द्वन्द्वपीडित परिचय पत्र देखाएर सिंहदरबार छिर्न पाइने

द्वन्द्वपीडित परिचय पत्र देखाएर सिंहदरबार छिर्न पाइने

काठमाडौं : द्वन्द्वपीडितहरूले परिचय पत्रकै आधारमा सिंहदरबार प्रवेश गर्न पाउने भएका छन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट लिएको परिचय पत्र देखाएर अब द्वन्द्वपीडितलाई सिंहदरबारमा प्रवेश गर्न दिने भएको हो।

गृहमन्त्री बालकृष्ण खाण र आयोगका पदाधिकारीबीच भएको छलफलमा आयोगले जारी गरेको परिचय पत्र वाहकलाई सिंहदरबारमा प्रवेश दिने सहमति आइतबार भएको छ। आयोगका अध्यक्ष युवराज सुवेदी, सदस्यहरू विश्वप्रकाश भण्डारी, गंगाधर अधिकारी, सुनिलरंजन सिंह र सरिता थापा तथा सचिव श्यामकुमार भट्टराई आयोगबाट अहिलेसम्म गरेका कामलगायतबारे छलफल गर्न गृह मन्त्रालय पुगेका थिए।

छलफलमा गृह मन्त्रालयका तर्फबाट गृहमन्त्री खाण, सचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सहभागी थिए।आयोगका पदाधिकारीले तत्कालका लागि आयोगले परिचय पत्र प्रदान गरेका द्वन्द्वपीडितलाई त्यही पास देखाएर सिंहदबार छिर्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए।

आयोगको परिचय पत्र भएकाहरूलाई  सिंहदरबारमा प्रवेश गर्न दिने व्यवस्था मिलाउन गृहमन्त्री खाणले निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिए। उनले त्यस विषयमा परिपत्र गरिने बताए।

गृहमन्त्री खाणसहित मन्त्रालयका पदाधिकारी र आयोगका पदाधिकारीबीच पीडित परिवारलाई राहत उपलब्ध गराउने, आयोगले परिचय पत्र दिएका व्यक्तिले पाउने सेवा सुविधा, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ मा संशोधनलगायत विषयमा छलफल भएको छ।

आयोगले अहिलेसम्म ७४४ परिवारका एक हजार तीन सय ७८ जनालाई परिचय पत्र प्रदान गरेको छ। आयोगमा अहिलेसम्म तीन हजार दुई सय ४३ ले आफ्नो परिवारका सदस्य बेपत्ता भएको भन्दै उजुरी दिएका छन्।

प्रतिक्रिया