अधिवेशनले जुझारु नेतृत्व छानोस्

अधिवेशनले जुझारु नेतृत्व छानोस्

नेकपा (एमाले) दैलेखको सातौँ अधिवेशन दैलेख सदरमुकाममा जारी छ । जिल्ला सदरमुकामस्थित कबर्ड हलमा अधिवेशन उद्घाटन गरिएको छ । एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माको अध्यक्षतामा भएको अधिवेशनलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । एमालेको केन्द्रीय कार्यालयको एक्सन रूमबाट अध्यक्ष ओलीले दैैलेखसहित भूगोलका ६१ जिल्ला र दुई विशेष जिल्लाका अधिवेशनहरू उद्घाटन तथा विशेष सम्बोधन गरेका थिए । जिल्ला अधिवेशनको मुख्य एजेन्डा नयाँ नेतृत्व चयन गर्ने हो । नयाँ नेतृत्व चयन गर्दा जिल्लाको समग्र विकाससँगै पार्टीलाई मजबुत बनाउने, विचारको नेतृत्व गर्नसक्ने जुझारु नेतृत्व आउनुपर्ने अधिवेशनमा सहभागि अधिकाँश प्रतिनीधिहरुको सुझाव छ । दैलेख सदरमुकाममा जारी अधिवेशनमा सहभागि केही प्रतिनिधिसँग गरिएको कुराकानी :

-नेकपा एमाले देशकै पहिलो पाटी हो । यो अधिवेशन सिंगो एमालेको मात्रै होइन, समग्र जिल्लाको भाग्य र भाविष्य निर्धारण गर्नेगरी जिल्लाबासीले हेरेको अधिवेशन हो । यो अधिवेशनले समग्र जिल्लाको विकास गर्ने जुझारु र शसक्त युवा नेतृत्व छान्नुपर्छ । अहिले पार्टीका विभिन्न जनवर्गिय संगठनहरु निस्कृय छन्, ती संगठनहरुलाई सक्रिय बनाउने नेतृत्व अहिलेको आवश्यकता हो ।
-जीतेन्द्र थापा, अधिवेशन प्रतिनीधि ।

नेकपा एमाले दैलेखको यो सातौँ अधिवेशनबाट आम जनता र पार्टीका कार्यकर्ताहरुलाई विचारमा खार्न सक्ने नेतृत्व छान्नुपर्छ । निकट भविष्यमा हुन गईरहेका स्थानीय तह, प्रदेश र प्रतिनीधि सभा निर्वाचनमा पार्टीलाई बिजयी गराउनसक्ने हिम्मत र योजना लिएको व्यक्तिहरु नेतृत्वमा आउनुपर्छ ।
-शेरबहादुर भारती, प्रतिनीधि ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचन, त्यसपछि भएका प्रदेश सभा र प्रतिनीधि सभा निर्वाचनमा नेकपा एमालेले दैलेखका अधिकाँश स्थानीय तह तथा प्रदेश सभा र प्रतिनीधि निर्वाचन क्षेत्रमा जीत हासिल गरेको छ । अहिलेको यो अधिवेशनले पनि पार्टीलाई थप सुधार गरेर बलियो बनाउने योजना बोकेको जुझारु व्यक्तिहरुले पार्टीको नेतृत्व गर्नुपर्छ । आम कार्यकर्ताहरुको धारणा पनि यहि हो ।

-गिता चन्द, प्रतिनीधि ।

जिल्लाको विकासमा ख्याल गर्ने, पार्टीलाई मजबुत बनाउने, पदको पछाडी नलागेर आम जनताको जीवनस्तर उकास्नका लागि खट्ने व्यक्ति एमाले दैलेखको नेतृत्वमा आउनुपर्छ । जिल्लामा सुशासन कायम गर्नेदेखि भ्रष्टाचारमा लिप्त नभएको व्यक्ति नै एमाले दैलेखको अधिवेशनबाट नेतृत्व छानिनुपर्छ ।

-कोकिला शर्मा, प्रतिनीधि ।

दलित, महिला, बालबालिका गरिब र दिनदुखीका समस्यालाई बुझेर काम गर्ने व्यक्ति हामीलाई चाहिएको हो । जातीय विभेद अन्त्य गर्ने योजना लिएर त्यसलाई प्राथमिकता दिएर काम गर्न सक्ने, सभ्य समाज निर्माणका लागि आवश्यक योजना लिएको व्यक्ति एमाले दैलेखको नेतृत्व लिनुपर्छ । जिल्लाको विकास गर्ने व्यक्ति दैलेखबासीलाई चाहिएको हो ।

-दिपबहादुर विक, प्रतिनीधि 

एमाले दैलेखका यो सातौँ अधिवेशनले सक्षम र जुझारु व्यक्तिलाई नेतृत्वमा छान्नुपर्छ । राजनीतिको र थाहा नभएको व्यक्तिलाई नेतृत्व दिने हो भने पार्टी ध्वस्त हुनसक्छ । त्यसैले युवा त्यसमा पनि राजनीति बुझेको, जिल्लाको विकासमा ध्यान दिने जुझारु र सक्षम व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पीनुपर्छ ।

-रेखा थापा, प्रतिनीधि ।

एमालेको अधिवेशनका लागि हामी गाउँ गाउँबाट आएका छौ । हामी दलित महिलाहरु हरेक हिसावले पछाडी परेका छौ । दलित, महिला, गरिब जनताको जीवनस्तर उकास्नका लागि ठोस योजना लिएको व्यक्ति एमालेको नेतृत्वमा आउनुपर्छ । साथै पार्टीलाई बलियो बनाएर आगामी निर्वाचनहरुमा विजयी बनाउने योजना बोकेको व्यक्तिलाई एमाले दैलेखको अध्यक्ष छान्नुपर्छ ।

-जौधरा कामी, प्रतिनीधि

अहिलेको अवस्थामा समग्र जिल्लाको विकास गर्ने व्यक्ति नै जिल्लाबासीलाई चाहिएको हो । गरिब र विपन्न नागरिकहरुको जीवनस्तर उकास्ने योजना बोकेको, भ्रष्टाचार नगर्ने, पार्टीलाई बलियो बनाउने व्यक्ति नै नेतृत्वमा आउनुपर्छ । साथै आउँदो निर्वाचनहरुमा एमालेलाई विजयी गराउन सक्ने नेतृत्व हामीलाई चाहिएको हो । सोहि अनुसारको व्यक्तिहरु एमाले दैलेखको अध्यक्ष देखि अन्य पदहरुमा आउनुपर्छ ।

-चन्द्राकुमारी खत्री, प्रतिनीधि ।

प्रतिक्रिया