टी-२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत

टी-२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत

काठमाडौँ : ओमानमा भएको टी–२० विश्वकप छनोटमा नेपालले ओमानलाई ३९ रनले हराउँदै विजयी सुरुआत गरेको छ । मस्टकस्थित अल अमरेतमा शुक्रबार भएको खेलमा नेपालको १ सय १८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा अल आउट हुँदै ७८ रन मात्रै बनाउन सफल भयो ।

नेपालका लागि कमलसिंह ऐरीले ३ विकेट लिए । त्यसैगरी सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरीले २/२ तथा जितेन्द्र मुखिया,आविनाश बोहोराले एक/एक विकेट लिएका थिए ।

ओमानका लागि नसिम खुशीले सबैभन्दा धेरै २४ रन बनाएका थिए । खुशीलाई लामिछानेले आउट गरेका थिए । बोल्ड हुनुअघि उनले २ छक्का र एक चौका प्रहार गरेका थिए ।

नपालले ओमानविरुद्ध टस हारेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनाउन सकेको थियो । नेपालको तर्फबाट मध्यक्रममा ब्याटिङ गर्न आएका आरिफ सेखले ३७ बलमा ३८ रन बनाएपछि ओमानविरुद्ध नेपाल ११८ रनको लक्ष्य प्रस्तुत गर्न सफल भएका थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले १५, लामिछाने र लोकेश बमले १६/१६ रन बनाएका थिए ।

सेखको विकेटसँगै नेपालको ब्याटिङक्रम ओमानको बलर सामु निरिह हुँदै पेभिलियन फर्किने क्रम सुरु भएको थियो । त्यसपछि नेपालका कुशल भुर्तेल केवल ५ रन बनाउँदै बिलालकै बलमा आउट भएका थिए ।

ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीको जोडीले केहीबेर क्रिजमा टिक्दै नेपालको स्कोरलाई गति दिने छाँटकाँट देखाए पनि त्यो आशा धेरै समय रहन सकेन । ज्ञानेन्द्र १५ रनको व्यक्तिगत स्कोरमा फयाज बटको बलमा बोल्ड भएर मैदान बाहिर फर्किए । त्यसको केही समयमा नै ऐरी पनि जिसहान मक्सुदको बलमा स्टम्पिङ भएर ११ रनको व्यक्तिगत स्कोरमा पेभिलियन फर्किएका थिए ।

नेपालको ओपनिङ लाइन ध्वस्त भएपछि इनिङ सम्हाल्ने जिम्मा मध्यक्रममा ब्याट्स्म्यान आरिफ सेख र लोकेश बमको काँधमा आइपरेको थियो । आरिफ र लोकेशले नेपालको स्कोरबोर्डमा रन जोड्नका लागि महत्त्वपूर्ण योगदान दिए । उनीहरूको साझेदारी धेरैबेर रहन सकेको भए नेपालले सम्मानजनक स्कोर बनाउन सफल रहन्थ्यो । तर, लोकेश १६ रनको व्यक्तिगत स्कोरमा खवार अलीको बलमा क्याच आउट हुन पुगे ।

आरिफले भने व्यक्तिगत रुपमा सम्हालिएर खेल्दै स्कोरबोर्डमा राम्रो योगदान दिइरहे । तर, उनलाई पुछारमा ब्याटिङ गर्न आएका कप्तान सन्दीप लामिछाने बाहेक कसैले राम्रो साथ दिन सकेनन् ।

सातौं नम्बरमा ब्याटिङ गर्न आएका विवेक यादव केवल ७ रनमा आउट भए भने कमलसिंह ऐरी १ रन मात्रै बनाएर पेभिलियन फर्किएका थिए । त्यसपछि आएका सन्दीपले भने आरिफसँग ३० रनको साझेदारी गरेका थिए । आरिफ इनिङको अन्तिम बलमा ३८ रनको व्यक्तिगत स्कोरमा रनआउट भए भने सन्दीपले ७ बलमा १६ रन बनाउँदै नटआउट रहे ।

ओमानका लागि खवार अलीले ३० रन दिएर ३ विकेट लिए भने बिलाल खानले २५ रन खर्चेर २ महत्त्वपूर्ण २ विकेट लिएका थिए । फयाज बट र जिसहान मक्सुदले भने १/१ विकेट लिए ।

प्रतिक्रिया