काँग्रेसलाई सबैले स्वीकार्ने पार्टी बनाउँछु : महत

काँग्रेसलाई सबैले स्वीकार्ने पार्टी बनाउँछु : महत

दैलेख : राजनीतिक दलको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गरिनुपर्छ भन्ने बहस विगतदेखि नै चलिरहेको छ। हाल सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको चटारोमा छ । महाधिवेशनका लागि वडा तहमा भइरहेको अधिवेशनमा वडाको नेतृत्व युवाहरुले लिन थालेका छन् ।

दैलेखको दुल्लु नगरपालिका ३ नेपाकी स्वस्तिका महत उमेरले १९ वर्षमा लागिन् । उनी हालै नेपाली कांग्रेसको वडा अधिवेशनबाट सभापति बनेकी छिन् । स्वस्तिका कांग्रेस दैलेखका नेता भुपेन्द्रजंग महतको छोरी हुन् । नेपाली कांग्रेस दैलेखको उप-सभापति समेत रहेका भुपेन्द्रजंग महतको दुई वर्षअघि निधन भएको थियो ।

बुवाको निधनपछि छोरी स्वस्तिका राजनीतिमा होमिएकी हुन् । नेपाली कांग्रेसको कान्छी दुल्लु नगरपालिका–३ को वडा सभापति स्वस्तिका महतसँग पत्रकार हिक्मतबहादुर नेपालीले गरेको कुराकानी।

वडा सभापति बन्नु भयो कस्तो महसुस भइरहेको छ ? 
सर्वप्रथमत: तपाईलाई धन्यवाद । म खुसी पनि छु । दुःखी पछि छु । खुसी यस कारण छुकी, मलाई वडा सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ । दुःखी चाँही वडास्थित नेपाली कांग्रेसमा आस्थावान हुनुभएका नेता तथा कार्यकर्ताले म माथि विश्वास गरेर दिनुभएको जिम्मेवारी पुरा गर्न सक्छु की सक्दिन होला भन्ने लागेको छ । समग्रमा खुसी छु । सबैले विश्वास गर्नुभएको छ, उहाँहरुको विश्वासलाई टुट्न नदिन भरपुर कोसिस गर्नेछु ।

अब कसरी अगाडि बढ्नुहुन्छ ? 
पार्टीले ममाथि गरेको विश्वासलाई पुरा गर्नका लागि मैले आँट र साहसका साथ अगाडि बढ्छु । पाटीका नेता तथा कार्यकर्ताहरुले मलाई विश्वास गर्नुभएको आशालाई निराश बनाउँदिन् ।

अरुको दबावमा वडा सभापति बन्नु भएको हो कि?
होइन, म अरुको दबाव र प्रभावमा परेर नेपाली कांग्रेस पार्टीको वडा सभापति बनेको होइन् । मेरो आफ्नो बाबाको सपना पूरा गर्नुपर्छ भन्ने सोचका साथ राजनीतिमा होमिएका हुँ । त्यसैले बुवाको सपना पुरा, देशको विकास गर्न र जनताको सेवक बन्नका लागि मैले राजनीतिको बाटो रोजेको हुँ ।

राजनीतिप्रति चासो कसरी आयो ?
मेरो बुवा नेपाली कांग्रेसको नेता हुनुहुन्थ्यो । उहाँ नेपाली कांग्रेस दैलेखको उपसभापति हुनुहुन्थ्यो । उहाँको निधनपछि बुवाले देख्नुभएको सपना पूरा गर्नुपर्छ भन्ने लागेको थियो । म अहिले सुरुवात मै छु ।  छोटो समयमा राजनीतिका सामान्य जानकारी लिन पाएँ । हुन त राजनीतिका कुराहरु धेरै सिक्नुछ तर मेरो बुवाले देख्नुभएको सपना पूरा गरेरै छोड्छु । सिक्दै अगाडि बढ्छु ।

नेपाली कांग्रेस कस्तो पार्टी होस् भन्ने चाहनुहुन्छ ?
मलाई चाँही नेपाली कांग्रेस देश विकासका लागि अग्रणी पार्टी होस् भन्ने चाहान्छु । र त्यो हामीले नै बनाउनुपर्छ । त्यसका लागि पार्टीका नेता तथा कार्यकर्ताको क्रियाशिलता, लगनशिलता, अनुशासनको जरुरी छ ।  देशको विकासमा सबैले स्वीकार गर्ने पार्टी नेपाली कांग्रेस बन्नुपर्छ भन्ने हो । म वडा तहबाट मैले नेपाली कांग्रेसलाई सबैको मनमा बस्न सक्ने पार्टी बनाउने खटिइरहनेछु ।

यति सानो उमेरमा पार्टीलाई अगाडि बढाउन सक्नुहुन्छ त ? 
तत्कालिन द्वन्दवको बेलामा १६ देखि १८ वर्षसम्मका महिलाले पनि बन्दुक बोकेर हिँडेर युद्ध गर्न सके भने म त १९ वर्षको भइसकेको छु । मैले केहि पनि गर्न सक्नदन भन्ने होइन् । म पार्टीलाई अगाडि बढाउन र मेरो आफ्नो जिम्मेवारी पूरा गर्न सक्छु भन्ने लाग्छ । महिलाको कुरा गर्दा नेपालको राष्ट्रपति पनि विद्यादेवी भण्डारी महिला नै हुनुहुन्छ । उहाँले देशको नेतृत्व गर्नुभएको छ । मैले पार्टीको वडा नेतृत्व लिएको छु । त्यसैले महिलाले केहि गर्न सक्दैनन् भन्ने होइन, जिम्मेवारी पाए महिलाले देशको नेतृत्व गर्नेदेखि राजनीतिक दलको नेतृत्व लिएर अगाडि बढ्न सक्छन् ।

अन्त्यमा के भन्नुहुन्छ ?
म सबैलाई धेरै-धेरै धन्यवाद दिन चाहान्छु । मलाई सबैले हौसला दिनुभएको छ । वडा सभापति बनाउन मलाई सहयोग गर्नुहुने नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरुलाई हृदयदेखिनै धन्यवाद ।

प्रतिक्रिया