छोराछोरी तह लगाउन कि बिहे कि विदेश ?

          |   प्रकाशित मितिः शनिबार, साउन ३०, २०७८     ::: 151 पटक पढिएको   |  

-निरू त्रिपाठी

अहिले कोरोनाले विश्व नै आक्रान्त भएको अवस्था छ। पछिल्लो समयमा त नेपाल र अष्ट्रेलिया दुवै देशमा कोरोनाको संक्रमण ह्वातै बढेको पनि छ। यही कारणले पनि अष्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई ल्याइरहेको छैन।कति नेपाली विद्यार्थीहरुको भिसा लागिसकेको छ तर उनीहरु आउन पाइरहेका छैनन्। कति विद्यार्थीहरुले भिसा अप्लाई गर्ने तयारीमा छन् तर कोरोनाकै कारणले रोकिरहेको छ।

त्यसैकारणले पनि धेरैको अहिलेको सरोकार भनेको अष्ट्रेलियाको बोर्डर कहिले खुल्छ भन्ने हो। त्यो भन्दा पनि अर्को ठूलो कुरा अभिभावकलाई नेपालको लकडाउनले छोराछोरी बिग्रीसके भन्ने रहेको छ। उहाँहरुलाई लाग्छ छोराछोरीहरुलाई तह लगाउनैकै लागि भए पनि विदेश पठाइहाल्नु पर्छ। अव्यवहारिक छोराछोरीहरुलाई विदेश पठाउँदा केही हदसम्म व्यवहारिक हुन्छ भन्ने कुरामा म विश्वास गर्दछु तर शतप्रतिशत विग्रेको छोराछोरीहरुलाई तह लगाउन विदेश मात्रै एक ठाउँ हो भन्ने कुरामा मेरो फरक मत रहेको छ।

घरको काममा नसघाउने छोराछोरी, बिहान अबेरसम्म सुत्ने अनि आफ्नो ओछ्यान पनि नमिलाउने, खाना पकाउन नआउने, भाडा माझ्न र धोएको लुगा पनि नसुकाउने छोराछोरीहरुलाई विग्रेको छोराछोरी भन्न मिल्दैन। उनीहरु अल्छि मात्रै भएका हुन्। यदि तीनै अल्छि कहलिएकाहरु विदेश गएर जाँगरिलो बन्छन् भने र आफूसँग रहँदा नगरेका कामहरु फटाफट गरेको देख्नुहुन्छ भने उनीहरु समयसँगै परिवर्तन भएको बुझनुपर्छ। उनीहरुले परिस्थितीसँगै मनस्थिती बनाउँदै गएका हुन्। उनीहरु दिनदिनै व्यवहारिक हुँदै गएका हुन्। उनीहरु विग्रीएर सप्रिएका होइनन् तर अस्तव्यस्तबाट सम्मालिदै गएको चाँहि हो।

हो, परिवर्तन हुनु र सुध्रिनुमा धेरै अन्तर छ। त्यसैले पनि यही कुरालाई मात्र आधार बनाएर विदेश गएपछि नेपालमा बदमासी गर्दै हिड्ने, गुण्डागर्दी गर्ने, हत्याहिँसा गर्ने, चोर डकौटी गर्ने, रेप गर्ने, कुलतमा फस्ने जति सबै सज्जन हुन्छन् , उनीहरु जाती हुन्छन्, उनीहरु व्यवहारिक हुन्छन् भनेर सोच राख्दै विदेश पठाउन जोड दिनु त्यति उपयुक्त होइन। मेरो आजको लेखपनि यसैमा केन्द्रित गर्दैछु कि छोराछोरी कुलतमा फसे र नराम्रो काम गरे भने उनीहरुलाई सुधार्न सर्वप्रथम विदेश होइन सुधारकेन्द्र पठाउनुपर्छ।

यदि २० वर्षको छोराले लाईसेन्स विना सवारी साधन चलाएर बाटोमा हिडिरहेको मान्छेलाई हानेर मार्छ भने उसलाई भगाउन र सुधार्ने नाममा विदेश होइन जेल पठाउनुपर्छ। यदि तपाइँको १८ वर्षिय छोरी ड्रग्सको लतमा परेको छ र डिप्रेसन भएको छ भने उनलाई सहि ठाउँ काउन्सिलिङ्ग र सुधार केन्द्र पठाउनु पर्छ न कि विदेश। यदि तपाइँको छोराले कसैलाई बलात्कार गर्छ भने उसलाई सजाय दिन कानुनको साहारा लिनुपर्छ न कि विदेश पठाउन भिसाको साहारा।

