छ । युथ फर नेपाल एवं योङ डक्टर एसोसिएसन अफ नेपालका अध्यक्ष डा. निकोलस भुसालका अनुसार कोरोना संक्रमण भएपछि भाइरसले फोक्सोमा आक्रमण गर्छ ।

फोक्सोको इन्फेक्सन भएपछि कोरोनाले निमोनिया गराउँछ । निमोनिया अर्थात् फोक्सोको इन्फेक्सन भयो भने फोक्सोले जसरी काम गर्नुपर्ने त्यसरी गर्न सक्दैन । त्यसका लागि अक्सिजनको प्रवाह पनि कमी हुन्छ । त्यसैले बाहिरबाट अक्सिजन दिनुपर्ने आवश्यकता पर्छ । शरीरमा अक्सिजनको मात्रा कम हुन थालेपछि अन्य अंगहरुले पनि काम गर्न छाड्ने डा. डियाज बताउँछिन् ।

हामीलाई कति मात्रामा चाहिन्छ अक्सिजन ?

बेलायतस्थित युनिभर्सिटी अस्पताल बर्मिघंमको इमरजेन्सी मेडिसिनमा कार्यरत डा.राज झाका अनुसार एउटा स्वास्थ्य मानिसलाई सामान्य अवस्था अक्सिजनको मात्रा न्यूनतम ९४ प्रतिशत हुनुपर्छ । दमका बिरामी तथा अन्य रोगीहरुका लागि ८८ देखि ९२ प्रतिशत हुने उनी बताउँछन् । उनका अनुसार एउटा वयष्क मानिसले हरेक एक मिनेटमा ७ देखि ८ लिटर हावा लिन्छ । लिएको हावामा करिब २१ प्रतिशत मात्रै शुद्ध अक्सिजन हुने उनले बताए । सरदर एक स्वस्थ्य मानिसलाई दैनिक ५ सयभन्दा बढी लिटर शुद्ध अक्सिजन चाहिने उनी बताउँछन् ।

कस्ता बिरामीहरुलाई अक्सिजन चाहिन्छ ?

डा. झाका अनुसार लक्षण देखिएको र सास फेर्न गाह्रो भएका बिरामीहरुलाई अक्सिजन चाहिन्छ । निमोनिया देखिएका र श्वास फेर्न गाह्रो भएकाहरुलाई अक्सिजन चाहिन्छ । डब्लूएचओको आपत्कालीन निर्देशिकाअनुसार कोरोनाका सबै सिकिस्त र गम्भीर प्रकृतिका बिरामीहरुलाई अक्सिजन थेरापी अनिवार्य भनिएको छ । बच्चालाई न्यूनतम १ देखि २ लिटर प्रति मिनेट र व्यस्कलाई ५ लिटर प्रति मिनेटको दरमा अक्सिजन दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

कस्ता बिरामीलाई कन्सन्ट्रेटर र सिलिन्डरबाट अक्सिजन दिइन्छ ?

कोरोनाका सबै सिकिस्त बिरामीहरुलाई सिलिन्डरबाट शुद्ध अक्सिजन दिनुपर्ने डा.भुसाल बताउँछन् । जब कुनै बिरामीलाई एक मिनेटमा धेरै मात्रामा अक्सिजनको आवश्यक पर्छ तब सिलिन्डरबाट अक्सिजन दिन थालिन्छ । सामान्य रुपमा श्वास फेर्न केही असहज भएका बिरामीहरुलाई कन्सन्ट्रेटरबाट अक्सिजन दिने गरिएको उनले बताए ।

अक्सिजन कन्सन्ट्रेटर र अक्सिजन सिलिन्डर

अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने एउटा विद्युतीय उपकरण हो । हावामा नाइट्रोजनको मात्रा बढी हुन्छ । करिब ७८ प्रतिशत नाइट्रोजन,२१ प्रतिशत अक्सिजन र अन्य एक प्रतिशत ग्यासहरु हावामा हुन्छन् । कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने इन्जिनियर शिशिर जिसी बताउँछन् । उनका अनुसार यसरी निकालिएको अक्सिजन लिक्विड अक्सिजनको जति शुद्ध नभए पनि सामान्य बिरामीहरुका लागि प्रयोग गर्न सकिन्छ । यो आईसीयूमा उपचाररत बिरामीहरुका लागि भने प्रयोग नगर्न सुझाव दिइएको छ ।

