बलात्कारपछि बालिकाको हत्या

          |   प्रकाशित मितिः सोमवार, साउन ४, २०७८     ::: 71 पटक पढिएको   |  

राजविराज : बालिकाको बलात्कारपछि गाउँमा हल्ला हुने डरले हत्या गरेको आरोपमा आइतबार एक आरोपित राजविराज कारागारमा थुनामा गएका छन् । जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय रोहितकुमार यादव पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेको अदालतले जनाएको छ ।

सोही ठाउँकी ९ वर्षीया शिवानीकुमारी यादवलाई गत असार ४ गते बिहान आरोपित यादवले बलात्कार गरी हत्या गरेको भन्दै पीडितका बुवाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए । डाक्नेश्वरी नगरपालिका–३ हटेल पुवरिया टोलस्थित शिवनाथ यादवको फूलबारीमा पीडितको हँसियाले घाँटी काटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

पाँच वर्षीया बहिनीसँग बाख्रा चराउँदै घाँस काटन गएकी शिवानीले सिमसिम पानी पर्न थालेपछि बहिनीलाई घर पठाएर आफू फूलबारीमा हावाले झारेको आँप टिप्न लागिन् । पीछा लागेका आरोपितले आँप टिपिदिने लोभ देखाई बलात्कार गरेको र घरपरिवारमा भनिदिने डरले बालिकाले बोकेको हँसियाले नै उनको घाँटी काटेर हत्या गरेको प्रहरी अनुसन्धानले जनाएको छ ।

प्रहरीले घटनाको दुई दिनपछि आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरेको हो । जिल्ला अदालतमा उपस्थित गराइएका आरोपितले बलात्कारको प्रयास असफल भएको र पीडितले सो कुरा गाउँमा भनिदिने डरले हत्या गरेको स्विकारेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।



Leave a comment

Your email address will not be published.


*