यदि तपाइँको छोराछोरी राम्रोसँग पढ्न सकिरहेको छैन र उमेरको कारण कुनै सिरियस रिलेसनसिपमा छन् भने कृपया उनीहरुसँग संवाद गरेर मनोचिकित्सकसँग भेटाउनु पर्दछ न कि जर्वजस्ती कन्सल्टेन्सिको काउन्सिरसँग। यस्ता थुप्रै कुराहरु छन् जहाँ अभिभावकहरु र स्वयंम् किशोरकिशोरीहरु पनि सबै कुराको समाधान विदेश गएपछि हुन्छ भनेर सोच्छन्। उहाँहरुको सोच देख्दा यस्तो लाग्छ कि विदेशमा एउटा जादुमय छडी छ जसको साहाराले छु मन्तर गर्नेवित्तिक्कै सबै निको हुन्छ।

विदेश मात्रै किन कति अभिभावकले विवाहलाई पनि सुधारकेन्द्र ठान्नुहुन्छ। विदेश पठाउन सकेनन् ती छोराछोरी भने विहे गरेपछि सुध्रिन्छन्। अरुलाई नै टाँसो लगाउन पाए उनीहरुले नै समाल्छन्। बुहारी ल्याउन पाए त्यसैले आफ्नो लोग्ने समाल्छे। एउटा गतिलो घर र ज्वाइँ खोज्न पाए छोरी उनीहरुकै जिम्मा हुन्छ। यदि अपराधले नेपालमा मुख लुकाउन सकेन भने दुवैजनालाई विदेश पठाउने तयारीमा लाग्नुहुन्छ। अनि शुरु हुन्छ विदेशमा पनि उही महाभारत।

त्यही विग्रेको छोरा सप्रनु भन्दा उल्टै बुहारीमाथि अत्याचार र घरेलु हिँसा गर्न थाल्छ। त्यही विग्रेको छोरी क्यासिनो र रक्सिमा झन् मस्त हुन थाल्छ। विडम्बना उनीहरु अन्तत कोही जेलमा, कोही मानसिक वार्डमा, कोही भिसा सकेर डिटेन्सनमा त कोही डिप्रेसनले आत्मा हत्या गर्छन्। सुधार्नेको नाममा एउटा गलत निर्णयले कहिलेकाँहि यसरी धेरै पशुताउनु पर्ने हुन्छ।

छोराछोरी उमेर बढ्दै गयो लमी खोज्ने होइन बरु उनीहरुको साथी बन्न खोज्ने हो। छोराछोरी नसुध्रने भयो कसैको टाँसो होइन सुधार्ने वातावरण आफ्नै वरीपरी सृजना गर्ने हो। छोराछोरीले पैसा मागेर हैरान गरे कन्सल्टेन्सि धाउन थाल्नेहैन बरु भाडै माझेर भएपनि पैसा कमाउ भनेर सिकाउने र्होे। छोराछोरीले आइइएलटीएस, पीटिइमा राम्रो नम्बर ल्याएनन् डिपेन्डेन्ट खोज्नतिर होइन पटकपटक मेहेनत गर्न प्रेरित गर्ने हो।

दुर्भाग्यवश कति अभिभावकहरु र छोराछोरीहरु चुक्ने नै यहीनेर हो। उहाँहरु सोच्नुहुन्छ देशको चँगुलबाट निस्किए पछि जीवन सेट हुन्छ। विदेश पठाउन पाए त जताततै घमाईलो नै घमाईलो। यता रमाईलो उता रमाईलो जीवनभरी नै रमाईलो। नेपालमा गरेका सबै अपराधहरु माफ।

यसरी विदेश भन्दै रावणको सुनको लंकाजस्तो हुन्छ भन्ने सोच र गगनचुम्बी भवनमा गएर गर्छु भन्ने मोजको परिणाम नै हो सुर्धान पठाएकाहरु नसुध्रिने। यदि कुलतमा लागेका कोही विदेश गएर साँच्चै सुध्रिएकाछन्, जीवनमा परिपक्क भएका छन् चने त्यो गुड न्यूज हो। यदि यी अपवादहरु खोज्न गयो भने कहिकतै भेटिन्छ पनि होला। परिवर्तन र सफल जीवको कथा लेखिरहेका कयौ मानिसहरु पनि छन् होला। तर यी बाहेक अन्य धेरै घटनाहरु हेर्ने हो भने विहे र विदेशलाई सुधारकेन्द्र ठान्ने अभिभावकहरु अन्तत मैले माथि उल्लेख गरेझै छोराछोरीसँग सम्पर्कमा नै नहुन, उनीहरुलाई जेल र अस्पतालमा पाउनु र नेपालमा लाश बुझ्न पनि बाध्य भएका छन्।