उनका अनुसार अक्सिजन कन्सन्ट्रेटर सिलिन्डरको विकल्प भए पनि एक मिनेटमा ५ देखि १० लिटर अक्सिजन मात्रा उपलब्ध गराउन सक्छ् । यस्तो अवस्थामा कन्सन्ट्रेटर सामान्य र मध्यम प्रकृतिका बिरामीहरुका लागि मात्र प्रयोग गर्न सकिन्छ । कन्सन्ट्रेटरलाई सजिलैसँग लैजान सकिने भए पनि लिक्विड अक्सिजनको जसरी एउटा निश्चित तापक्रम,भाडा र भण्डारण गर्नुपर्ने झन्झट भने हुँदैन ।

अक्सिजन सिलिन्डरमा शुद्ध अक्सिजन भण्डारण गरेर राखिएको हुन्छ । यहाँ अक्सिजनलाई कम्प्रेससमेत गरेर राखिएको हुने उनले बताए ।

लिक्विड मेडिकल अक्सिजन

मोलिक्युलर अक्सिजनको तरल अवस्था नै लिक्विड अक्सिजन हो । जब ग्यासलाई धेरै नै चाप दिइन्छ तब त्यो ग्यास तरल अवस्थामा परिणत हुन्छ । मेडिकल क्षेत्रमा प्रयोग हुने लिक्विड अक्सिजनलाई लिक्विड मेडिकल अक्सिजन भनिएको इन्जिनियर जिसीले बताए । यस्तो अक्सिजनलाई सजिलै भण्डारण गर्न सकिने र सानो भाडामा धेरै मात्रा संकलन गर्न पनि सकिने उनले बताए ।

कोरोनाका गम्भीर बिरामीहरुका लागि लिक्विड अक्सिजन धेरै नै प्रयोग हुने गरेको छ । एउटै सिलिन्डरमा धेरै मात्रा अट्ने र शुद्धता पनि ९८ प्रतिशतभन्दा धेरै भएकाले यसको प्रयोग भइरहेको हो । लिक्विड अक्सिजनलाई इन्धनको रुपमा प्रयोग गर्ने गरिन्छ । ग्यास अवस्थामा हुँदा धेरै स्थान ओगट्ने तर तरल हुँदा थोरै स्थानमा नै धेरै अट्न सक्ने भएकाले यसको प्रयोग गरिएको हो ।

अक्सिजन प्लान्ट

अक्सिजन प्लान्ट पनि एक प्रकारको कन्सन्ट्रेटर जस्तै हो । यसले पनि वातावरणमा भएको हावाबाट नै अक्सिजन निकाल्ने गर्छ । यसबाट तरल र ग्यास अवस्थाको दुवै अक्सिजन निकाल्न सकिने डा.भुसालले बताए । वातावरणमा लिएको हावाबाट नाइट्रोजनलाई छुट्टाउने,त्यसपछि अनि अन्य ग्यासहरुलाई हटाएर शुद्ध अक्सिजनलाई कम्प्रेस गरेर अक्सिजन उत्पादन गरिन्छ ।

कम्प्रेस गरिएको अक्सिजनलाई सिलिन्डरमा भरिन्छ । यसको शुद्धता ९९ प्रतिशत हुने उनले बताए । प्लान्ट पनि लिक्विड र नर्मल गरी दुई खालको हुने उनले बताए ।

के हो अक्सिमिटर ?

यो एउटा यस्तो उपकरण हो जसले शरीरको चाल(पल्स)लाई विश्लेषण गरेर यो अक्सिजनको मात्रा देखाउँछ । सामान्यत:मानिसमा अक्सिजनको स्याचुरेसन लेभल ९४ प्रतिशत हुने डाक्टर झा बताउँछन् ।

उनका अनुसार यो डिभाइसको प्रयोगले शरीरमा अक्सिजनको मात्रा कति छ भन्ने थाहा हुन्छ र अक्सिजन कन्सन्ट्रेटर प्रयोग गरेर अक्सिजन लिने वा नलिने भन्ने पनि निर्णय लिन सकिन्छ । कहिलेकाहीँ अवस्था गम्भीर हुँदा पनि यसले अक्सिजनको मात्रा थाहा पाउन मद्दत पुग्ने उनले बताए ।

बालबालिकाहरुमा अक्सिजनको स्याचुरेसन लेभल ९५ देखि माथि हुनुपर्ने उनको भनाइ छ । वृद्धहरुमा स्याचुरेसन लेभल९० लाई न्यूनतम मान्न सकिने उनले बताए । सामान्य अवस्थामा स्याचुरेसन लेभल ९४ प्रतिशत हुनुपर्ने डा.झा बताउँछन् । ई-कान्तिपुरकाे सहयाेगमा



Leave a comment

Your email address will not be published.


*