देउवा पाँचौंपल्ट प्रधानमन्त्री

देउवा पाँचौंपल्ट प्रधानमन्त्री

No description available.

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौं पटक मंगलबार प्रधानमन्त्री बनेका छन्। सर्वोच्च अदालतले सोमबार देउवालाई दुई दिनभित्र संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री बनाउन परमादेश जारी गरेअनुरूप राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पदमा नियुक्त गरेकी हुन्।

नवनियुक्त प्रधानमन्त्री देउवाले मंगलबारै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसमक्ष संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिए।

No description available.

सोही अवसरमा राष्ट्रपतिसमक्ष नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँण, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले शपथ लिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ। खाँण र कार्की कांग्रेसबाट, भुसाल र शर्मा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन्।

देउवाको उदय

देउवा सुदूरपश्चिमको पहाडी जिल्ला डडेलधुराको असिग्राममा २००३ सालमा जन्मिएका हुन्। उनी ५ औं पटक सरकारको नेतृत्वमा पुगेका छन्। झन्डै दुईतिहाइ बहुमतबाट उदाएका ओली ४१ महिनापछि बालुवाटारबाट बाहिरिएसँगै देउवाको सत्तारोहण भएको हो। स्कुले जीवनदेखि नै कांग्रेसमा लागेका देउवा २०१७ सालको राजनीतिक घटनाक्रमपछि प्रजातान्त्रिक आन्दोलनमा होमिएका थिए।

२०२८ सालमा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको सभापति बनेका देउवा पटक–पटक गरी १० वर्षभन्दा बढी जेल परेका थिए। देउवा यस्ता भाग्यमानी नेता हुन, जो २०४८ सालदेखि लगातार संसदीय निर्वाचन जित्दै आएका छन्।

२०४८ सालमा कांग्रेसको केन्द्रीय सदस्य बनेका देउवा ०४८ मै गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेसको बहुमतको सरकारका गृहमन्त्री बनेका थिए। ०५२ मा पहिलो पटक देउवा प्रधानमन्त्री बनेका थिए। मनमोहन अधिकारीको पहिलो कम्युनिस्ट सरकारपछि झन्डै डेढ वर्ष देउवा प्रधानमन्त्री बनेका थिए। २०५८ सालमा दोस्रो पटक प्रधानमन्त्री बनेका देउवालाई तत्कालीन राजा ज्ञानेन्द्रले अपदस्त गरेका थिए।देउवाले ०५९ सालमा कांग्रेस फुटाएर प्रजातान्त्रिक कांग्रेस गठन गरेका थिए। उनले संसद विघटन गरी निर्वाचनको मिति पनि तोके। ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले पुनः तेस्रो पटक प्रधानमन्त्री बनाए। तर, निर्वाचन गर्न नसकेको भन्दै अक्षम घोषणा गरेर अपदस्त गरे।

राजाको कदमविरुद्ध आन्दोलन बढ्दै प्रतिनिधिसभा पुनःस्थापना भएपछि कांग्रेस र प्रजातान्त्रिक कांग्रेसबीच पार्टी एकता भयो। ६ दशकदेखि कांग्रेसको अनवरत राजनीतिमा सक्रिय देउवा ०७२ फागुनमा सम्पन्न १३ औं महाधिवेशनबाट पार्टी सभापति बने। ०७४ मा माओवादीको समर्थनमा देउवा चौथो पटक प्रधानमन्त्री बने र पाँचौ पटक पनि देउवा माओवादी केन्द्र सहितका दलको समर्थनमा प्रधानमन्त्री बने।
अघिल्ला प्रधानमन्त्री कालहरूमा देउवाको अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित रहेको पाइन्थ्यो। उनले प्रधानमन्त्रीका रूपमा भारत भ्रमणमा जाँदा सन् १९५० को सन्धि संशोधनको कुरा उठाएका थिए।

नौतीका चाङ
७४ वर्षीय प्रधानमन्त्री देउवालाई संसदको विश्वासको मत लिनु सबैभन्दा चुनौतीपूर्ण छ। संवैधानिक व्यवस्थाअनुसार देउवाले ३० दिनभित्र संघीय संसदमा विश्वासको मत लिनुपर्छ। एमाले विवाद साम्य भई पार्टी एकढिक्का भए देउवाका पक्षमा बहुमत पुग्न कठिन छ।   कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपा (भट्टराई–यादव पक्ष)को १२ मतले मात्र बहुमत पुग्दैन। देउवाले या महन्थ ठाकुर र राजेन्द्र महतोसहित जसपाको सिंगो पार्टीको समर्थन जुटाउनुपर्छ या त सर्वोच्चको रिट निवेदनमा हस्ताक्षर गरेका एमालेको नेपाल–खनाल खेमाका सांसदको समर्थन जुटाउनुपर्छ।

प्रतिक्रिया