फेरि पनि भन्छु आफ्नो छोराछोरी विग्रीएर, कुलतमा लागेर तह लगाउनु छ र अपराध गरे भने  सर्वप्रथम उनीहरुलाई जेल चलान गर्ने, कानुनी प्रक्रिया मान्ने, सुधारकेन्द्र पठाउने, योगा, मेडिटेसन, काउन्सिलङ्ग, आर्ट अफ लिभिङ्ग वा जीवनलाई सकारात्मक बनाउने अन्य सर्भिसहरु उपभोग गर्नतिर ध्यान दिनु पर्छ।

यदि पछि कुनै समयमा उनीहरु शारीरीक, भावनात्मक र मानसिक तबरले स्वथ्य हुन थाले भने, अनि उनीहरुको अपराधीक सजायपनि निश्चित समयपछि पूरा भयो भने र यसै दौरानमा उनीहरु मन, वचन र कर्मले उच्च शिक्षा हासिल गर्न होस् वा काम गर्न विदेश जान चाहन्छन् भने केही समयको निगरानीपछि उपयुक्त ढंगले सही परामर्श लिएर विदेश पठाउन पनि सकिन्छ। तर त्यसमा विदेश जानेको मन्जुरी, सहमति र इच्छा हुन जरुरी हुन्छ। तर जतिगर्दा पनि यो सुध्रिदै सुध्रिएन बरु विदेशै पठाउनु पर्र्यो भनेर सोच्नु चाँहि गलत हो। किनकि विदेशले कुलतमा लागेको लागि सपार्ने ठेक्का लिदैँन। विदेश विग्रनेलाई सपार्ने सुधारकेन्द्र होइन।

म अझ चार वर्ष अगाडिको एउटा घटना सम्झन्छु। एकजना विद्यार्थी अत्याधिक ड्रग्सको सेवनले गर्दा मानसिकरुपमा नै समस्या आएपछि नर्थन इपिङ्ग हस्पिटलमा भर्ना भएको थियो। हामीले पछि उसँग उसको आमाबुबालाई भिडियो कल गराईदियो। भिडियो कलमा आमाले उसलाई गाली गर्दै हुनुहुन्थ्यो –तँ विदेश गएर पनि नसुध्रिने भईस्। यसको मतलब यो थियो कि उ नेपालदेखि नै कुलतमा लागेको थियो। विरामी छोरा आमालाई सुनिमात्रै रह्र्यो। अनि बुबाको पालो आयो– विदेश गएपछि त सुर्धन्छस् कि भनेर अलिअलि जग्गा जमिन पनि बैकमा राखेर पठायौ तर यस्तो हालत बनाएर बसिस् भन्नुभयो। फेरिपनि विरामी छोरा सुनिमात्रै रह्यो।

छोरासँग बोलिसकेपछि आमाबुबाले हामीसँग भन्नुभयो त्यसलाई जसरी नि त्यही राख्नु यता नपठाउनु। कमाउन र पढ्न गएको छोरा बौलाएर आयो भनेर समाजमा इज्जत हुँदैन रे। मलाई त्यो कुरा पटक्कै चित्त बुझेको थिएन। र फेरि अहिले  त्यस्तै चित्त नबुझ्ने एउटा केससँग म डिल गर्दैछु।

एकजना अभिभावकको छोरा रोयल मेल्वर्न हस्पिटलमा गाँजाको डोज बढी भएर मेन्टल वयलनेस डिपार्टमेन्टमा छ। डाक्टरले उसलाई एकदमै निगरानीमा राख्नुपर्ने देखिन्छ भनिरहेको छ। सकेसम्म नेपाल फर्कियो भनेपनि केही महिना सुधारकेन्द्रमा राख्दा उपयुक्त हुन्छ पनि भनिसकेको छ। फेरि पनि उ ड्रग्स र गाँजा नखाला बन्न सकिदैन त्यसैले हामीले नेपालमा उसको परिवारलाई राम्ररी रेखदेख गर्नुपर्छ भनेर बारम्बार भनेका छौ।

छोराको स्वाथ्य स्थिती देखेर नै परिवारले उनलाई नेपाल झिकाउने तयारी पनि गरिरहेको छ। एकदिन उहाँहरुसँग कुरा गर्ने सिलसिलामा छोराले नेपालदेखिनै गाँजा खानेकुरा स्वीकारेको भने। तर बुबाआमाले यो कुरा मान्न नै तयार हुनुभएन। प्रेम यतिधेरै अन्धो पनि बन्नुहुँदैन कि आफ्नो अगाडिको मान्छेको हरेक गल्तीहरुलाई माया गरोस्। उहाँहरुको पनि एक्लो छोराप्रति त्यही मोह भयो।

आर्थिक स्थितीले गर्दा छोरालाई विदेशमा नै राख्नु पर्ने उहाँहरुले आफ्नै बाध्यता सुनाउनु पनि भयो। यो भन्दा बढी अरु पनि उहाँहरुको धेरै निजि कारणहरु होला जुन मेरो सोच भन्दा बाहिर छ। तर छोराको मानसिक स्वाथ्य स्थिती भन्दा पनि बढी महत्व उहाँहरुले आर्थिक र सामाजिक पक्षलाई दिनुभएकोमा अचम्म लाग्यो। उहाँहरुले छोराको स्वाथ्य सँगसँगै नेपाल आएपछि फेरि उ विदेशै फर्कन नपाउने हो कि भनेर बारम्बार चिन्ता देखाउनु भयो जुन पटक्कै चित्त बुझेन।

त्यतीको जवान केटाले मेहेनत गर्र्यो भने त नेपालमा पनि त काम गरेर खान सक्छ। यहाँ जतिको काम गर्ने हो भने त उहाँहरुको आर्थिक पक्ष बलियो हुन धेरै वर्ष नै लाग्दैन। आजकाल विदेशको जति पढाइ त नेपालमा पनि हुन थालेको छ। मलाई लाग्छ उहाँजस्तै धेरै अभिभावकहरुले पैसा कमाउन र पढ्न विदेशै जानुपर्छ र जर्वजस्ती भएपनि घर परीवार र समाजको इज्जतको लागि त्यही बस्नुपर्छ भन्नु गलत हो। विदेशनै सर्वस्व देख्न थालेभने कति छोराछोरी टाढिन्छन् र कति छोराछोरीहरु मृत्युको मुखसम्म पनि पुग्छन्।

त्यसैले मेरो बुझाइमा यो समयमा उहाँहरुको लागि छोराको स्वास्थ्य सबैभन्दा प्राथमिता हुनुपर्दछ विदेशको पुनआगमन भन्दा। यदि छोराले फेरि यता आउने इच्छा गरेन र यता पठाउन उपयुक्त देखिएन भने उसलाई नपठाउनै उत्तम निर्णय हुनेछ। हिजो नेपालमा नै रहँदा छोराको व्यवहार थाहा नपाउँदा र आज आएर एक्कासि यस्तो वज्रपात पर्र्दा उहाँहरु अहिलेसम्म राम्ररी निदाउन सक्नुभएको छैन र फेरिपनि यो १९ वर्षीय छोरालाई सही बाटोमा ल्याउनुभन्दा विदेशैको मोह र संसार देखाएर पठाउँदा उ पुन कुलतमा लाग्दैन भन्ने पनि केही ग्यारेण्टी छैन।

मैले उहाँ जस्तै अन्य कति अभिभावकहरु पनि देखेको छु जो ग्यारेन्टी गरेर पनि भन्नुहुन्छ–मेरो छोराछोरीले नेपालमा एउटा सुपारीको दाना पनि खाँदैन्थ्यो तर सबै विदेश गएर सिक्यो। अनि उसको साथीसंगतलाई पनि दोष दिनुहुन्छ। हुन सक्छ कतिजनाले क्यासिनो जान र जाँड रक्सी चुरोट गााँजा खान यही सिकेका छन्। उनीहरुको साथीसँगत पनि गतिलो छैन। तर अधिकाँश हस्पिटल भर्ना भएको व्यक्तिहरुले चुरोट रक्सि र गाँजाको स्वाद नेपालदेखि नै लिएर आएको देखिन्छ। यतिमात्रै हो कतिले थोरै स्वाद लिएर यता धेरै बढाएका छन् भने कतिले चाँहिदो लिएर आएक छन् तर यता अझ मात्रा बढाएका छन्।

यस्ता कुराहरु पनि अभिभावकले बुझ्नुपर्ने हुन्छ। उमेर हुँदै गर्दा छोराछोरीले डर, त्रासले धेरैकुराहरु लुकाएर गर्र्नेे गर्दछन्। उनीहरुमा शारीरिक, भावनात्मक र मानसिक रुपमा धेरै परिवर्तन आउने कारणले पनि किशोरअवस्था एकदमै चुनौतिपूर्ण उमेर हुन पुग्दछ। यदि यो उमेरलाई राम्ररी अवतरण गर्ने र अभिभावकहरुले गराउन मद्दत गर्ने हो भने आधि व्यक्ति कुलत, जुवाँतास र हिँसाबाट टाढा रहन्छन्। यस्तो अवस्थामा उनीहरुलाई सकेसम्म आफ्नो निग्रानीमा राखेर सही बाटो देखाउनु पर्दछ न कि विदेश धपाउने मात्रै।  फेरिपनि भन्छु छोराछोरी तह लगाउने सुधारकेन्द्र होइन विहे र विदेश। –सेताेपाटीबाट



Leave a comment

Your email address will not be published.


*